काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाको पुर्निर्माणको प्रगतिबारे बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका छन्। २०८२ असार २४ मा चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) को बाढीले सबै भन्दा बढी क्षति भएको थियो।
उनी त्यहाँ पुग्दा अझै पनि त्यहाँ पुनर्निर्माणकाे काम भइरहेकाे थियाे भने बाढीले क्षति गरेका संरचनाहरु पूर्णरुपमा उठ्न नसकेकाे प्रष्ट देखिन्थ्यो। आयाेजनाकाे बाँधस्थल वरपर अझै पनि ठूलाठुला ढुंगा र मुढाहरु देखिन्थे भने पावरहाउसबाट झिकेका मुढाहरु काटेर झिकेकाले अझै धुलाे देखन्थ्याे।
त्यति मात्रै हाेइन बाढीसँगसँगै पसेकाे लेदाेका कारण पावरहाउसका धेरै संरचनाहरु मर्मत गरेर चलाउनका लागि यत्रतत्र देखिन्थे। शाक्यले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाकाे स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षका बारेमा पनि जानकारी लिएका छन्। उनले निरीक्षणसँगै कठिन समयमा पनि मेहनतका साथ काम गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न निर्देशन दिएका थिए।
‘मानसिक त्रासमा बसेर लगातर काम गरेर यो सफलता प्राप्त गर्नुभयो अहिले दुईवटा युनिट संचालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो,’ उनले भने, ‘यो सुख्खा मौसममा पनि यी दुई युनिटबाट करीब ४५ मेगावाट विद्युत उत्पादन भइरहेकाे छ। यो गतिशिलतालाई कायम राख्नुहोस्। अहिलेसम्मको प्रगति राम्रो छ। तर, प्राकृतिक विपत्ति आइलाग्यो। यद्यपि अरु अवस्थामा तपाईंहरुकाे मेहनतले थप सुधार गरेर अघि बढ्दा यसले थप राम्रो गर्छ।’
त्यसक्रममा उनले आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको भन्दै डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर आगामी दिनमा अहिलेको भन्दा राम्रो गरेर अघि बढ्न पनि सुझाव दिएका थिए। उनले पहिला गरेको डिजाइन भन्दा अहिले बस्तुस्थिति फरक भएको र नदीले आफ्नो धार समेत परिवर्तन गरेको भन्दै त्यसै अनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताएका थिए।
‘पुरानै डिजाइनले पुरानो समस्यालाई समाधान गर्दैन,’ उनले भने, ‘अब फरक ढंगले अघि बढ्नुपर्छ, मैले त्यही अनुसारको सुझाव पनि दिएको छु। यो एक वर्षको बाढीलाई हेरेर त्यसपछि स्थायी समाधानसहित अघि बढ्नुपर्छ।’
उनले ठेक्कापट्टा लिएर भन्दा पनि आफ्नै स्रोत साधनको प्रयोगमा काम गरिरहेको भन्दै त्यसको पनि प्रशंसा गरे। ‘प्रगति राम्र छ। तर, अर्को बाढी आउनु भन्दा अघि गर्नुपर्ने काम अझै धेरै छ। त्यो काम द्रुत गतिमा गर्नुपर्ने छ। बाँध निर्माणस्थलकाे काम पनि अझै द्रुतगतिका साथ गर्नुपर्नेछ,’ उनले भने।
त्यहाँ उनले पावर हाउसकाे पनि निरीक्षण गरेका थिए।
विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा निर्माण भएको रन-अफ- रिभरकाे याे आयाेजनाले वार्षिक ३ अर्ब २५ कराेड आन्दामी गर्ने लक्ष्य लिएकाे भन्दै बाढीले क्षतिग्रस्त अवस्थापछि कठिनका साथ काम गरिरहेकाे आयाेजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए। उनले असार २४ काे बाढी अघि ११४ कराेड आम्दानी गर्न सफल भएको जानकारी दिएका थिए। ी
‘प्राधिकरणका कार्यकारी निर्देशक यहाँ आएर अहिलेसम्म गरेकाे कामकाे प्रगति हेर्नू भएको छ र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव र निर्देशन दिनुभएकाे छ,’ उनले भने,‘हामी त्यहि अनुसार अघि बढ्छाैं। हामीले एक अर्ब ७३ कराेडकाे बीमा दाब गरेका छाैं। हामी भर्खरै विस्तारै लयमा फर्किएका छाैं। अब थप तयारीका साथ अघि बढ्छाैं।’
उक्त आयाेजनाले वार्षिक ६१ कराेड ३८ लाख ७५ हजार युनिट विधुत उत्पादनकाे लक्ष राखेकाे छ केन्द्रकम प्रमुख सन्ताेष अधिकारीले जानकारी दिए।
रसुवामा आएकाे बाढीले ३ सय ५० मेगावाटका आयोजना निर्माणको काममा अवरोध गरेको थियो। त्यसैगरि २५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएका थिए। सो बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो।
त्यतिबेला ६० मेगावाट त्रिशूली–३ ए जलविद्युत् आयोजना, २४ मेगावाट त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाट चिलिमे जलविद्युत्, १४ मेगावाट माथिल्लो मैलुङ, १४ मेगावाट देवीघाट जलविद्युत् परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएका थिए।