BIZMANDU
www.bizmandu.com

दुई दशकको पर्यटन यात्रा : नेपालको अनुभव, चुनौती र अबको बाटो

२०८२ पुष १०

दुई दशकको पर्यटन यात्रा : नेपालको अनुभव, चुनौती र अबको बाटो
दुई दशकको पर्यटन यात्रा : नेपालको अनुभव, चुनौती र अबको बाटो


सन् २००५ मा नेपाल राजनीतिक अस्थिरताको चरम अवस्थामा थियो। माओवादी जनयुद्ध जारी थियो, सुरक्षा अवस्था कमजोर थियो र अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपाललाई ‘जोखिमपूर्ण गन्तव्य’का रूपमा चित्रण गरिन्थ्यो। यति कठिन परिस्थितिका बाबजुद पनि करिब पाँच लाख विदेशी पर्यटक नेपाल आए। उनीहरूलाई आकर्षित गर्ने कारण स्पष्ट थिए -हिमाल, संस्कृति, प्रकृति र नेपालको मौलिकता।

Tata
GBIME
Nepal Life

दुई दशकपछि सन् २०२५ मा आइपुग्दा विदेशी पर्यटक आगमन करिब १०-११ लाखको हाराहारीमा पुगेको छ। सतहमा हेर्दा यो प्रगति जस्तै देखिन्छ। तर, विश्व पर्यटन बजारको गतिसँग तुलना गर्दा नेपालले अपेक्षित फड्को मार्न सकेको छैन। आजभन्दा बीस वर्षअघि नेपालजस्तै पर्यटक भित्राउने देशहरूले पछिल्ला दुई दशकमा आफ्नो पर्यटन बजार चारदेखि पाँच गुणासम्म विस्तार गरेका छन्। नेपाल भने अझै पनि १० लाखको वरिपरि नै घुमिरहेको छ।

यसले एउटा असहज प्रश्न उठाउँछ – के हामीले यी २० वर्षमा पर्याप्त प्रगति गर्न सकेनौं?

उत्तर सीधा ‘छैन’ वा ‘छ’ दुवै होइन। केही प्रगति अवश्य भयो। तर, त्यो सम्भावनाको अनुपातमा कमजोर रह्यो। पर्यटन पूर्वाधार, होटल, सडक, पदमार्ग र हवाई सेवा क्षेत्रमा उल्लेखनीय लगानी भयो। तर, ती सबै संरचनाले अपेक्षित मात्रामा पर्यटक आकर्षित गर्न सकेका छैनन्।

नेपालले पर्यटनलाई समय त दियो तर स्थिर नीति, दीर्घकालीन दृष्टि र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने रणनीति दिन सकेन।

पछिल्ला २० वर्ष नेपालको पर्यटनका लागि सहज थिएनन्। जनयुद्ध, राजनीतिक संक्रमण, बन्द/हड्ताल, २०१५ को विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र कोभिड १९ महामारी, यी सबैले पर्यटन उद्योगलाई पटक पटक गहिरो धक्का दिए। पछिल्ला वर्षहरूमा सामाजिक आन्दोलन र असन्तोषले पनि पर्यटन गतिविधिमा प्रत्यक्ष प्रभाव पार्‍यो।

सन् २०२३ मा नेपाल भ्रमणका क्रममा पाटन दरबार क्षेत्रमा संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरस

तर, यी सबै बाह्य संकटहरू मात्र नेपालको पर्यटन सुस्त हुनुको कारण होइनन्। नीतिगत अस्थिरता, सरकार परिवर्तनसँगै नीति फेरिने प्रवृत्ति, कमजोर कार्यान्वयन र बजार केन्द्रित सोचको अभावले नेपाललाई पछाडि पारेको हो।

२००५ तिर नेपालको पर्यटन केही सीमित उत्पादनमा केन्द्रित थियो। हिमाल आरोहण, ट्रेकिङ (एभरेस्ट, अन्नपूर्ण, लाङटाङ), काठमाडौं उपत्यकाका दरबार, लुम्बिनी, जनकपुर र केही साहसिक खेल यिनै नेपालको मुख्य आकर्षण थिए। त्यसबेला पर्यटकको बसाइ अवधि छोटो थियो र औसत खर्च न्यून। पर्यटनबाट स्थानीय समुदायमा पुग्ने प्रत्यक्ष लाभ पनि सीमित थियो।

शान्ति सम्झौतापछि नेपालमा केही राजनीतिक स्थिरताको आशा पलायो। ‘भिजिट नेपाल २०११’ अभियानपछि पर्यटक आगमन करिब ७ लाख नाघ्यो। तर, २०१५ को भूकम्पले पर्यटन पूर्वाधार मात्र होइन अन्तर्राष्ट्रिय विश्वासलाई पनि गहिरो चोट पुर्‍यायो।
त्यसपछि भारत नाकाबन्दीले देशको अर्थतन्त्रसँगै पर्यटन उद्योगलाई थप कमजोर बनायो।

२०१९ सम्म आइपुग्दा नेपाल पुनः उठ्ने क्रममा थियो। ‘भिजिट नेपाल २०२०’ घोषणा गरियो। तर, त्यसै बेला कोभिड १९ महामारी फैलियो र विश्व पर्यटन पूर्ण रूपमा ठप्प भयो। नेपाल पनि अपवाद रहेन।

कोभिड १९ पछि २०२३ यता नेपालमा पर्यटन विस्तारै चलायमान हुँदै फेरि करिब १० लाख पर्यटकको स्तरमा पुगेको छ। यही अवधिमा थाइल्याण्ड, भियतनाम, श्रीलंका र भूटानले पर्यटनलाई नयाँ उचाइमा पुर्‍याएका छन्। नेपाल भने अझै पनि संरचनागत सुधार, सेवा गुणस्तर र अन्तर्राष्ट्रिय ब्रान्डिङमा पछि परेको देखिन्छ।

पर्यटनको मेरुदण्ड भनेको पूर्वाधार र विश्वास हो। नेपालमा अझै पनि सबै प्रमुख पर्यटक गन्तव्यसम्म गुणस्तरीय सडक पुगेका छैनन्, आन्तरिक उडानहरू अनियमित छन्, अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालन हुन सकेका छैनन्, ट्रेकिङ मार्गमा स्वास्थ्य, सुरक्षा र उद्धार प्रणाली कमजोर छन्। यसका साथै, राजनीतिक अस्थिरता र बारम्बार नीति परिवर्तनले अन्तर्राष्ट्रिय बजारमा नेपालको विश्वसनीयता कमजोर बनाएको छ।

अब नेपालले पर्यटनलाई नयाँ दृष्टिकोणबाट पुनःपरिभाषित गर्नुपर्छ। दिगो पर्यटन अब विकल्प होइन, अनिवार्यता हो। प्रत्येक गन्तव्यमा बहन क्षमता निर्धारण, फोहोर व्यवस्थापन, प्लास्टिक निषेध र स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ।

आजका पर्यटक ‘हेर्न’ मात्र होइन, अनुभव गर्न चाहन्छन्। गाउँ जीवन, परम्परागत खाना, हस्तकला, हिमाली संस्कृतिको अनुभव, ध्यान-योग, यिनै क्षेत्रमा नेपालको वास्तविक प्रतिस्पर्धात्मक शक्ति छ।

नेपालको पहिचान हिमालमा मात्र सीमित छैन; यो शान्तिको भूमि पनि हो। लुम्बिनीलाई अन्तर्राष्ट्रिय ध्यान र शान्ति केन्द्रका रुपमा विकास गर्न सकिन्छ। पोखरा, धुलिखेल र नामोबुद्धलाई योग, ध्यान र वेलनेस पर्यटनका हबका रूपमा अघि बढाउन सकिन्छ। हिमाली जडीबुटीमा आधारित प्राकृतिक उपचार र स्पा पर्यटनले नेपालको पर्यटनलाई नयाँ आयाम दिन सक्छ।

नेपालको भूगोलनै साहसिक पर्यटनका लागि अनुकूल छ। पेराग्लाइडिङ, स्काइडाइभ, माउन्टेन बाइकिङ, क्यान्योनिङ, ट्रेल रनिङ, अल्ट्रा फ्लाइट-यी गतिविधिमार्फत नेपाललाई एसियाको साहसिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सकिने सम्भावना प्रचुर छ।

कोभिड महामारीले एउटा महत्त्वपूर्ण पाठ सिकायो आन्तरिक पर्यटन ठूलो बजार हो। हरेक वर्ष करिब ३० लाख नेपाली आन्तरिक यात्रामा निस्कन्छन्। यदि यसलाई व्यवस्थित गर्न सकियो भने पर्यटनले स्थानीय अर्थतन्त्र, रोजगारी, कृषि र हस्तकलालाई बलियो आधार दिन सक्छ।

पछिल्ला २० वर्षमा नेपालले पर्यटक संख्या दोब्बर त गर्‍यो, तर त्यो विश्वको गतिसँग मेल खान सकेन। कारणहरु स्पष्ट छन् – राजनीतिक अस्थिरता, कमजोर पूर्वाधार, बजारमुखी सोचको अभाव र कार्यान्वयनको कमजोरी।

तर, सम्भावना अझै अपार छ। नेपालको भूगोल, संस्कृति, धर्म र प्रकृतिको संयोजन संसारमै दुर्लभ छ। पर्यटनलाई केवल आम्दानीको स्रोत होइन, राष्ट्रिय पहिचानको आधारका रूपमा विकास गर्न सक्यौं भने आगामी बीस वर्ष नेपालको पर्यटनका लागि निर्णायक बन्न सक्छ।