BIZMANDU
www.bizmandu.com

पोखराको सबैभन्दा महँगो होटल कुन? कति पर्छ एउटा कोठाको मूल्य?

२०८२ पुष २२

पोखराको सबैभन्दा महँगो होटल कुन? कति पर्छ एउटा कोठाको मूल्य?
पोखराको सबैभन्दा महँगो होटल कुन? कति पर्छ एउटा कोठाको मूल्य?


काठमाडौं। पोखराको होटल उद्योग अहिले केवल पर्यटक बस्ने ठाउँमा सीमित छैन, यो सहर मुलुकको पर्यटन व्यवसायमा आधारित अर्थतन्त्र चलाउने इन्जिन बन्दै गएको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन संरचना नै रूपान्तरणको चरणमा पुगेको छ। लगानी, सेवा स्तर र मूल्य संरचनासम्म सबै क्षेत्रमा स्पष्ट परिवर्तन देखिन थालेको छ।

Vigo
GBIME
Tata

अहिले पोखरामा होटल तथा रिसोर्टहरू केवल सिजन कुर्ने अवस्थामा छैनन्। बाह्रैमास चलायमान पर्यटनले व्यवसायीलाई नयाँ रणनीति अपनाउन बाध्य बनाएको छ। आन्तरिक पर्यटकको बढ्दो उपस्थिति, छोटो बिदा संस्कृति र सामाजिक सञ्जालमार्फत प्रचारले होटल व्यवसायलाई नयाँ ग्राहक वर्गसम्म पुर्‍याएको छ। व्यवसायीहरूका अनुसार सन् २०२५ मा होटल उद्योग अघिल्ला वर्षको तुलनामा स्पष्ट रूपमा नाफामा गएको छ।

पर्यटकीय सिजनकै बीचमा भएको ‘जेनजी आन्दोलन’ले सुरुमा बजारमा त्रास पैदा गरे पनि त्यसको प्रभाव दीर्घकालीन बन्न सकेन। आन्दोलनपछि केही समय होटल बुकिङ घटे पनि आन्तरिक पर्यटकको चापले बजार पुनः सक्रिय बनायो। अहिले अकुपेन्सी दर अघिल्लो वर्षभन्दा बढेको व्यवसायीहरूको दाबी छ।

हालसम्म गण्डकी प्रदेशमा २ वटा पाँचतारे, ७ वटा चारतारे होटल तथा रिसोर्ट सञ्चालनमा छन्। तीन, दुई, एकतारे र ताराविहीन पोखरा र आसपासमा पर्यटक स्तरका १ हजार २ सय होटल तथा रिसोर्ट छन्। सबैमा गरेर बेड संख्या ४० हजार छ भने ३५० भन्दा बढी होमस्टे र ३०० भन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन्।

यी संख्यामा सबैभन्दा महँगो कोठा बेच्ने होटल पोखरा ग्राण्डी छ। यो होटलमा एउटा कोठाको मूल्य एउटा ६० हजार रुपैयाँसम्म पर्छ। यो जस्तै अन्य लक्जरी होटल छन् जसले पोखरामा एउटा कोठाको ९ हजार मूल्यदेखि ६० हजार मूल्यसम्म बेचिरहेका छन्।

पोखरा ग्राण्डी

पोखराको एकमात्र पाँचतारे होटल ग्रान्डी लेकसाइड क्षेत्र नजिक अवस्थित एक प्रमुख लक्जरी होटल हो। आधुनिक डिजाइन, उच्चस्तरीय सेवा र प्राकृतिक दृश्यको संयोजनले यो धेरै खर्च क्षमताका आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा छ। होटलमा सुविधासम्पन्न कोठा, स्वीमिङ पुल, स्पा, फिटनेस सेन्टर, सम्मेलन तथा भोज हल, र बहु–परिकार रेस्टुरेन्ट उपलब्ध छन्।

अन्नपूर्ण हिमशृंखला र फेवातालको दृश्य देखिने लोकेसन यसको विशेष आकर्षण हो। पर्यटन सम्मेलन, विवाह तथा विशेष कार्यक्रमका लागि पनि पोखरा ग्रान्डी होटल लोकप्रिय मानिन्छ।

होटलका जनरल म्यानेजर पञ्च लामाको अनुभवमा २०२५ को वर्ष अकुपेन्सीका हिसाबले ग्रान्डीलाई खासै राम्रो रहेन। ‘अघिल्लो वर्ष राम्रो अकुपेन्सी थियो। यो वर्ष आन्दोलन, बाढी पहिरोका कारण अकुपेन्सी बढ्न सकेन। पर्यटक बढे पनि अकुपेन्सी बढ्न नसकेको हो,’ उनले भने।

४५ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा १४० वटा कोठा छन् भने ५ वटा हल छन्। जसमा ९८ डिलक्स, २ डिलक्स सुइट, ३८ प्रिमियम र २ प्रिमियम सुइट कोठा छन्। यसको मूल्य १० हजार देखि ६० हजारसम्म रहेको लामाले बताए। यसमा अकुपेन्सी हेरेर छुटको व्यवस्थासमेत गरिएको छ।

माउन्टेन कैलाश रिसोर्ट

पोखराको माउन्टेन कैलाश रिसोर्ट शान्त वातावरण र प्राकृतिक सौन्दर्यको संयोजनसहित लेकसाइडमा सञ्चालित आकर्षक रिसोर्ट हो। फेवाताल र आसपासका पहाडी दृश्य नजिक रहेको यो रिसोर्टले विश्राम र आराम खोज्ने पर्यटकलाई आकर्षित गर्छ। यहाँ सुविधासम्पन्न कोठा, रेस्टुरेन्ट, खुला बगैंचा, कार्यक्रम हल तथा पारिवारिक बसाइका लागि आवश्यक सेवा उपलब्ध छन्।

आन्तरिक तथा विदेशी पर्यटक दुवैको रोजाइमा पर्ने यो रिसोर्ट शान्त वातावरणमा बस्दै पोखराको पर्यटन अनुभव लिन चाहनेका लागि उपयुक्त गन्तव्यका रूपमा चिनिन्छ। माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराई २०२५ को वर्ष पर्यटक बुकिङ गरे जति नआएको बताउँछन्।

‘२०२५ मा बुकिङ ९० प्रतिशत थियो। तर विभिन्न आवरोधहरुले गर्दा ७० प्रतिशतमा मात्र भयो,’ उनले भने, ‘जुन जुलाईमा पर्यटक आएनन्। सेप्टेम्बर जेनजी र बर्खाले खायो। नोभेम्बर र अक्टुबरमा ६० प्रतिशत मात्र भए। त्यसैले यो वर्ष अकुपेन्सी राम्रो रहेन।’

२०१९ कै हाराहारीमा पर्यटक भित्रिएको भए पनि होटल तथा रिसोर्ट बढ्दै जाँदा होटलमा अकुपेन्सी पनि घट्दै गएको उनले बताए।

९ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा २ अर्ब भन्दा बढी लगानी गरिएको छ।  रिसोर्टमा क्यासिनो, स्पा/ वेलनेस, फिटनेस सेन्टर, स्विमिङपुल र २ वटा मिटिङ हल जस्ता सुविधा छन्। रिसोर्टमा ८० वटा कोठा छन्। जसमा डिलक्स, प्रिमियम डिलक्स, हनिमुन सुइट, प्रेसिडेन्टल सुइट कोठा गरी चारवटा क्याटगरी रहेको छ। यसको मूल्य क्रमश: १० हजारदेखि ५० हजारसम्म रहेको जानाकारी भट्टराईले दिए। 

बरपीपल रिसोर्ट

पोखराको बरपिपल रिसोर्ट शान्त र प्राकृतिक वातावरणमा अवस्थित एक आकर्षक पर्यटकीय रिसोर्ट हो। हरियाली, खुला बगैंचा र पहाडी दृश्यले सजिएको यो रिसोर्ट आरामदायी बसाइ खोज्ने पर्यटकका लागि उपयुक्त मानिन्छ। यहाँ सुविधासम्पन्न कोठा, रेस्टुरेन्ट, स्विमिङ पुल, कार्यक्रम तथा बैठक हलजस्ता सेवा उपलब्ध छन्।

पारिवारिक भ्रमण, समूहगत बसाइ तथा विशेष कार्यक्रमका लागि समेत रिसोर्ट लोकप्रिय छ। आन्तरिक पर्यटकसँगै विदेशी पाहुनाको पनि राम्रो उपस्थिति रहने बरपिपल रिसोर्ट पोखरामा शान्त वातावरणमा विश्राम गर्न चाहनेका लागि मनपर्ने गन्तव्यका रूपमा परिचित छ।

रिसोर्टका जनरल म्यानेजर श्याम गुरुङले पहिलाको तुलनामा २०२५ को वर्ष राम्रो अकुपेन्सी रहे पनि जेनजी आन्दोलनले रिसोर्ट तोडफोड हुँदा घाटामा गएको बताए। ‘अकुपेन्सी अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढ्यो। तर रेभिन्यु ४ करोडले घट्न पुग्यो,’ उनले भने, ‘जनेजी आन्दोलन नभएको भए रेभिन्यु पनि बढ्ने  थियो।’

अघिल्लो वर्ष ५५ प्रतिशत अकुपेन्सी रहेकोमा यो वर्ष ७५ प्रतिशत पुगेको उनले बताए। १० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रेसिडेन्टल सुइट-१, जुनियर सइट-३, सुपर डिलक्स-९ र डिलक्स ३३ वटा गरी ४५ कोठा छ। जसको मूल्य १४ हजार देखि ३६ हजारसम्म छ। यो मूल्य होटलको अकुपेन्सीको अवस्था अनुसार घटबढ हुने उनको भनाइ छ।

रिसोर्टले ग्राहकलाई पिक एन्ड ड्रप, स्पा, फिटनेस सेन्टर, बार र इभेन्ट हलजस्ता सुविधा उपलब्ध गराएको छ।

टेम्पल बेल बुटिक होटल एण्ड स्पा

२०२५ मा सञ्चालनमा आएको यो चारतारे होटलको व्यापार राम्रो छ। हरेक महिना अकुपेन्सी बढी रहेको सञ्चालक भीष्म पौडेलले बताए।

‘हामीले होटल भर्खरै सञ्चालनमा ल्याएका हौं। नयाँ होटल भए पनि अकुपेन्सी राम्रो छ। होटलमा रहेका पुराना काष्ठकला र मूर्तिकला र विभिन्न समुदायको हस्तकला भएकोले पर्यटक लोभिन्छन्। जसले गर्दा अकुपेन्सी राम्रो छ,’ उनले भने।

१२५ करोड लगानीमा सञ्चालन आएको होटल साढे २ रोपनी क्षेत्रफलमा फैलिएको छ। २०२५ मा होटलमा ६४ प्रतिशत अकुपेन्सी रहेका उनले बताए। होटलमा सइट-१,जुनिय सुइट-२, सुपर डिलक्स-५, डिलक्स-४७ वटा गरी ५५ वटा कोठा छ। कोठाको अफर मूल्य ७ हजार ५०० देखि ४२ हजार ५०० सम्म तोकेको उनले बताए।

 यस्तै, होटलले एयरपोर्ट पिक एण्ड ड्रप, इभेन्ट हल, स्पा, स्विमङपुल, १२० जना क्षमताको कन्फरेन्स हल, र फिटनेस सेन्टर जस्ता सुविधा दिएको छ। 

सराङकोट माउन्टेन लज, बाराही पोखरा

सराङकोट माउन्टेन लज पोखराको सराङकोट क्षेत्रमा अवस्थित छ, जहाँबाट अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे र सूर्योदय–सूर्यास्तको अनुपम दृश्य अवलोकन गर्न सकिन्छ। शान्त वातावरण, प्रकृतिसँग नजिकको बसाइ र सीमित तर उच्चस्तरीय सेवा यसको विशेषता हो। योग, ध्यान, ट्रेकिङ र प्रकृतिमा विश्राम खोज्ने पर्यटकका लागि यो लज आकर्षक गन्तव्य मानिन्छ।

होटल बाराही भने पोखराको लेकसाइडको मुटुमा अवस्थित एक प्रतिष्ठित होटल हो। लामो समयदेखि सञ्चालनमा रहेको यस होटलले आधुनिक सुविधा, फराकिलो कोठा, स्विमिङ पुल, सम्मेलन हल र रेस्टुरेन्ट सेवा प्रदान गर्दै आएको छ। आन्तरिक तथा विदेशी पर्यटक, व्यावसायिक सम्मेलन र सामाजिक कार्यक्रमका लागि होटल बाराही पोखराको भरपर्दो होटलको रूपमा चिनिन्छ।

दुवै बाराही समूहको हो। सञ्चालक विप्लव पौडेलले सोचेको भन्दा कम भए पनि पोहोरको तुलनामा २०२५ मा राम्रो अकुपेन्सी रहेको बताए। ‘वर्षभरिको हिसाब हेर्नै बाँकी नै छ। तर पोहोरको भन्दा यसपालि दुवै होटलको अकुपेन्सी राम्रो भएको छ। अझै राम्रो हुने थियो। जेनजी आन्दोलनले सोचे जस्तो अकुपेन्सी हुन दिएन्। २०२६ मा राम्रो हुन्छ भन्ने आशा छ,’ उनले भने। 

बाराही समूहको पहिलो होटल लेकसाइडको होटल बाराही हो। त्यसपछि चितवन र काठमाडौंसँगै सराङकोटको परियोजना अघि बढेको हो। सराङकोट माउन्टेन लज १२ रोपनी क्षेत्रफलमा छ। रिसोर्टमा ३० वटा कोठा छन्। जसमा २ वटा सुइट र २८ वटा डिलक्स कोठा छ। जसको मूल्य १५ हजार देखि ३२ हजारसम्म रहेको छ। लजमा स्पा,  बार, इभेन्ट हल र स्विमिङ पुल जस्ता सुविधा छ।

यस्तै, बाराही पोखरा १६ रोपनी क्षेत्रफलमा छ। होटलमा सुइट-२, जुनियर सुइट-४, सुपर डिलक्स-५६ र डिलक्स ४० वटा गरी १०६ वटा कोठा छन्। जसको मूल्य ९ हजार देखि २१ हजारसम्म छ। होटलमा स्विमिङ पुल, बार, मिटिङ हल, स्पा र पुलसाइड गार्डेन जस्ता सुविधा पाउन सकिन्छ।  

रुपाकोट रिसोर्ट

रुपाकोट रिसोर्ट पोखरादेखि केही दूरीमा रुपा र बेगनास तालनजिक अवस्थित एक शान्त र प्राकृतिक सौन्दर्यले भरिएको लक्जरी रिसोर्ट हो। हरियाली पहाड, ताल र हिमाली दृश्यले सजिएको यो रिसोर्ट प्रकृतिसँग नजिक रहेर विश्राम गर्न चाहने पर्यटकका लागि उपयुक्त मानिन्छ।

यहाँ सुविधासम्पन्न कोठा, स्पा, स्विमिङ पुल, योग तथा ध्यानका कार्यक्रम र बहु–परिकार रेस्टुरेन्ट उपलब्ध छ। आन्तरिक तथा विदेशी पर्यटक दुवैको रोजाइमा पर्ने रुपाकोट रिसोर्ट शान्त वातावरण र प्रिमियम आतिथ्य सेवाका लागि परिचित छ। रुपाकोट डाँडामा रहेको यो रिसोर्ट २०० रोपनी क्षेत्रफलमा छ।

रिसोर्टमा परम्परागत शैलीका १४ वटा भवन छन्, जसमा ४२ वटा कोठा छ। यो कोठामा एक रात बिताउँदा १० हजार देखि १४ हजारसम्म मूल्य पर्ने होटलका फ्रन्ट डेस्क म्यानेजर तीर्थराज न्यौपानेले बताए। 

‘हाम्रोमा महँगो कोठा छैन। जसले गर्दा अकुपेन्सी पनि राम्रो छ। यहाँको दृश्यले गर्दा पनि अकुपेन्सी राम्रो भइरहन्छ,’ उनले भने 

अघिल्लो वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले अकुपेन्सी बढेको उनले बताए। अघिल्लो वर्ष ४५ प्रतिशत हाराहारीमा अकुपेन्सी थियो भने यो वर्ष ७० प्रतिशत पुगेको उनले जानाकरी दिए। आफ्नै बारीको तरकारी, आफ्नै गोठको भैंसीको दूध, दही, पनिर र त्यही भैंसीको गोबरबाट निकालिएको ग्यास भान्सामा प्रयोग गरिएको शुद्ध अर्गानिक खाना नै रिसोर्टको बिशेषता रहेको उनले बताए।

रिसोर्टले यहाँ आउने पर्यटकलाई पिक एन्ड ड्रप, इन्फिनिटी स्विमिङ पुल, स्पा, वेलनेस सुविधा, हाइकिङ, साइकलिङ, बोटिङ, साइट सिन र गाउँ टुरको सुविधा दिएको छ।

रानीबन आर्केड

पोखराको रानीबन आर्केड लेकसाइड क्षेत्र नजिक अवस्थित एक आधुनिक बुटिक होटल तथा व्यावसायिक आर्केड हो। शान्त वातावरण र हरियालीबीच सञ्चालनमा रहेको यस आर्केडमा सुविधासम्पन्न कोठा, रेस्टुरेन्ट, क्याफे तथा साना व्यावसायिक सेवाहरू उपलब्ध छन्।

आन्तरिक तथा विदेशी पर्यटक दुवैको रोजाइमा पर्ने यो होटल लेकसाइडको भीडबाट टाढा तर सहज पहुँचमा शान्त बसाइ खोज्नेका लागि उपयुक्त मानिन्छ। होटलका सञ्चालक हरि भुजेलले अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार १५ प्रतिशतले बढेको बताए।

‘यो वर्ष २०२४ भन्दा एकदमै राम्रो भयो। अकुपेन्सी सोचे जस्तो हुन नसके पनि पहिलाको तुलनामा राम्रो थियो,’ उनले भने, ‘२०२५ मा खर्च गर्ने पर्यटक आएकाले व्यवसाय राम्रो भएको हो। यसअघि पर्यटक कम खर्च गर्ने आउने गर्थे। जसले गर्दा अकुपेन्सी भए पनि व्यापार राम्रो हुँदैनथ्यो।’

अघिल्लो वर्ष ५५ प्रतिशत रहेको अकुपेन्सी यो वर्ष १५ प्रतिशतले बढेर ७० प्रतिशत पुगेको उनले बताए। 

होटल साढे २ रोपनी क्षेत्रफलमा फेलिएको छ। सुपर डिलक्स -१२, जुनियर सुइट-२ र डिलक्स-४४ गरेर ६० वटा कोठा छन्। जसको मूल्य ३ हजारदेखि १५ हजारसम्म रहेको उनले बताए। होटलमा स्विमिङ पुल नयाँ बनाउने तयारी गर्दैछ। होटलमा बार, स्पा, मिटिङ हल र रुफटप गार्डेन जस्ता सुविधा छन्।