BIZMANDU
www.bizmandu.com

राहुघाट जलविद्युत निर्माणमा भौतिक प्रगति ९० प्रतिशत, तीन महिनामा उत्पादन परीक्षण

२०८२ पुष ५

राहुघाट जलविद्युत निर्माणमा भौतिक प्रगति ९० प्रतिशत, तीन महिनामा उत्पादन परीक्षण
राहुघाट जलविद्युत निर्माणमा भौतिक प्रगति ९० प्रतिशत, तीन महिनामा उत्पादन परीक्षण


म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ। सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजनाको बिजुली केन्द्रीय ग्रिडमा जोड्ने स्वीचयार्ड निर्माणमा जुटेको छ।

GBIME
Tata

आयोजना व्यवस्थापक राज विष्टले अबको तीन महिना (मार्च)मा परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण भएका संरचनालाई पूर्णताः दिन लागिएको जानकारी दिए। ‘सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका कामलाई बिट मार्दै लगिएको छ,’ उनले भने, ‘२० मेगावाटको टर्बाइन जडान गरेर ड्राइ टेस्टिङ गर्न तयार पारेका छौं। मार्च महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित ठेकेदार परिचालन भएको छ।’

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ मा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। आयोजना निर्माणमा ढिलाइ हुँदा २०२५ नोभेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौथो पटक मार्च महिनासम्मका लागि म्याद थप भएको छ।

रघुगंगा गाउँपालिका-४ दग्नाम र वडा ५ झिँको फेदीमा बाँध, ६२७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ। कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौताको म्याद यही डिसेम्बर ३१ मा सकिँदैछ। भेलले अधिकांश उपकरण आयात सकेर जडानको काम गरिरहेको छ।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारूपमा राहुघाट जलविद्युत आयोजना निर्माण भइरहेको हो।

२०७२ मा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोडिने छ। चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ। रासस