काठमाडौं। ज्यागुअर ल्यान्डरोभर फेरी इलेक्ट्रिक लग्जरी सेगमेन्टमा इन्ट्री गर्ने भएको छ। कम्पनीले सन् २०२६ मा नयाँ दुई वटा इलेक्ट्रिक गाडी ल्याउने योजना बनाएको छ।
कम्पनीले अहिले भारतमा सबै मोडलका गाडी इन्धन इन्जिनमा आधारित मात्रै उत्पादन गर्दै आएकामा अब इलेक्ट्रिक पनि उत्पादन गर्ने भएको हो। कम्पनी रेन्ज रोभर इलेक्ट्रिक र ज्यागुअर इलेक्ट्रिक फोर डोर जीटी ल्याएर इलेक्ट्रिक लग्जरी सेगमेन्टमा रि-इन्ट्री गर्न लागेको हो।
कम्पनीका अनुसार रेन्ज रोभर इलेक्ट्रिक ८०० भोल्ट आर्किटेक्चरमा निर्माण गरिनेछ। यसले ५३० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ। रेन्ज रोभर इलेक्ट्रिकमा ११८ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक हुनेछ। यसको मूल्य भारतमा ३ करोड भारु पर्ने अनुमान गरिएको छ।
यस्तै, ज्यागुअर इलेक्ट्रिक फोर डोर जीटी जेईए प्लेटफर्ममा निर्माण हुनेछ। यसले ७०० किलोमिटर रेन्ज दिने लक्ष्य राखिएको छ। यसमा ११० किलोवाट आवर(युनिट) क्षमताको एनएमसी ब्याट्री प्याक हुनेछ।
यसलाई विलासी बजारमा आफूलाई पुनर्स्थापित गर्ने जेएलआरको रणनीतिका रुपमा लिइएको छ। कम्पनीले बेन्टली जस्ता ब्रान्ड र अउडी वा बीएमडब्लूभन्दा बढी प्रिमियम सेगमेन्टसँग प्रतिस्पर्धा गर्न हाइ-इन्ड, हाइ-मार्जिन इलेक्ट्रिक गाडीमा ध्यान केन्द्रित गर्न लागेको हो।