काठमाडौं। ग्राण्ड स्लाम अस्ट्रेलियन ओपनमा जान लागेकी शिवाली गुरुङलाई भाटभटेनीले विदाइ गरेको छ। गुरुङ अस्ट्रेलियन ओपन चलिरहँदा सोही कोर्टमा हुने अस्ट्रेलियन समर अफ टेनिसमा सहभागी हुने छिन्।
नेपाल टेनिस संघका अध्यक्ष मनोहरलाल दास मुरले शिवालीको अस्ट्रेलियन ओपनमा सहभागिता ऐतिहासिक हुने बताए। उनले यो प्रतियोगिता एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट युवा खेलाडीलाई अनुभवका लागि राम्रो अवसर हुने भन्दै खेलाडी प्रायोजनका भरमा चलिरहेको बताए।
‘नेपालमा संघ चलाउन गाह्रो छ। सरकारबाट आउने ३ लाख रुपैयाँले के हुन्छ?,’ उनले भने, ‘हामी आफैँ स्रोत व्यवस्थापन गरेर चलिरहेका छौँ। प्रायोजनका लागि भाटभटेनी, इन्फिनिटी लगायत कर्पोरेटलाई धन्यवाद दिन चाहन्छु।’
उनले शिवाली ‘हुने विरुवाको चिल्लो पात’ जस्तै भएको भन्दै उनको ‘इन्टेन्ड’ र मेहेनतले ठूलो सम्भावना देखाएको बताए।
‘एसियन टेनिस फेडेरेसन र टेनिस अस्ट्रेलियासँगको सहकार्यमा यो इभन्ट भइरहेको छ। यो एसिया प्यासिफिक एलिट यू-१४ राखिएको हो,’ उनले भने, ‘नियमित जुनियर ग्राण्ड स्लाम यू-१८ को हुन्छ। एसियाका खेलाडीलाई ग्राण्ड स्लाम बुझ्ने अवसरका रुपमा यो स्पेसल इभन्ट बनाइएको हो। यो इभन्ट अस्ट्रेलियन ओपन चलिरहँदा त्यही कोर्टमा हुनेछ।’
यो प्रतियोगिताले ग्राण्ड स्लाम चलिरहँदा सोही कोर्टमा खेल्ने र महत्त्वपूर्ण खेलहरू हेर्ने अवसर प्रदान गर्ने उनले बताए।
भाटभटेनीका आलोक जोशीले २०२५ मा अफ्ठ्यारो अवस्था ब्यहोरे पनि कमब्याक गर्ने बताए।
‘टेनिसमा एउटा सेटमा हार ब्यहोरे पनि अर्को सेटबाट कमब्याक गरेजस्तै भाटभटेनीले पनि कमब्याक गर्नेछ,’ उनले भने।
त्यस्तै, इन्फिनिटी एक्टिभ वेयर्सका प्रवीण गुरुङले शिवालीलाई प्रायोजन गरिरहेको बताउँदै अब लञ्च हुने इन्फिनिटी किड्स वेयरमा उनलाई मुख्य फेस बनाउने घोषणा गरे।
शिवालीले अस्ट्रेलियन ओपनमा टेलिभिजनमा हेरिरहेका खेलाडीको प्रत्यक्ष खेल हेर्दा र त्यही कोर्टमा खेल्दा ठूलो एक्सपोजर मिल्ने बताइन्।