BIZMANDU
www.bizmandu.com

झापा इनर्जीको उत्पादन वृद्धि, ५ महिनामा ४ करोड ७१ लाख रुपैयाँको सौर्य ऊर्जा

२०८२ पुष २०

झापा इनर्जीको उत्पादन वृद्धि, ५ महिनामा ४ करोड ७१ लाख रुपैयाँको सौर्य ऊर्जा
झापा इनर्जीको उत्पादन वृद्धि, ५ महिनामा ४ करोड ७१ लाख रुपैयाँको सौर्य ऊर्जा


झापा। सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीको उत्पादन बढेको छ। कम्पनीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँ मूल्यको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ।

GBIME
Tata

कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवाका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो। झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना शिवसताक्षी-४ बुलुचोकमा सञ्चालनमा छ।

कम्पनीले उत्पादन गरेको बिजुली नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ। इनर्जीले २०८० माघ १० देखि व्यावसायिक उत्पादन गर्दै आएको छ। २०७८ मंसिर १२ मा प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो।

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ। परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन्। परियोजनाबाट उत्पादित सौर्य विद्युतलाई एक किलोमिटरको दूरीभित्रै रहेको प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्‍याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

झापा इनर्जीले आव २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँ बराबरको बिजुली उत्पादन गरेको थियो। आव २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँको पुगेको अध्यक्ष साँवाले बताए। रासस