काठमाडौं। २०७६ कात्तिकमा प्रहरी वृत्त कालीमाटीको टोलीले सीतापाइलाबाट सेन्सर जोडिएको ताससहित एक जनालाई पक्राउ गर्यो। मोबाइल र एयर फोनसमेत भएको तासको मूल्य १ लाख रुपैयाँ तोकिएको थियो।
त्यसपछि प्रहरीले यस्तो प्रविधिसहितको तासको खाल भेटेको थिएन। तर, बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले म्याग्नेट र आँखामा लेन्स प्रयोग गरेर क्यासिनोमा ठगी गर्ने गिरोहलाई पक्राउ गर्यो। प्रहरीले छापा मार्दा भेटिएको यो प्रविधि ६ वर्ष अगाडिको भन्दा उन्नत हो।
भारतबाट तासमा म्याग्नेट र लेन्स नै लिएर ठगी गर्ने समूह नेपाल आएको थियो। तासको ४ सेट र ३८ वटा लेन्स भारतमा १ लाख १० हजार भारु (१ लाख ७६ हजार नेपाली रुपैयाँ)मा किनेको पक्राउ परेकाले प्रहरीलाई जानकारी दिएका छन्। प्रहरी अनौपचारिकरुपमा भारतमा तास किन्ने ठाउँसम्म पनि पुग्यो।
‘हामीले त्यहाँ भएका मानिससँग बुझ्न लगाएका थियौं। तासको मूल्य महँगो नै पर्ने रहेछ,’ एक प्रहरी अधिकृतले भने।
महाकाय ग्रुपका दिनेश बर्माले ५० प्याकेट तास र ४ सेट लेन्स भारतबाट खरिद गरेर नेपाल ल्याएको देखिएको छ। नेपाल ल्याएको तास र लेन्स क्यासिनोभित्र बिपी ग्रुपका जनार्दन उप्रेतीले प्रवेश गराएको प्रहरीको अनुसन्धानमा खुलेको हो।

६ वर्षअघि कालिमाटी प्रहरी वृत्तको टोलीले बरामद् गरेको तास र अहिलेको तासमा धेरै फरक देखिन्छ। त्यतिखेर तासमा सङ्केत राखिएको हुन्थ्यो। त्यो जानकारी एयरफोन प्रयोग गरेर मोबाइलबाट अर्को व्यक्तिले तास खेल्नेलाई सङ्केत दिन्थे। तर, क्यासिनोमा प्रयोग भएको तासमा म्याग्नेट भएकाले आँखामा लेन्स लगाएपछि प्रस्ट नै देखिन्थ्यो।
‘हामीले आँखामा लेन्स लगाएर १ मिटरभन्दा टाढाबाट देखाउँदा पनि उसले स्पष्टरुपमा तास चिन्यो। म्याग्नेटका कारण लेन्सले सजिलै तास चिनेको देखियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने।
ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोमा डिसेम्बर ११ देखि १४ सम्म भारतीय समूहको मुख्य आयोजनामा एउटा इभेन्ट गरिएको थियो। जसमा भारतबाट २०० जनालाई ल्याएर खेलाइएको थियो। जहाँ यी तास र लेन्स प्रयोग गरेर ठगी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।
क्यासिनोमा १० वटा टेबल बुक गरी एउटा टेबललाई दिनको १ लाख रुपैयाँको दरले तिरिएको थियो। त्यसलाई पुष्टि गर्ने प्रमाण प्रहरीले खोजी गरिरहेको छ। डिसेम्बर १० मा नेपालीसहितले क्यासिनोमा खेलेको देखिएको छ। क्यासिनोका कर्मचारीले १ करोड ७० लाख रुपैयाँको हारजित भएको जानकारी प्रहरीलाई दिएका छन्।
तर, त्यही टेबलमा डमी बनेर खेलेका खेलाडीले भने २५ लाख भारुसम्म जितेको बताएका छन्। उनीहरूले दिएको बयानलाई प्रहरीले शङ्कास्पदमानेर अनुसन्धान गरिरहेको छ।
‘क्यासिनोबाट पनि पूरा जानकारी नआएको र बैङ्किङ प्रणाली छलेर कारोबार भएकाले यकिन कति हो भन्ने प्रस्ट खुल्न सकेको छैन,’ एसपी भट्टराईले भने।
डिसेम्बर १० र ११ तारिखको दिउँसो एयर इन्डियाको विमानबाट ठूलो सङ्ख्यामा भारतीयहरू नेपाल आएको देखिन्छ। उनीहरूका लागि काठमाडौंका पाँचतारे होटल अलफ्ट, मेरियट र र्याडिसनका महँगा ११० वटा कोठा बुक गरिएको थियो। होटल अलफ्टमा १५ लाख रुपैयाँ नगद बुझाएको देखिएको छ।
इभेन्टको आयोजना भारतीय नागरिक सुरेश महाजन रहेको महाकाया ग्रुपले गरेको हो। त्यही ग्रुपका भारतीय नागरिकले नै भारतमा क्यासिनोमा लत परेका, पैसा भएका खेलाडी छनोट गरेर काठमाडौं ल्याएका हुन्। ५७ वर्षीय सुरेशको महाकाया हाइस्टेक प्रालिले भारतको दिल्ली रोहीणीमा घरजग्गा सम्बन्धी कारोबार समेत गर्छ।

इभेन्टमा सहभागी हुन आएकाले नेपालमा ठूलो रकम बोकेर आएको देखिएको छैन। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनीहरूले हुन्डीमार्फत रकम दिएको निष्कर्ष निकालेको छ।
प्रहरीले यो प्रकरणमा भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन्।