दमौली (तनहुँ)। तनहुँ जलविद्युत् आयोजनासँग प्रभावित क्षेत्र व्यास–१३ बेलवासका बासिन्दाले मुआब्जा माग गरेका छन्। आयोजनाका कारण बेलबासको पुरै बस्ती संकटमा पर्ने भएपछि उनीहरु आन्दोलित भएका हुन्।
आयोजनाले उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनुपर्ने माग उनीहरुको छ। १४० मेगावाटको आयोजना ऋषिङ-१ झापुटारमा निर्माणाधीन छ। आयोजना सञ्चालनमा आउँदा बेलबास प्रभावित हुने अध्ययन प्रतिवेदनमै थियो। तनहुँ जलविद्युत आयोजनाको कारण बेलबास डुबानमा पर्ने भएकाले उचित मुआब्जा दिनुपर्ने सरोकार समितिका सदस्य मेघनाथ आचार्यको भनाइ छ।
एसियाली विकास बैंकको विस्तृत अध्ययन प्रतिवेदनमा आयोजना सञ्चालनमा आएपछि बेलबास डुबानको जोखिम औँल्याइएको छ। आयोजनाको कार्यालय सुरक्षाका लागि बनाइएको तटबन्धको कारण सेती नदीको धार बेलबासतर्फ सोझिएको कारण उक्त ठाउँको बस्ती उच्च जोखिममा पर्ने भएको हो।
आयोजना सञ्चालनपछि सेती नदीमा बाढी आए बेलबास बगाउने सम्भावना छ। त्यसैले बसोबासीलाई अन्यत्र सार्नुपर्ने हुँदा उचित मुआब्जा दिनुपर्ने आचार्य बताउँछन्।
केही दिनअघि तनहुँ आएका ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ समक्ष सरोकार समितिका संयोजक यामबहादुर आलेले बेलबासको बस्ती जोखिममा पर्ने बारेमा ध्यानाकर्षण पनि गराएका थिए। आलेले आयोजनाबाट १ सय ७० घरधुरी प्रभावित हुने जानकारी घिसिङलाई दिँदै प्रभावित क्षेत्रका लागि सरकारले ध्यान दिनुपर्ने बताएका थिए। रासस