काठमाडौं । सामसङ इनोभेसन क्याम्पस (एसआइसी) नेपाललेसंचालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न भएको छ। सन् २०२५ को जुन २७ देखि सुरु भएको सो कार्यक्रम डिसेम्बर ३१ मा सम्पन्न भएको हो।
यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ। यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ।।
सन् २०२३ देखि एसआइसीले सामसङको विश्वव्यापी सीएसआर दृष्टिकोण ‘टुगेदर फर टुमरो! इनेबलिङ पिपल’ लाई अघि बढाएको थियो। जसले युवालाई भविष्यका लागि तयार हुने गरि सीपहरु प्रदान गरि नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताको नयाँ पुस्ता विकास गर्न सशक्त बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
कार्यक्रमका क्रममा स्नातक गरेका विद्यार्थीहरुलाई उनीहरूको उपलब्धिको कदरस्वरूप प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो। साथै, कोडिङ तथा प्रोग्रामिङ कोर्स सुरु गर्न लागेका नयाँ विद्यार्थीहरूलाई पनि स्वागत गरिएको थियो।
यस पाठ्यक्रमले उन्नत प्रविधि तालिमलाई आवश्यक सफ्ट स्किल्ससँग समेट्दै डिजिटल साक्षरता, सिर्जनशीलता, समस्या समाधान क्षमता तथा रोजगारीयोग्यता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
‘सामसङमा हामी युवालाई नेपालको भविष्यको नवप्रवर्तनको प्रमुख प्रेरक शक्तिका रूपमा हेर्छौं। उनीहरूलाई भविष्य तयार सीपले सुसज्जित गर्नु केवल शिक्षामा सीमित विषय होइन। यो देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो। एआई तथा बिग डेटा कार्यक्रमका स्नातकहरूको उपलब्धि उत्सव मनाइरहँदा, हामी कोडिङ र समस्या समाधानमार्फत नेपालको डिजिटल क्षमतालाई थप सुदृढ बनाउन अर्को पुस्ताका शिक्षार्थीहरूलाई पनि समान रूपमा विकास गर्न प्रतिबद्ध छौं। सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न, नवप्रवर्तन गर्न र अर्थपूर्ण योगदान दिन युवालाई सशक्त बनाउने हाम्रो प्रतिबद्धता कायम राख्छौं,’ सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले भने।
सामसङ इनोभेसन क्याम्पसको पाठ्यक्रम केवल प्राविधिक तालिममा सीमित नरही, उन्नत प्रविधि सिकाइलाई आवश्यक सफ्ट स्किल्ससँग समेटेर वास्तविक कार्यस्थलमा विद्यार्थीहरू सफल हुन सकून् भन्ने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ। यस सन्तुलित दृष्टिकोणमार्फत सहभागीहरूले आफ्नो डिजिटल साक्षरता, सिर्जनशीलता, सहकार्य र समस्या समाधान क्षमतालाई थप सुदृढ बनाउँदै तीव्र रूपमा परिवर्तन हुँदै गएको प्रविधि क्षेत्रका लागि आत्मविश्वास र रोजगारीयोग्यता विकास गर्ने भनिएको छ।
कार्यक्रमको प्रमुख विशेषता यसको व्यवहारिक परियोजना अंश रहेको छ। जहाँ विद्यार्थीहरुलाई सामाजिक रूपमा सान्दर्भिक तथा वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने उपायहरू डिजाइन गर्न सिकाइन्छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बिग डेटा, इन्टरनेट अफ थिङ्स तथा कोडिङ र प्रोग्रामिङजस्ता उदीयमान प्रविधिहरू प्रयोग गर्दै विद्यार्थीहरूले अर्थपूर्ण ह्यान्ड्स-अन अनुभव हासिल गर्न सक्नेछन।
यस कार्यक्रमको उद्देश्य युवापुस्तालाई भविष्य–तयार सीपहरूले सुसज्जित गर्नुका साथै नेपालमा सशक्त नवप्रवर्तन इकोसिस्टम निर्माणमा योगदान पुर्याउनु रहेको कम्पनीले जनाएको छ।