काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की तीन दलका शीर्ष नेतासँग पहिलोपटक आमनेसामने भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेता आमनेसामने भएका हुन्।
राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच अपराह्न साढे ३ बजेदेखि छलफल भइरहेको छ।
प्रधानमन्त्री कार्कीले यसअघि आफूलाई तीन दलका शीर्ष नेताको अनुहार हेर्ने मन नरहेकी बताएकी थिइन्।
निर्वाचनको मिति आउन अढाइ महिना मात्र बाँकी रहँदा पनि चुनावी माहोल बनेको नदेखेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र तीन दलका नेतालाई एक ठाउँमा राखेर छलफल गराएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब बढाउन दौडधुप गरेपछि राष्ट्रपतिले निर्वाचनको पक्षमा माहोल बनाउन प्रधानमन्त्री कार्कीसँगको समन्वयमा छलफल गराएको स्रोतले बतायो।
