काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि अब भोलि (बुधबार) मात्रै मतदान हुने भएको छ।
आज दिउँसो १२ बजेदेखि मतदान सुरु हुने भनिएकोमा प्राविधिक कठिनाइका कारण समय सार्दै लगिएको थियो। राति ८ बजेबाट मतदान हुने भनिएकोमा अन्तिम समयमा मतदान भोलिको लागि स्थगित गरिएको हो।
‘निवर्तमान पदाधिकारीको उपस्थितिमा नेताहरुको छलफलपछि अहिले रातिको समय पनि भइसकेको, प्रतिनिधिको बसाई पनि टाढा भएको र प्राविधिक रूपमा पनि तयारी पूरा नभएकोले भोलि बिहान ८ बजे मात्रै मतदान हुने भयो,’ एमाले नेता शंकर पोखरेलले भने।

एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न लागेको हो। महाधिवेशनमा २२ सय ६२ जना मतदाता छन्। उनीहरुले एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र ९ सचिव तथा ३०१ केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन्।
मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि भृकुटीमण्डपमा थिए। अध्यक्षमा लडिरहेका इश्वर पोखरेल र केपी शर्मा ओली पनि मतदान केन्द्र पुगिसकेका थिए। चिसोमा पनि उनीहरु लाइनमा बसेर मतदान गर्ने समय कुरिरहेका थिए। तर, अहिले मतदान सारिँदा उनीहरु आफूहरु बसेको स्थानतर्फ जान थालेका छन्।





