काठमाडौं। कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टीका नेता कार्यकर्तामा बढेको असन्तुष्टि समाधानका लागि रास्वपामा समझदारी भएको छ। शुक्रबार राति पार्टी सभापति रवि लामिछाने र कुलमान घिसिङले छलफल गरेका थिए।
छलफलपछि रास्वपा, बालेन र उज्यालो पक्षबाट तीन/तीन जना सम्मिलित समिति बनाउने समझदारी भएको छ। समितिले समानुपातिक सूचीबारे उठेका असन्तुष्टि समाधानमा काम गर्ने पार्टी स्रोतले बताएको छ। समानुपातिकको बन्दसूची तयारीको चटारोबीच रास्वपाले सुरुमा बालेन र पछि उज्यालोसँग एकता सहमति गरेको थियो।
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन पुस १४ मा उज्यालो नेपालले सात बुँदे सहमति गरेर रास्वपासँग एकता गरेको थियो। असन्तुष्टि जनाउँदै रास्वपाको विकल्प खोज्नुपर्ने आवाज उठेपछि नेताहरु गम्भीर भएका हुन्।
समानुपातिक सूचीमा आफूहरुलाई पछाडि पारिएको भन्दै उज्यालो पक्षका नेता कार्यकर्ता असन्तुष्ट छन्। उनीहरुले गणतन्त्र र धर्मनिरपेक्षताबारे रास्वपाको धारणा स्पष्ट नरहेको भन्दै समूह छलफल गरेका थिए। समानुपातिक सूचीमा पनि पछाडि राखिएको अवस्थामा सँगै बस्न नसकिने निष्कर्षसहित उपाध्यायसहितका केही नेता बन्दसूची छुट्टै बुझाउन पाइने/ नपाइने बुझ्न शुक्रबार निर्वाचन आयोग पुगेका थिए।
नेताहरु आयोगमा पुगे पनि आयोगले पार्टी एकीकृत भएको अवस्थामा छुट्टै सूची बुझाउन नमिल्ने जवाफ दिएको थियो। असन्तुष्टि छुट्टै बाटो तय गर्नेसम्म पुगेको खुलेपछि शीर्ष नेताहरु राति नै छलफलमा बसेका थिए।