BIZMANDU
www.bizmandu.com

विद्यालय तहको पाठ्यपुस्तकमा बीमासम्बन्धी विषयवस्तु राख्न प्राधिकरणले गर्‍यो छलफल

२०८२ पुष १९

विद्यालय तहको पाठ्यपुस्तकमा बीमासम्बन्धी विषयवस्तु राख्न प्राधिकरणले गर्‍यो छलफल
विद्यालय तहको पाठ्यपुस्तकमा बीमासम्बन्धी विषयवस्तु राख्न प्राधिकरणले गर्‍यो छलफल

काठमाडौं। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा समावेश गरिने बीमा शिक्षासम्बन्धी विषयवस्तुका बारेमा सरोकार भएका निकायसँग छलफल गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणको केन्द्रीय कार्यालयमा आज भएको छलफलमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि पाठ्यपुस्तकमा बीमाको आवश्यकता र महत्त्वसम्बन्धी विषयवस्तु समावेश गरी यसलाई मानवजीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको बताए।

उनले भने, ‘बीमाका बारेमा सानैदेखि जागरूक गराउनु आवश्यक छ, मानवजीवन र सम्पत्तिको वित्तीय सुरक्षण बीमाले गर्छ। बीमामार्फत जीवनलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ भन्ने जानकारी हुनु आवश्यक छ। यसले बीमाको दायरा बढाउनुका साथै लागत घट्ने, जोखिम न्यूनीकरण हुने तथा समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय तहको अध्ययनका क्रममा विद्यार्थीले बीमाका बारेमा बुझ्न सकुन् र अध्ययनपश्चात् अरूलाई पनि यसका महत्त्वका बारेमा बुझाउन सकुन् भन्ने उद्देश्यले पाठ्यपुस्तकमा यसलाई समावेश गर्नुपर्ने धारणा राखे।

त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक एवम् सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्राडा रामकृष्ण तिवारीले सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र तयारीका क्रममा बीमासम्बन्धी विषयवस्तुलाई प्रतिविम्बित गर्न सम्बन्धित पदाधिकारी, विषय विज्ञ र लेखकलाई आग्रह गरे।

विद्यालय तहमा अनिवार्य विषयका रूपमा रहेको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकको परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षासम्बन्धी विषयवस्तु समावेश गर्ने सम्बन्धमा छलफल गरी ठोस् निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ। कार्यक्रममा सामाजिक विषयअन्तर्गत कक्षा ४ देखि १२ का प्रस्तावित पाठ्यक्रममा बीमा शिक्षासम्बन्धी सम्भावित विषयवस्तुमाथि विस्तृत छलफल भएको थियो। रासस