BIZMANDU
www.bizmandu.com

आपूर्ति पर्याप्त हुँदा बोरामा ५०० रुपैयाँसम्म सस्तियो चामल, कतिमा हुँदैछ कारोबार?

२०८२ पुष २१

आपूर्ति पर्याप्त हुँदा बोरामा ५०० रुपैयाँसम्म सस्तियो चामल, कतिमा हुँदैछ कारोबार?
आपूर्ति पर्याप्त हुँदा बोरामा ५०० रुपैयाँसम्म सस्तियो चामल, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। चामलको भाउ २ वर्ष यताकै सस्तो भएको छ। चालु आर्थिक वर्ष सुरु भएपछि चामलको भाउ गत वर्षको तुलनामा बोरामा ५ सय रुपैयाँसम्म सस्तिएको व्यवसायीले बताएका छन्।

Tata
GBIME
Nepal Life

भारतबाट उलेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा भाउ सस्तो भएको हो। यतिबेला स्वदेशी धान तथा चामल बजारमा आइसकेको छ। व्यवसायीसँग पर्याप्त धान चामलको स्टक छ। मिल उद्योगीले गत वर्षदेखि नै भारतबाट धान आयात गरी स्टक राखिराखेका छन्।

अघिल्लो वर्ष भारतबाट आयात कम भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा भारतले धान चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएपछि आयात कम भएर चामलको भाउ धेरै महँगो भएको थियो। त्यसमा नेपाल सरकारले धान चामलको आयातमा २.५ प्रतिशत अग्रिम कर लगाउँदा चामलको भाउ सस्तिन सकेको थिएन।

उपभोक्ताले जिरा मसिनो चामल २५ केजीको २५ सय देखि २७ सय रुपैयाँमा खरिद गर्न परेको थियो। भारतले निर्यात शुल्क हटाएपछि धान चामलको आयात बढेको थियो।

गत वर्षको पुसमा ब्राण्ड र गुणस्तरअनुसार जिरा मसिनो चामल प्रति बोरा २ हजार देखि २२ सय रुपैयाँमा आइपुगेको थियो। त्यसयता भाउ घट्दै जिरा मसिनो चामल बोराको १९०० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो।

चालु आवमा भारतबाट व्यवसायीहरूले ठूलो परिमाणमा धान चामल आयात गरेर राखेका छन्। यो आवको ५ महिनामा १५ अर्बको धान चामल भित्रिसकेको छ।

चालु आर्थिक वर्षमा भारतबाट उलेख्य मात्रामा धान चामलको आयात भएपछि भाउ धेरै घट्न थालेको व्यवसायीले बताएका छन्। तिहारपछि चामलको भाउ लगातार घट्न थालेको हो।

यो वर्ष चामलको भाउ २/३ वर्ष यताकै सस्तो भएको चितवनको दिनेश खाद्य मिलका संचालक पशुपति डल्लाकोटीले बताए। यतिबेला जिरा मसिनो चामलको भाउ २५ केजी बोराको १७५० देखि १८०० मा मिलले बिक्री गरिरहेको छ। मोटा चामलको भाउ पनि घटेको छ। मोटा धान २५ केजीको १५५० देखि १६०० रुपैयाँ छ।

‘बजारमा जिरा मसिनो चामलको माग धेरै हुने गर्छ। गुणस्तरअनुसार उपभोक्तालाई अघिल्लो वर्षभन्दा चामल सस्तो भएको छ। अब नयाँ धानको सिजन सकिदै गएकोले चामलको भाउ यो भन्दा तल जाँदैन,’ उनले भने।

त्यस्तै, बानेश्वरको सुनादेवी किराना स्टोरका संचालक समर कठायतले पनि चामलको भाउ अघिल्लो वर्षको तुलनामा धेरै सस्तो भएको बताए। नयाँ चामल आएपछि भाउ बोरामा २०० देखि ३०० रुपैयाँसम्म सस्तो भएको हो।

‘गुणस्तरअनुसार जिरा मसिनो चामल बोराको १७५० देखि देखि १९०० रुपैयाँसम्म छ। मोटा चामल बोराको १५०० देखि १६५० रुपैयाँ छ।मोटा चामल बोरामा १०० देखि २०० रुपैयाँ घटेको छ। पुरानो जिरा मसिनो २१०० देखि २२०० रुपैयाँ छ,’ उनले भने।

एक किराना व्यवसायीका अनुसार पुस मसान्त नजिकिँदै जादा बजारमा चामलको भाउ घटाएर बेच्न थालिएको हो। पछिल्लो समय बजारमा हरेक दिन नयाँ ब्राण्ड भित्रिँदै जादा भाउमा समेत प्रतिस्पर्धा हुन थालेको छ। चामल उद्योग धेरै आएपछि ब्राण्डअनुसार भाउ १०० देखि २ सय रुपैयाँसम्म फरक पर्ने उक्त व्यवसायीले जानकारी दिए।

नयाँ चामलको मूल्य घटिरहँदा बजारमा लङ ग्रेन चामलको भाउ भने बढ्न थालेको छ। भारतबाट भाउ बढेर आएको भन्दै लङ ग्रेनको भाउ बोरामा २०० रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन्। बजारमा चामलको आपूर्ति पर्याप्त भएपनि माग सामान्य रहेको व्यवसायीले बताए।

धानको सिजन सकिँदै गएकोले अब चामलको भाउ हालको भन्दा तल नजाने व्यवसायीहरूको अनुमान छ। यतिबेला भारतमै निर्यातित चामलको भाउ ३ महिनायताकै उच्च विन्दुमा पुगेको भारतीय संचार माध्यले जनाएको छ। स्थानीय धानको लागत बढेको र विश्वव्यापी रुपमा माग कमजोर भएको कारण निर्यातित चामलको भाउ महँगो हुन थालेको हो।

चामलको भाउ महँगो भएपछि व्यापारीहरूले थाइ र भियतनामबाट समेत आयात कम गरेका छन्। भारतबाट हुने चामल आयात कम हुने व्यवसायीले जानकारी दिएका छन्।