BIZMANDU
www.bizmandu.com

चितवन पुगेका पर्यटकलाई पहेँलपुर तोरीबारीको आकर्षण, खेती भने घट्दो (तस्बिरहरू)

२०८२ पुष १२

चितवन पुगेका पर्यटकलाई पहेँलपुर तोरीबारीको आकर्षण, खेती भने घट्दो (तस्बिरहरू)
चितवन पुगेका पर्यटकलाई पहेँलपुर तोरीबारीको आकर्षण, खेती भने घट्दो (तस्बिरहरू)


चितवनका खेतहरू यतिबेला तोरी फुलेर पहेँलपुर देखिन्छन्। टाढाबाट हेर्दा यी खेतहरू प्राकृतिक सौन्दर्यको अनुपम दृश्य बनेका छन्, जसले सौराहा पुगेका स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ। सौराहा घुम्न धेरै पर्यटकले तोरीबारीलाई पृष्ठभूमि बनाएर फोटो खिच्ने गरेका छन्, जसले ग्रामीण पर्यटनलाई पनि केही हदसम्म टेवा पुर्‍याएको छ।

Tata
GBIME

तोरीबारीका दृश्य सुन्दर भए पनि यसको भित्री यथार्थ चिन्ताजनक छ। नेपालमा तेलहन बालीको खेती बर्सेनि घट्दो क्रममा छ। जनसंख्या वृद्धि र उपभोग बढ्दै जाँदा तोरीको तेलको माग भने निरन्तर बढिरहेको छ, तर आन्तरिक उत्पादनले त्यो माग धान्न सकेको छैन।

अधिकांश किसान अझै पनि व्यावसायिकभन्दा निर्वाहमुखी खेतीमै सीमित छन्। उन्नत बिउ, प्रविधि, सिँचाइ र बजारको सुनिश्चितता नहुँदा तेलहन बालीमा आकर्षण घट्दो छ। परिणामस्वरूप मुलुकले ठूलो मात्रामा खाने तेल आयात गर्नुपरेको छ, जसले आत्मनिर्भर बन्ने लक्ष्यलाई अझ टाढा बनाइरहेको छ।

कृषि विभागको तथ्यांकअनुसार करिब २ लाख ५९ हजार १०० हेक्टर हेक्टरमा तेलहन बालीको खेती गरिन्छ। कुल तेलहन बालीको क्षेत्रफलमध्ये तोरी, सर्स्युँ र रायोले मात्र करिब ९० प्रतिशत हिस्सा ओगटेका छन्। तेलहन उत्पादन करिब २ लाख ८० हजार मेट्रिक टन हुने गरेको छ। तोरीको गेडाको कुल वार्षिक माग करिब ६ लाख मेट्रिक टनको छ।

तोरी दुई किसिमले उपभोग हुन्छ। पहिलो, गाउँघरमा उत्पादित तोरी स्थानीय मिलमा पेलेर तेल उपभोग गरिन्छ। दोस्रो, सहरी क्षेत्रको माग धान्न र ब्राण्डेड तेल उत्पादन गर्न ठूला उद्योगहरूलाई कच्चा पदार्थको रूपमा ठूलो परिमाणमा तोरी र रेपसिड आवश्यक पर्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म)मा मात्रै ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको ५० हजार टनभन्दा बढी तोरी आयात भएको छ। नेपालले दुईवटा एचएस कोडमार्फत अष्ट्रेलिया, क्यानडा, भारत, युक्रेन र रसियाबाट तोरी खरिद गरेको तथ्यांकमा छ।