BIZMANDU
www.bizmandu.com

नाडाको साधारण सभा पुस ९ मा हुनेमा आशंका, अदालतपछि सीडीओ कार्यालय पुग्यो गोल्छा पक्ष

२०८२ पुष ७

नाडाको साधारण सभा पुस ९ मा हुनेमा आशंका, अदालतपछि सीडीओ कार्यालय पुग्यो गोल्छा पक्ष
नाडाको साधारण सभा पुस ९ मा हुनेमा आशंका, अदालतपछि सीडीओ कार्यालय पुग्यो गोल्छा पक्ष

काठमाडौं। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४९औं वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमा हुने/नहुने अन्योल देखिएको छ।

Tata
GBIME
Nepal Life

नाडा अध्यक्ष करण चौधरी पक्षको निर्णय चित्त नबुझेर आकाश गोल्छा पक्ष उच्च अदालत पाटन र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गुहारेपछि साधारण सभा घोषित मितिमा हुनेमा आशंका उब्जिएको हो।

निर्वाचनविनाको साधारणसभा हुन नदिन अन्तरिम आदेश माग गर्दै गोल्छा पक्षले दायर गरेको रिटमा उच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। उच्च अदालतले नाडासँग अन्तरिम आदेश किन जारी नगर्ने भनेर लिखित जवाफ समेत मागेको छ।

नाडाको मंसिर १५ गते बसेको कार्यसमिति बैठकले पुस ९ गते साधारण सभा गर्ने निर्णय गरेको थियो।

नाडाका केही साधारण सदस्यले साधारण सभा रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा सोमबार निवेदन दर्ता गराएका छन्। निर्वाचन कार्यक्रमविना अवैधानिक रुपमा साधारण सभा गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गरेर निवेदन परेको हो।

नाडाको विधान अनुसार हरेक दुई वर्षमा कार्यसमिति चयनका लागि निर्वाचन गर्ने उल्लेख छ। नाडाले यसअघि २०८० पुस २० गते साधारण सभाबाट नयाँ नेतृत्व छानेको थियो। त्यो कार्यसमितिको म्याद पुस १९ गते सकिंदैछ।

तर पुस ९ गते साधारण सभाको मिति तोकिए पनि निर्वाचन कार्यक्रम अगाडि बढाइएको छैन। नाडाको विधानमा साधारण सभाको १५ दिन अगाडि निर्वाचन तालिका प्रकाशन गर्ने व्यवस्था छ।

यसअघि पनि नाडाको विशेष साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेको थियो।

नाडाका अध्यक्ष चौधरीले भने नाडालाई महासंघमा लैजाने निर्णय कार्यसमितिबाट यसअघि नै गराइसकेका छन्।