BIZMANDU
www.bizmandu.com

गोल्यान समूह ७ अर्बको लगानीमा सोलार आयोजना बनाउँदै, १८ महिनाभित्र बत्ति बाल्ने लक्ष्य

२०८२ पुष ३

गोल्यान समूह ७ अर्बको लगानीमा सोलार आयोजना बनाउँदै, १८ महिनाभित्र बत्ति बाल्ने लक्ष्य
गोल्यान समूह ७ अर्बको लगानीमा सोलार आयोजना बनाउँदै, १८ महिनाभित्र बत्ति बाल्ने लक्ष्य


काठमाडौं । नविकरणीय ऊर्जामा लगानी विस्तार गर्दै आएको पारिवारिक व्यवसायिक घराना ‘गोल्यान ग्रुप’ले विभिन्न पाँच ठाउँमा १०० मेगावाटको सोलार आयोजना बनाउने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

उत्पादनमुलक उद्योग, कृषि, रियल स्टेट, हस्पिटालिटी क्षेत्रसहित जलविद्युत क्षेत्रमा लगानी गर्दै आएको यस ग्रुपले सोलार आयोजनामा पनि लगानी विस्तार गरिरहेको हो।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले हिउँदको समयमा हुने ऊर्जा संकटलाई पूर्ति गर्न ८०० मेगावाट सोलार आयोजनाका लागि टेण्डर आह्वान गरेको थियो।

जसमा ९६० मेगावाटको सौर्य ऊर्जाका लागि प्राविधिक र आर्थिक रुपमा पास भएका ६३ कम्पनी प्राधिकरणले छनोट गरेको थियो। ६३ वटा कम्पनीमा गोल्यान समूहको ५ वटा कम्पनी छनोट भएका थिए।

प्राधिकरणबाट छनोट भएपछि सुरुमा विद्युत विकास विभागबाट सर्भे लाइसेन्स लिनुपर्ने हुन्छ। विभागबाट लाइसेन्स प्राप्त गरेपछि प्राधिकरणले विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था छ। गोल्यान समूहका सबै आयोजनाको पीपीए सम्पन्न भइसकेको छ।

प्राधिकरणबाट पीपीए भएसँगै सबै आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को काम गरिरहेको गोल्यान ग्रुपका इनर्जी सेक्टर प्रमुख प्रविन अर्यालले बताए। अर्यालकाअनुसार अहिले इआइए पनि अन्तिम चरणमा छ।

‘हामीले प्राधिकरणबाट पीपीए भएसँगै वातावरणीय प्रभाव मुल्यांकनको काम गरिरहेका छौं। त्यो करिब अन्तिम चरणमा छ। वन मन्त्रालयबाट इआइए स्वीकृत भएपछि आयोजना निर्माणका लागि अगाडि बढाउँछौं,’ उनले भने।

फेब्रुअरीसम्ममा इआइएको काम सम्पन्न गर्ने अर्याल बताउँछन्। वन मन्त्रालयबाट इआइए स्वीकृति भएपछि विभागमा जेनेरेस लाइसेन्सको लागि आवेदन दिनुपर्नेछ।

‘फेब्रुअरीभित्र इआइए सकाएर हामीले जेनेरेसन लाइसेन्सका लागि विभागमा आवेदन दिन्छौं,’ अर्यालले भने,‘जग्गा प्राप्ति काम पनि अगाडि बढ्छ।’

विभागबाट जेनेरेसन लाइसेन्स पाएपछि आयोजना निर्माणमा जानेछ। आयोजना निर्माणमा गएको ९ महिनाभित्र बत्ति बाल्ने गरि काम भइरहेको अर्याल बताउँछन्।

‘हामीले २ वर्षभित्र बत्ति बाल्ने गरि पीपीए गरेका छौं। करिब ६ महिना बितिसकेको छ,’ उनले भने, ‘ अबको १८ महिनाभित्र बत्ति बालिसक्छौं।’

अर्यालका अनुसार प्रति मेगावाट लागत ७ करोड रहेको छ। यस हिसाबले पाँच आयोजनाको १०० मेगावाट सोलार राख्दाको कुल लागत करिब ७ अर्ब रुपैयाँ लाग्नेछ।

कहाँ कहाँ राखिँदैछ सोलार आयोजना?

गोल्यान समूहले गोल्यान पावर- पियोर इनर्जी जेभीको सोलार आयोजना निर्माण गर्दैछ। जसअन्तर्गत सबैभन्दा धेरै नेपालगंजमा ३० मेगावाटको सोलार आयोजना निर्माण गरिनेछ।

त्यस्तै, बर्दियामा २५ मेगावाट, कैलालीको धनगढीमा १५ मेगावाट, नवलपरासीमा १५ मेगावाट र परारीमा १५ मेगावाट सोलार आयोजना राखिनेछ।

विद्युत प्राधिकरणले यी आयोजनाबाट उत्पादित सौर्य ऊर्जा खरिद गर्नेछ। प्राधिकरणसँग भएको सम्झौताअनुसार बाँकेको नेपालगंजमा ३० मेगावाट र धनगढीको १५ मेगावाट ५.३८ रुपैयाँ, बर्दियाको भुरीगाउँको २५ मेगावाट र नवलपरासीको न्यु बुटवलमा १५ मेगावाट, ५.४२ रुपैयाँ र परासीको परासीमा १४ मेगावाट ५.५१ रुपैयाँ खरिद गर्नेछ।