BIZMANDU
www.bizmandu.com

चाँदीको मूल्यमा कीर्तिमान, पुग्यो तोलाको ४ हजार ५५ रुपैयाँ, सुन पनि बढ्यो

२०८२ पुष २

चाँदीको मूल्यमा कीर्तिमान, पुग्यो तोलाको ४ हजार ५५ रुपैयाँ, सुन पनि बढ्यो
चाँदीको मूल्यमा कीर्तिमान, पुग्यो तोलाको ४ हजार ५५ रुपैयाँ, सुन पनि बढ्यो

काठमाडौं। सुनको मूल्य लगातार उच्च भएसँगै यसपटक चाँदीको मूल्यमा पनि फराकिलो अन्तरको बढोत्तरी छ। बुधबार चाँदी तोलाको ४ हजार ५५ रुपैयाँ पुगेको छ भने सुन प्रति तोला २ लाख ५९ हजार ७ सय रुपैयाँ भएको छ।

Tata
GBIME
Nepal Life

मंगलबारका तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो भने चाँदी १ सय ७० रुपैयाँ महँगिएको हो। सुनको भाउ गत आइतबार २ लाख ५८ हजार ८ सय रुपैयाँ थियो, १ हजार ९ सय रुपैयाँ बढेर सोमबार  प्रति तोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो। १ हजार ७ सय रुपैयाँ घटेर मंगलबार कारोबार मूल्य २ लाख ५९ हजार रुपैयाँ भएको थियो। साताको चौथो दिन उक्त मूल्यमा ७ सय रुपैयाँको बढोत्तरी भएको हो।

चाँदीको कारोबार मूल्यमा अस्वाभाविक बढोत्तरी छ। सामान्यतः बिगतमा सुन जसरी नबढेको चाँदीको कारोबार मूल्य यसपटक क्रमिक उच्च हुँदै बढोत्तरीमा कीर्तिमान बनाइरहेको छ। मंलबार तोलाको ३ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा बुधबार बढेर ४ हजार ५५ रुपैयाँ पुगेको छ।

गत मंसिरको प्रारम्भमा चाँदी तोलाको ३ हजार १ सय ५५ रुपैयाँ थियो। मंसिरमा मात्रै तोलामा ७ सय १५ बढेकोमा पुस लागेयताका दुई दिनमै १ सय ८५ रुपैयाँ बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४३३६ डलर पुगेको छ भने चाँदी प्रति औंस ६६.४२ डलरले कारोबार भइरहेको छ। सुन एक दिनमा प्रति औंस ३६.५२ डलर महँगिएको छ भने चाँदीको मूल्यमा २.९९ डलरको बढोत्तरी छ। एक महिनामा सुनको भाउ प्रति औंस २३६.२३ डलर बढ्दा चाँदी पनि १२.७२ डलरले बलियो भएको तथ्यांक छ।

बजार विश्लेषकहरुका अनुसार विश्वव्यापी अनिश्चितता र जोखिम बढ्दा लगानीकर्ताले डलर र सुन दुवै सुरक्षित सम्पत्ति मानेर खरिद बढाएका छन्। अमेरिकी ब्याजदर भविष्यमा घट्न सक्छ भन्ने अपेक्षाले सुनतर्फ दीर्घकालीन लगानी बढेको छ, चाहे डलर हाल बलियो नै किन नहोस्। केन्द्रीय बैंकहरूको आक्रामक सुन खरिदले मूल्य माथि धकेलेको छ। चाँदीमा औद्योगिक माग (सौर्य ऊर्जा, इभी) बढ्दा मूल्यमा चाप परेको छ।