काठमाडौं। एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित जेको जे-फाइभ ह्यान्डओभर कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रममा ब्रान्डका वर्तमान एम्बासडर तथा राष्ट्रिय टोलीका उप-कप्तान दीपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरियो।
नेपाल प्रिमियर लिग सिजन २ मा रोहित पौडेलले लुम्बिनी लायन्सलाई ऐतिहासिक उपाधि जिताएका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनी ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ समेत घोषित भएका थिए।


एनपीएलको ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिनु आफ्ना लागि एउटा ठूलो गौरवको कुरा भएको रोहितले बताए।
एसपीजी अटोमोबाइल्सले उनलाई जेको जे-फाइभ इलेक्ट्रिक एसयूभी प्रदान गरेको छ। कम्पनीले गाडीमा लाग्ने विन्डफाल करसमेत आफैँले व्यहोर्ने घोषणा गरेको छ।
‘केही वर्षअघि खेलाडीका लागि आफ्नै गाडी चढ्ने वा किन्ने कुरा सपना जस्तै लाग्थ्यो, जुन सायदै पूरा होला जस्तो लाग्थ्यो,’ रोहितले भने, ‘आज मेरो यो सपना साकार भएको छ र यसको सम्पूर्ण श्रेय एसपीजी अटोमोबाइल्स परिवारलाई जान्छ।’

नयाँ यात्रामा जेको मोडेलसँग जोडिन पाउँदा निकै उत्साहित भएको उनले बताए। उनले यो ब्रान्ड वास्तवमै ‘ड्रिभन बाई च्याम्पियन्स’ भएको बताए।
‘यो अनुभवलाई वर्णन गर्नुपर्दा, मलाई यस्तो महसुस भइरहेको छ, मानौँ एकजना धावक वर्षौंदेखि पैदल दौडिएर अभ्यास गरिरहेको थियो र अचानक उसले एउटा उच्च क्षमताको गाडी पायो, जसले गर्दा उसले अब आफ्नो पछि आउनेहरूका लागि बाटो देखाउँदै अघि बढ्न सकोस्,’ उनले भने।
अबका दिनहरूमा पनि आफूहरू नयाँ पुस्तालाई प्रेरित गर्न र आफ्नो खेललाई उच्च स्तरमा राख्न निरन्तर मेहनत गरिरहने पौडेलले बताए।


एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले रोहित र दीपेन्द्रले ब्रान्डको मूल्य र नेतृत्व झल्काउने बताए।
जेको जे-फाइभ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो। यसमा आधुनिक इन्फोटेनमेन्ट सिस्टम र नवीनतम सुरक्षा प्रविधि छन्।
यो गाडीले ४६१ किलोमिटरको रेन्ज दिन्छ। यसको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ।