काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले सर्वोत्कृष्ट करदातालाई सम्मान गरेको छ।
राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सरकारबाट सम्मानित करदातालाई सीएनआईले मंगलबार एक समारोहबीच सम्मान
गरेको हो। सरकारले संस्था र व्यक्ति गरी १६ लाई सम्मान गरेको थियो। सीएनआईले ती सबैलाई सम्मान गरेको हो।
वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल, विशेष उद्योगमध्ये युनिलिभर नेपाल, पर्यटन व्यवसाय मध्ये सोल्टी होटेल, वस्तु व्यापारको कारोबार गर्नेमध्ये भाटभटेनी सुपर मार्केट र ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी सम्मानित भएका छन्।
यस्तै कृषि एवम् पशुपंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म, सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमध्ये भेरिस्क नेपाल, एकलौटी फर्ममध्ये थर्ड आई इन्टरनेसनल, बैंक वित्तीय संस्था र बीमा कारोबार गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये नोबल मेडिकल कलेज सम्मानित भएका छन्।
यसैगरी रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये आईएमई र निकायमध्ये नेपाल दूरसंचार प्राधिकरणलाई सीएनआईले सम्मान गरेको छ।
वार्षिक ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमध्ये सीडीएस एण्ड क्लियरिङ, ५० करोडसम्म कारोबार गर्नेमध्ये भीएफ सर्भिसेज र व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह सम्मानित भएका छन्। शाह सीएनआईका उपाध्यक्ष हुन्।
२०७६ साउनदेखि २०८२ असार मसान्तसम्म समयमै कर तिर्नेमध्ये सबैभन्दा बढी भ्याट बुझाएबापत नेपाल दूरसंचार कम्पनी सम्मानिसत भएको छ।
सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदातालाई सम्मान गरे। उनले सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान समेत भएको बताए।