काठमाडौं । पोखराको लेकसाइड क्षेत्रमा २७ औं पोखरा सडक महोत्सव हुने भएको छ। बुधबार एक कार्यक्रम गर्दै रेष्टुरेन्ट एन्ड बार एशोसिएसन (रेवन) ले यही पुस १३ देखि १७ गतेसम्म २७औं संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने जानकारी दिएको हो।
एक करोड खर्च गरिने उक्त महोत्सवमा आयोजकको नारा ´सडक मै खाउ, सडक मै नाचौं, सडक मै रमाउँ` छ। महोत्सव लेकसाइडको करिब ३.५ किलोमिटर क्षेत्रमा महोत्सव संचालन गरिने जानकारी दिएको छ।
रेवान पोखराका संयोजक वसन्त गौतमले महोत्सवले खाना, संस्कृति र सङ्गीतको प्रवर्धनका साथै पोखराको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
´हाल यो महोत्सव पोखराको पहिचान र पर्यटन प्रवर्धनका क्षेत्रमा ब्रान्डका रूपमा अघि बढिरहेको छ,’ उनले भने।
उनले प्रत्येक संकटपछि सुस्ताएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न तथा ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्दै आएको पनि बताए।
महोत्सवका प्रमुख आकर्षणमा नेपालका विभिन्न जातजातिका सांस्कृतिक झाँकी र नृत्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारसहितका खानाको फुड फेस्टिभल (खाना महोत्सव), ख्यातिप्राप्त कलाकारद्वारा कला प्रस्तुत, लोकदोहोरी, फेवातालमा ‘बोट रेस’, ‘वेटर रेस’, रस्साकस्सी, पर्यटनसम्बन्धी ‘टक सो’, वृत्तचित्र तथा फोटो प्रदर्शनी रहेका संयोजक गौतमले जानकारी दिए।
आयोजकले महोत्सवमा ड्रोनबाट सुरक्षा दिन प्रहरीसँग सहकार्य गरेका बताएको छ। साथै, भव्यतव्य भएमा भोलिनटियरको व्यवस्था सँगै हरेक नाकामा एम्बुलेन्स र सुरक्षा निकाय खटाउने आयोजकको भनाइ छ।