काठमाडौं। सुनको कारोबार मूल्य मंगलबार प्रति तोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको पहिलो दिनका तुलनामा ४ हजार ६ सय रुपैयाँले बढेर सोमबार सुन प्रति तोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबारका तुलनामा आइतबार २ हजार १ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। साताको दोस्रो दिनदेखि मूल्य पुनः उकालो लागेको हो।
चाँदीको मूल्य पनि बढेर प्रति तोला ४ हजार ८ सय ८० रुपैयाँ भएको छ। सोमबारको भन्दा चाँदी तोलामा १ सय ९५ रुपैयाँ बढेको छ। सोमबार प्रति तोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस ४४६७.७४ डलर र चाँदी प्रतिऔंस ७८.७६ डलरमा कारोबार भइरहेको छ।
अमेरिकाले सैन्य कार्बाही गर्दै भेनेजुएलाका राष्ट्रपतिलाई निकोलस मादुरोलाई न्युयोर्क लगेसँगै बढेको भूराजनीतिक तनावको असर अन्तराष्ट्रिय बजारमूल्यमा परेको छ। सेयरका तुलनामा धातुका भाउ बढेका छन्।
लगानीकर्ताहरू जोखिमपूर्ण स्टक छाडेर सुरक्षित मानिने धातुतिर आकर्षित भएका छन्। भेनेजुएला दक्षिण अमेरिकाकै ठूलो सुन भण्डार भएको देश हुनाले त्यहाँको अस्थिरताले विश्वव्यापी आपूर्ति प्रणालीमा अनिश्चितता थपेको छ।