BIZMANDU
www.bizmandu.com

केकेआरको ठूलो दाउ, क्यामरुन ग्रीन २५.२० करोडका साथ आईपीएलकै महँगो विदेशी खेलाडी

२०८२ पुष १

केकेआरको ठूलो दाउ, क्यामरुन ग्रीन २५.२० करोडका साथ आईपीएलकै महँगो विदेशी खेलाडी
केकेआरको ठूलो दाउ, क्यामरुन ग्रीन २५.२० करोडका साथ आईपीएलकै महँगो विदेशी खेलाडी

क्यामरुन ग्रीन आईपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन्। कोलकाता नाइट राइडर्स (केकेआर) ले उनलाई टिमका लागि २५ करोड २० लाख भारुमा खरिद गरेको छ।

Tata
GBIME
Nepal Life

ग्रीनमाथि लागेको बोली अक्सनको आकर्षण बनेको छ। अष्ट्रेलियाली अलराउन्डर ग्रीनका लागि केकेआर, चेन्नाइ सुपर किङ्स र राजस्थान रोयल्सबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। अन्ततः केकेआरले आक्रामक बोली लगाउँदै उनलाई आफ्नो टिममा भित्र्याएको छ।

क्यामरुन ग्रीन अष्ट्रेलियाका राइट ह्यान्डस् ब्याट्सम्यान तथा तीव्र गतिका अलराउन्डर हुन्। उनी माथिल्लो क्रममै आक्रामक ब्याटिङ गर्न सक्ने, उपयोगी मध्यम तीव्र गतिका बलर र उत्कृष्ट फिल्डरका रूपमा चिनिन्छन्। आईपीएलमा पहिले पनि उनले निरन्तर प्रदर्शन गर्दै राम्रो प्रभाव राखेका छन्। बहुआयामिक क्षमताका कारण सीमित ओभरको क्रिकेटमा उनी ‘गेम चेन्जर’ मानिन्छन्, जसकै कारण फ्रेन्चाइजीहरू उनलाई जसरी पनि टिममा भित्र्याउन चाहन्थे।

ग्रीनमा अत्यधिक रकम खर्चिँदा अक्सनको समग्र समीकरणमा असर परेको देखियो। केही टिमहरूको पर्स ठूलो रकमले खाली भएपछि मध्यम स्तरका खेलाडीहरू अपेक्षाकृत कम मूल्यमा बिके। अर्कोतर्फ, केही चर्चित नामहरू अपेक्षित मूल्य नपाउँदै अनसोल्ड हुनु पनि यही कारणसँग जोडिएको छ। महँगो खरिदले टिमहरूलाई बाँकी स्क्वाड सन्तुलन मिलाउन सतर्क बनाएको देखिन्छ।

आईपीएल-२०२६ को अक्सन अबुधाबीमा भइरहेको हो। अक्सनमा अन्य ठूला खरिदहरू पनि भए। दिल्ली क्यापिटल्सले अनुभवी फिनिसर डेभिड मिलरलाई करिब २ करोडमा भित्र्यायो भने रोयल च्यालेन्जर्स बेंगलुरुले वेंकटेश अय्यरका लागि करिब ७ करोड खर्चियो। मुम्बई इन्डियन्स, चेन्नइ सुपर किङ्स र लखनउ सुपर जायन्ट्सले पनि रणनीतिक रूपमा युवा र विदेशी खेलाडीमा लगानी गरेका छन्।

आईपीएल २०२६ को सिजन आगामी वर्षको मार्च अन्त्यतिर सुरु हुने अपेक्षा छ। केकेआरले ग्रीनलाई केन्द्रमा राखेर ब्याटिङ र बलिङ दुवैमा सन्तुलित टिम सेटअप बनाउने संकेत दिएको छ।

अघिल्लो आईपीएलमा भने सर्वाधिक महँगो खेलाडी ऋषभ पन्त थिए, जसका लागि टोलीले २७ करोड भारतीय रुपैयाँ बराबरको बोली लगाएको थियो। यसपटक ग्रीनको कीर्तिमानी खरिदले आईपीएल अक्सनलाई अझ ऐतिहासिक बनाएको छ।