BIZMANDU
www.bizmandu.com

कोडफेस्ट २०२५ को ग्रान्ड फिनालेमा १० टोली छनोट

२०८२ पुष ३

कोडफेस्ट २०२५ को ग्रान्ड फिनालेमा १० टोली छनोट
कोडफेस्ट २०२५ को ग्रान्ड फिनालेमा १० टोली छनोट

काठमाडौं । कोडफेस्ट २०२५ को ग्रान्ड फिनाले काठमाडौंको आइमस कलेजमा तीन दिन हुने भएको छ। कोड फर चेन्जले आयोजना गरेको कोडफेस्ट २०२५ को ग्रान्ड फिनाले डिसेम्बर १९, २० र २१ गते हुने आयोजकले जानकारी दिएको हो।

Tata
GBIME
Nepal Life

नेपालका सातै प्रदेशमा प्रादेशिक चरणको कोडफेस्ट सम्पन्न गरेसँगै सात प्रदेशबाट ग्रान्ड फिनालेको लागि १० टोली छनोट भएको आयोजकले बताएको छ। ग्रान्ड फिनालेको पहिलो दुई दिन अर्थात् डिसेम्बर १९ र २० को कार्यक्रम आइआइएमएस कलेजमा संचालन हुनेछ भने २१ गते फाइनलिस्टहरुलाई पुरस्कार राष्ट्रिय नाचघरबाट प्रदान गरिने छ।

कोडफेस्ट २०२५ प्रादेशिक र राष्ट्रिय गरि दुई चरणमा आयोजना गरिएको थियो। जसमा प्लस टु देखि स्नातक तहसम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रादेशिक चरणमा सहभागी टिमहरूले पारदर्शी शासन, ओपन इनोभेसन, दिगो विकास लक्ष्य , लचिलो समुदाय, स्मार्ट कृषि तथा एआई आधारित ई-गभर्नेन्स जस्ता विविध विषयमा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतिस्पर्धाबाट छनोट भई १० वटा टिम राष्ट्रिय फिनालेमा प्रतिस्पर्धा गर्न पुगेका थिए।

फिनालेमा कानून एआई-काठमाडौं मोडल कलेज (बागमती प्रदेश–काठमाडौं), प्रोफिट.एक्सई- ख्वपाः इन्जिनियरिङ कलेज (बागमती प्रदेश–काठमाडौं), टिम क्ल्यारिटी-समृद्धि कलेज (बागमती प्रदेश–काठमाडौं),टिम ट्रिक्स-स्काइराइडर कलेज (बागमती प्रदेश–चितवन),टिम नासेन्ट-स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालय (गण्डकी प्रदेश) छन्।

त्यस्तै, टिम केएमसी-कैलाली मल्टिपल क्याम्पस (सुदूरपश्चिम प्रदेश),टिम एलसीसी- लुम्बिनी सिटी कलेज, रुपन्देही (लुम्बिनी प्रदेश),एएमसी ग्यालेक्सन-अम्बिकेश्वरी क्याम्पस, दाङ (लुम्बिनी प्रदेश), टिम टेक टाइटन्स-ठाकुरराम मल्टिपल क्याम्पस, वीरगञ्ज (मधेश प्रदेश) र टिम जिरोथ-इटहरी नमुना कलेज (कोशी प्रदेश) पनि छन्।

तीनदिने ग्रान्ड फिनालेमा प्रतिस्पर्धात्मक चरणहरू, प्राविधिक चुनौती, नवप्रवर्तन प्रदर्शनी तथा प्रत्यक्ष परियोजना प्रस्तुतीकरण समावेश गरिनेछ। साथै, कार्यक्रममा उद्योग क्षेत्रका विज्ञ तथा लगानीकर्ताहरूले सम्भावनायुक्त परियोजनाहरूलाई सहकार्य र लगानीको अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

यसैबीच, पिपल्स च्वाइस अवार्डका लागि सार्वजनिक भोटिङ २१ तारिकसम्म गर्न मिल्ने आयोजकले जनाएको छ। उक्त अवार्ड अन्तर्गत विजयी टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। कोड फर चेन्जका अनुसार कोडफेस्ट २०२५ ले नवप्रवर्तन प्रवर्धन, प्रविधिगत विकास र युवाको सक्रिय सहभागितामार्फत नेपालको तीव्र रूपमा विकसित हुँदै गएको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।