काठमाडौं। नेपालको पूर्वाधार निर्माणको क्षेत्रमा विद्युतीय ह्वील लोडर प्रयोग गर्न सकिने भएको छ। पन्चकन्या ग्रुपले चिनियाँ ब्रान्डको विद्युतीय ह्वील लोडर नेपाली बजारमा पहिलो पटक ल्याएको हो।
कम्पनीले चिनियाँ शानडोङ लिङ्गोङ कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेड(एसडीएलजी) ब्रान्डको विद्युतीय ह्वील लोडर ल्याएको हो। यो भोल्भोको सब्सिडरी कम्पनी हो। यसमा भोल्भोको कमर्सियल युनिटले लगानी गरेको छ। यो ब्रान्ड चीनमा विभिन्न हेभी इक्विपमेन्ट मेसिनरी उत्पादन गर्ने एक प्रमुख कम्पनी हो।
एसडीएलजी ब्रान्डको लोडरहरु आधिकारिक बिक्रेता पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स हो। कम्पनीका सेल्स हेड नरेन्द्र जोशीका अनुसार पहिलो लटमा ८ वटा विद्युतीय ह्वील लोडर आयात गरिएको छ। उनले केही युनिट बुकिङ समेत भइसकेको दाबी गरे।
‘अहिले यो खरिद गर्न इच्छुक निर्माण कम्पनीहरुले हेरेर गएका छन्। हामीले यो लोडरलाई आफ्नै साइटमा प्रयोग गरिरेका छौं,’ उनले भने।
नेपालको जुनसुकै पूर्वाधार निर्माणमा यो लोडर प्रयोग गर्न सकिन्छ। क्रसर उद्योग, जलविद्युतको टनेल, सडकको टनेल र अन्य सडकमा उपयोगी हुन्छ। विद्युतीय भएकै कारण इन्धनमा हुने ठूलो खर्च कम हुने भएकाले निर्माण कम्पनीले चासोपूर्वक हेरिरहेको जोशीले बताए।
यसमा १८० किलोवाट आवर(युनिट) क्षमताको लिथियम आयरन फस्फेट ब्याट्री राखिएको छ। यसलाई चार्ज गर्न २४० किलोवाट क्षमताको चार्जर छ। सो चार्जरले चार्ज गर्दा ४५ मिनेटदेखि १ घन्टा लाग्छ। उक्त फुल चार्ज गर्दा ६ घन्टासम्म चलाउन सकिन्छ। यसमा मोटर पावर ६० किलोवाट नियमित र ९० किलोवाट अधिकतम रहेको छ।
इन्धन लोडरले १ घन्टामा १२ लिटर डिजल खान्थ्यो भने यसमा फुल चार्ज गर्दा उक्त डिजलको पैसाले ६ घन्टासम्म चलाउन सकिन्छ। तर यसमा साइटमा हुने काम अनुसार रेन्ज दिन्छ। तर कम्तीमा ५ घन्टासम्म चल्ने कम्पनीको दाबी छ। विद्युतीय भएकै कारण ध्वनी र वायु प्रदुषण हुँदैन।

एसडीएलजीका इलेक्ट्रिक ह्वील लोडरहरूमा रिजेनेरेटिभ ब्रेकिङ प्रविधि प्रयोग गरिएको छ, जसले ब्रेक लगाउँदा निस्कने ऊर्जा पुनः ब्याट्रीमा भण्डारण गर्छ र एकपटक चार्ज गर्दा काम गर्ने समय बढाउँछ। यी लोडरमा लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग हुन्छ, जुन लामो आयु, उच्च तापक्रम सहने क्षमता र सुरक्षाका हिसाबले सुरक्षित मानिन्छ।
ब्याट्रीका लागि इन्टेलिजेन्ट थर्मल म्यानेजमेन्ट सिस्टम जडान गरिएको छ, जसले अत्याधिक चिसो वा गर्मीमा पनि मेसिनलाई सुरक्षित रूपमा चलाउन सहयोग गर्छ। एसडीएलजीका केही मोडलहरूमा इको, लोडिङ, ग्रेडिङ र स्ट्याकिङ जस्ता फरक–फरक वर्किङ मोड उपलब्ध छन्, जसले कामको प्रकृतिअनुसार ऊर्जा खपत घटाउन मद्दत गर्छ
‘अहिले हामीले ८ वटा बाहेक फेरि ३ वटा आयात गर्दैछौं। कम्पनीहरुले बुकिङ गर्न थालेका छन्। हामीले ग्राहकले आफैले एलसी खोलेर पनि ग्राहकहरुले उक्त लोडर ल्याउन पाइन्छ। हामी बीचमा बसेर नेगोसिएसन गरिदिन्छौं,’ जोशीले भने।
भारत, चीन, इन्डोनेसिया जस्ता देशहरुमा यसको प्रयोग तीव्र गतिमा भइरहेको छ। त्यहाँको सरकारहरुले विद्युतीय हेभी इक्विपमेन्ट चलाउन अनुदान समेत दिने गरेको छ।
यसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ। यो सुरुवाती दिनमा खरिद गर्दा दुई गुणा महँगो हुन्छ। तर यसको संचालन खर्च कम हुँदा दीर्घकालिन रुपमा सस्तो पर्छ।
बकेट साइज १.५-३.० क्युबिक मिटर क्षमताको मेसिन हो। यसको मतलब धेरै प्रकारका सामाग्रीको लोडिङ र अनलोडिङमा काम आउँछ। यसलाई सिंगल ह्यान्डल कन्ट्रोल आरामदायी सस्पेन्डेड सिट छ। एक्सप्लोर अर्थ मुभर्स एसडीएलजी एल ९३६ एचईभी मोडलको नेपाल आएको हो।

यसको सर्भिसमा हाइड्रोलिक आयल १२८ लिटर, ब्याट्री कुलिङ १३ लिटर, मोटर कुलिङ २२ लिटर, अगाडि र पछाडि एक्सेल १८ लिटर, ट्राभेल मोटर गियरबक्स २० लिटर क्षमताको छ
यसले सुरुङमार्ग भित्र काम गर्दा धेरै फाइदा हुनेछ। किनभने टनेलभित्र डिजल मेसिन चलाउदा धुवाँले ठुला समस्या ल्याउँछ। तर विद्युतीयले प्रदूषण गर्दैन।