काठमाडौं। भारतीय बजारमा टाटा मोटर्सले ल्याएको टाटा सियरा एसयुभीले एकैदिन पाएको बुकिङले तरंग उत्पन्न गरेको छ। बजार विद्युतीयतर्फ आकर्षित भइरहेका बेला डिजल/पेट्रोल इन्जिको यो नयाँ एसयुभीले ७० हजार बुकिङ पाएको छ।
कम्पनीले गत मंगलबार अर्थात् डिसेम्बर १६ देखि बुकिङ लिन सुरु गरेको थियो। उक्त दिन नयाँ गाडी सियराले ७० हजार युनिट बुकिङ पाएको जनाइएको छ।
बुकिङको लागि कम्पनीले भारु २५ हजार रुपैयाँ ‘टोकन मनी’का रुपमा लिएको छ। उक्त दिन १ लाख ३५ हजार जना ग्राहकले इच्छा देखाएका थिए। त्यसमा ७० हजार जनाले टोकन मनी दिएर बुकिङ गरेका हुन्।
यो गाडी डिजल र पेट्रोल इन्जिन भेटियन्टमा उपलब्ध हुँदैछ। भारतमा ५० प्रतिशत बुकिङ डिजल भेरियन्टको मोडलका लागि भएको छ। सियराको मूल्य भारु ११.४९ देखि २१.२९ लाख रुपैयाँसम्म तोकिएको छ। यसको डेलिभरी आगामी जनवरी १५ देखि सुरु हुने कम्पनीले जनाएको छ।
सियरा एसयुभीले भारतीय बजारमा मिड-साइज एसयुभी सेगमेन्टमा कडा प्रतिस्पर्धा गर्ने अपेक्षा टाटाको छ, जहाँ हुन्डाइको क्रेटा र कियाको सेल्टस अग्र स्थानमा छन्।