काठमाडौं। भूमिगत गरिरहेको विद्युतलाइनको कामका लागि नेपाल विद्युत् प्राधिकरणले शनिबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा लाइन कटौती गर्ने भएको छ।
पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका (कान्ति बाल अस्पताल अगाडि) विभिन्न स्थानमा बिहान ११ बजेदेखि २ घण्टा बिजुली कटौती हुने भएको प्राधिकरनद्वारा जारी सूचनामा छ। प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ।
यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि लाइन कटौती हुने प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ।
काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य गरिरहेको छ। काम पुरा भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो। तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।
प्राधिकरणले शहरी क्षेत्रमा देखिने बारम्बारको विद्युत अवरोध, दुर्घटना र तारहरूको अव्यवस्थालाई समाधान गर्न विद्युत लाइन भूमिगत गर्ने काम अघि बढाएको छ। विशेषगरी काठमाडौं उपत्यकाका मुख्य सडक, व्यापारिक क्षेत्र र घना बस्तीमा यो परियोजना लागू गरेको छ। यो काम मुलुकका प्रमुख सहरहरुलाई लक्षय गर्दै सुरु भइसकेको छ।
भूमिगत लाइनबाट आँधी–हुरी, वर्षा र रुख ढल्दा हुने क्षति कम हुने अपेक्षा गरिएको छ। यसले विद्युत आपूर्तिलाई स्थिर र सुरक्षित बनाउने, दृश्य प्रदूषण घटाउने र दीर्घकालीन मर्मत खर्च कम गर्ने लक्ष्य राखेको छ।