BIZMANDU
www.bizmandu.com

‘ट्रान्स फ्याट’को बढ्दो जोखिम : हाम्रो स्वास्थ्य समस्या बढाउन दैनिक खानेकुरामै लुकेको तत्व

२०८२ पुष ३

‘ट्रान्स फ्याट’को बढ्दो जोखिम : हाम्रो स्वास्थ्य समस्या बढाउन दैनिक खानेकुरामै लुकेको तत्व
‘ट्रान्स फ्याट’को बढ्दो जोखिम : हाम्रो स्वास्थ्य समस्या बढाउन दैनिक खानेकुरामै लुकेको तत्व


ट्रान्स फ्याट भन्ने शब्द धेरै नेपालीको कानमा कम मात्रामा परेको छ। यसको प्रभाव हाम्रो स्वास्थ्यमा अत्यन्तै गम्भीर हुन्छ। सामान्यतया यो शब्द अंग्रेजी भाषामा प्रचलित छ र वैज्ञानिक तथा स्वास्थ्य क्षेत्रमा मात्र बढी प्रयोग हुन्छ। यद्यपि यसको हानिकारकता अत्यन्तै उच्च भएकाले दैनिक जीवनमा हाम्रो खानासँग सीधै सम्बन्धित विषय हो। ट्रान्स फ्याटलाई साधारण भाषा मा भन्नुपर्दा – शरीरलाई नचाहिने, रोग निम्त्याउने खालको अत्यन्तै खराब बोसो हो।

Tata
GBIME
Nepal Life

यसले शरीरका रक्तनलीमा जमेर हृदयसँग सम्बन्धित रोगहरू, मधुमेह, स्ट्रोक, मोटोपना र दीर्घकालीन नसर्ने रोगहरू निम्त्याउने प्रमुख कारण हो। ट्रान्स फ्याट दुई किसिमको हुन्छ। पहिलो प्राकृतिक, जुन गाई, बाख्रा आदिका मासु र दुग्धजन्य पदार्थमा सानो मात्रामा पाइन्छ। यसले अत्यधिक हानि गर्दैन भनेर वैज्ञानिकहरूले उल्लेख गरेका छन्। दोस्रो चाहिँ औद्योगिक ट्रान्स फ्याट हो, जुन प्रशोधित तेलहरूलाई कडा, गाढा वा टिकाउ बनाउन हाइड्रोजिनेसन नामक प्रक्रियाबाट तयार गरिन्छ। यही औद्योगिक ट्रान्स फ्याट आजका धेरै खाद्यवस्तुहरूमा लुकेर स्वास्थ्य संकट निम्त्याइरहेको छ।

पफ, क्रसियान्ट, बिस्कुट, कुकिज, पेस्ट्री, तारेका खाजा, गहिरो तेलमा पकाइने सडक खानेकुरा, मार्जिन, सर्टनिङ र धेरै दिन–महिना टिक्ने गरी पैक गरिएका खाद्यवस्तुहरू प्रायः औद्योगिक ट्रान्स फ्याटका प्रमुख स्रोत हुन्।

हाम्रो शरीरले ट्रान्स फ्याट पचाउन सक्दैन। यो रक्तनलीमा बिस्तारै जम्दै जान्छ र खराब कोलेस्ट्रोल (एलडीएल) बढाउँछ भने राम्रो कोलेस्ट्रोल (एचडीएल) घटाउँछ। यसैका कारण मुटुमा अतिरिक्त दबाब पर्छ, रक्तनली साँघुरिन्छ र अन्ततः मुटुरोग तथा स्ट्रोकको जोखिम उच्च हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक क्यालोरीको एक प्रतिशतभन्दा कम ट्रान्स फ्याट सेवन गर्नु सुरक्षित मानिन्छ।

सामान्यतया २ हजार क्यालोरीको आहारमा करिब दुई ग्रामभन्दा कम ट्रान्स फ्याट सेवन उपयुक्त हुन्छ। यस मात्रा भन्दा बढी ट्रान्स फ्याट लामो समयसम्म सेवन गर्दा मुटु र मस्तिष्कसम्बन्धी रोगको जोखिम दोब्बर वा तेब्बर हुन्छ।

नेपालले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार खाद्यवस्तुमा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने नियम लागू गरिसकेको छ। बजारमा पाइने प्रशोधित खाद्यवस्तु सुरक्षित बनाउन सरकारले कडाइका साथ अनुगमन गरिरहेको छ। यिनै निरीक्षण र परीक्षण प्रक्रियामा हालै दुई बेकरीजन्य उत्पादनमा ट्रान्स फ्याट अनुमत सीमा भन्दा बढी फेला पर्‍यो।

नाङ्लो बेकरीद्वारा उत्पादन भएको क्रसियान्ट र खजुरीको कम्पनीको पफमा सोभन्दा बढी ट्रान्स फ्याट भेटिँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्कालै ती उत्पादनका सबै ब्याच बजारबाट फिर्ता गर्न आदेश जारी गर्‍यो। यो आदेश खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको हो।

यस कदमलाई खाद्य स्वच्छता क्षेत्रको दृढ पहलकदमीका रूपमा लिन सकिन्छ, किनकि विभागले अनियमितता भेटिएलगत्तै सार्वजनिक सूचना जारी गर्‍यो, उपभोक्तालाई सचेत गरायो र कम्पनीलाई सुधारका लागि बाध्य बनायो। सम्बद्ध दुवै कम्पनीले विभागको आदेश तुरुन्तै पालना गर्दै बजारबाट उत्पादन फिर्ता ल्याए। साथै, उपभोक्तालाई सार्वजनिक रूपमा क्षमा माग्दै भविष्यमा यस्ता त्रुटि नदोहोर्‍याउने आश्वासन पनि दिए। यस्तो पारदर्शिता उत्पादक कम्पनीको उत्तरदायित्वलाई मजबुत बनाउने काम हो।

यद्यपि, सामाजिक सञ्जालमा यो विषय अत्यन्तै चर्चित बन्न सजिलो थियो। कोही–कोही उपभोक्ताले तथ्यका आधारमा ट्रान्स फ्याटबारे सही जानकारी सेयर गर्दा, कतिपयले यसलाई अतिरञ्जित रूपमा प्रस्तुत गरी उपभोक्तालाई डर देखाउने प्रयास गरे। केही पोस्टमा ट्रान्स फ्याट पाइएको दुई उत्पादनबाटै सबै प्रकारका बेकरी सामग्री हानिकारक ठहरिएको भ्रामक दाबी पनि पाइयो।

वास्तवमा समस्या दुई उत्पादनमा मात्र भेटिएको हो, र सोही ब्याचका उत्पादन मात्र फिर्ता गरिएका हुन्। यस कारणले बजारका अन्य सबै खाद्यवस्तु सुरक्षित छैनन् भन्ने निष्कर्ष निकाल्नु सही होइन। विभागले हरेक उत्पादनबाट नमूना संकलन गर्छ, परीक्षण गर्छ र मापदण्ड नपुगेका उत्पादन मात्रै फिर्ता गराउने गर्दछ। यसको उद्देश्य उपभोक्ता सुरक्षा हो, डर फैलाउने होइन।

ट्रान्स फ्याटको जोखिम बुझ्नका लागि अत्यन्तै सरल सत्य याद राखे पुग्छ– जति बढी प्रशोधित, धेरै दिन टिक्ने र धेरै तेलमा पकाइने खाना, त्यति धेरै ट्रान्स फ्याट हुने सम्भावना। त्यसैले घरमै पकाइएको ताजा खाना, फलफूल, तरकारी, सम्पूर्ण अन्नजस्ता प्राकृतिक वस्तु बढी खानुले जोखिम धेरै घटाउन मद्दत गर्छ।

उपभोक्ताले प्याकिङ गरिएका खाद्यवस्तु किन्दा लेबल अनिवार्य रूपमा जाँच गर्नुपर्छ। लेबलमा आंशिक रूपमा हाइड्रोजिनेटेड तेल प्रयोग भएको छ भने कि सो उत्पादनमा ट्रान्स फ्याट रहेको छ भन्ने बुझ्नुपर्छ। त्यस्तो उत्पादन नकिन्नु नै उत्तम उपाय हो। यसका साथै, बारम्बार एउटै तेलमा तारेका सामग्रीहरू जस्तै पकौडा, समोसा, तारेका चाउचाउ, फ्राइड मिठाई आदि धेरै मात्रामा सेवन गर्नुहुँदैन।

स्वस्थ जीवन बाँच्नका लागि कडा नियम पालना गर्नुपर्दैन। थोरै सजगता, थोरै बानी सुधार र थोरै अनुशासनले नै धेरै रोगबाट बच्छ। हामीले साधारण केही अभ्यास मात्र गरे पुग्छ :

  • तारेका खाद्यवस्तु बारम्बार र अधिक नखाने
  • धेरै समय टिक्ने प्रशोधित खाद्यवस्तुको सेवन कम गर्ने
  • सम्भव भएसम्म घरमै पकाएको खाना खाने
  • तोरी, सूर्यमुखी वा जैतुन तेलजस्तै तुलनात्मक रूपमा स्वस्थ तेल प्रयोग गर्ने
  • लेबल जाँच्ने र ट्रान्स फ्याट, हाइड्रोजिनेटेड तेल वा पीएचओ भएको उत्पादनबाट टाढा बस्ने

नेपालमा ट्रान्स फ्याटका लागि मापदण्ड लागू भएपछि उपभोक्ताले पाएका धेरै खाद्यवस्तुहरू सुरक्षित दायराभित्र छन्। सरकारी निरीक्षण र परीक्षणले बजारलाई क्रमशः सुरक्षित बनाइरहेको छ। अझ उपभोक्ताहरूले सचेत भएर उत्पादन छान्न थालेपछि बजारमा गुणस्तरिय उत्पादनको माग बढ्नेछ र खराब वस्तु स्वतः हट्दै जानेछन्।

अन्ततः, ट्रान्स फ्याट स्वास्थ्यका लागि कडा जोखिम बोकेको विषय भए पनि सजगता, सन्तुलित आहार र सरकारी नियमनको प्रभावकारी कार्यान्वयनले यसलाई नियन्त्रण गर्न सकिन्छ। आफू र परिवारलाई सुरक्षित राख्ने सबैभन्दा सरल उपाय भनेको– खाना जति प्राकृतिक, त्यति सुरक्षित भन्ने बुझेर खानाको छनोट गर्नु हो। यदि जनस्तरमा यति मात्र बोध भयो भने ट्रान्स फ्याटले निम्त्याउने मुटुरोग, स्ट्रोक, मधुमेहजस्ता जटिल रोगबाट धेरैले आफैंलाई जोगाउन सक्नेछन्।