काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनसेलको पोखरास्थित डाटा सेन्टर अवलोकन गरेका छन्। खरेलले डिजास्टर रिकभरी सेन्टरका रुपमा संचालित डाटा सेन्टर सोमबार अवलोकन गरेका हुन्।
एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए।
मन्त्री खरेलले एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजना उद्घाटन गरेका छन्।
अत्याधुनिक सर्भरमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस) प्रणालीको स्विच अन गरी उनले परियोजना उद्घाटन गरेका हुन्।

क्षमता अभिवृद्धिसँगै एनसेलले यो डाटा सेन्टरमार्फत अब ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा दिन सक्नेछ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ।
त्यसैगरी, भोवाइफाइ प्रविधिले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ। यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल गर्न तथा एसएमएस पठाउन सक्छन्।
विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवन वा दुर्गम ठाउँमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिने एनसेलले जनाएको छ।
मन्त्री खरेलले एनसेलले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई निरन्तर साथ दिइरहेको बताए।
एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले सन् २०१२ मा स्थापना गरिएको डाटा सेन्टर नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा एक प्रमुख पूर्वाधार भएको बताए।