काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले इजरायलमा रहेको आफ्नो इन्जिन जडानका लागि न्यारोबडी जहाज पठाएको छ।
इजरायली कम्पनी आइएआईसँग समझदारीपछि एनएसीले आफ्नो इन्जिन जडानका लागि ९ एन एकेएक्स कलसाइनको जहाज पठाएको हो।
एनएसीकी प्रवक्ता अर्चना खड्काले जहाजको इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिइन्। उनका अनुसार आइतबार काठमाडौं-दुबई नियमित उडान गरेको जहाज सोमबार इजरायल पुग्ने तालिका छ।
एनएसीले ९ एन एकेएक्स कलसाइनको जहाजमा हाल भाडाको इन्जिन प्रयोग गर्दै आएको छ। एनएसीका यसअघिका अध्यक्ष युवराज अधिकारीले कमिसनका लागि आफ्नो इन्जिन इजरायलमा थन्क्याएर जहाजमा भाडाको इन्जिन प्रयोग गरेका थिए।
अधिकारीले ९ एन-एकेएक्स कलसाइनको जहाज २०८० मंसिर १५ गते ग्राउण्डेड भएपछि मर्मतका लागि पुस २७ गते इजरायल पठाएकामा वैशाख दोस्रो साता मात्र काठमाडौं ल्याइएको थियो।
बिग्रिएको इन्जिन आईएआईले १० महिनाअघि मर्मत गरेकामा अधिकारीले फिर्ता ल्याएका थिएनन्। अधिकारी दुई महिनाअघि एनएसीबाट बिदा भइसकेका छन्।
आफ्नो इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन प्रयोग गरेको विषयलाई गम्भीरतापूर्वक लिइ प्रधानमन्त्री सुशीला कार्कीले मंसिर पहिलो साता एनएसीका सञ्चालक अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको पनि काम गर्ने जिम्मेवारी दिएकी थिइन्।
श्रेष्ठले आईएआईसँग निरन्तर वार्ता गरी समझदारी गरेर इन्जिन सट्टापट्टाका लागि जहाज पठाएका हुन्।
‘इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आईएआईबीच मौजुदा रहेको मेन्टिनेन्स विथ लिज सपोर्ट सम्झौताका आधारमा वार्ताको माध्यमबाट समझदारी सम्पन्न भएपछि जहाज पठाइएको छ,’ एनएसीले सोमबार भनेको छ, ‘कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र उच्च व्यवस्थापनको निरन्तर प्रयासस्वरूप लामो समयदेखि विवादमा रहेको विषय टुङ्गिएको र इन्जिन सट्टापट्टा गर्ने प्रक्रिया अघि बढेको हो।’
एनएसीका अनुसार आफ्नो इन्जिन जडानपछि जहाज जनवरीको दोस्रो साता काठमाडौं फर्किनेछ।
आईएआईले कात्तिक पहिलो साता आफूले भाडाबापत साढे ४४ करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै सम्झौता रद्द गरिएको पत्र एनएसीमा पठाएको थियो।