काठमाडौं। एनसेलले फोरजी नेटवर्क विस्तार र सुधारलाई तीव्र बनाएको छ। कम्पनीले सन् २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी संचालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार २ हजार २०० साइटको क्षमता अभिवृद्धि गरिएको छ। यसले भ्वाइस सेवा स्पष्ट र डेटा गति छिटो बनाएको छ।
‘सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना भएका छन्। विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा काम केन्द्रित गरिएको थियो। कर्णाली र सुदूरपश्चिमका दुर्गम स्थानमा पनि फोरजी सेवा पुगेको छ। मधेशमा १०० भन्दा बढी टावर थपिएका छन्। लुम्बिनीमा ४० भन्दा बढी र कोशीमा ३५ भन्दा बढी टावर स्थापना भएका छन्,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
कुल २५० टावरमध्ये १९७ टावर पछिल्लो साढे २ महिनामा जडान भएका हुन्। स्टक र स्पेयर उपकरण प्रयोग गरी ५३ टावर संचालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सहजीकरणपछि काम छिटो अघि बढेको हो।
एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले नेटवर्क सुधारले स्थानीय तहमा कनेक्टिभिटी बलियो बनाएको बताए। उनले गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवा भरोसा र अवसरसँग जोडिएको विषय भएको बताए।
एनसेलले जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको हो। यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको छ। हाल कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीमा फोरजी पहुँच पुगेको छ।