BIZMANDU
www.bizmandu.com

साढे ४ करोड ऋणको ब्याज उठाउन जाँदा कुटपिट, सुरुमा जाहेरी नलिइ प्रहरीबाट मिलापत्रको दबाब

२०८२ मंसिर २९

साढे ४ करोड ऋणको ब्याज उठाउन जाँदा कुटपिट, सुरुमा जाहेरी नलिइ प्रहरीबाट मिलापत्रको दबाब
साढे ४ करोड ऋणको ब्याज उठाउन जाँदा कुटपिट, सुरुमा जाहेरी नलिइ प्रहरीबाट मिलापत्रको दबाब

काठमाडौं। ‘हिजो मात्रै एनआइसी एसियाले लिलाम गरेको १७ वटा घर साथीहरुले फोरेर मान्छे छिराइदिए। बुटवलमा, अब छिर्छन्। मान्छे बचाउनु छ अब।’

Tata
GBIME
Nepal Life

केही समय अगाडि विवादास्पद व्यापारी दुर्गा प्रसाइँले सार्वजनिक रुपमा नै अराजकता भड्काउने गरी दिएको अभिव्यक्ति हो यो। २० लाखभन्दा कम ऋण भएकाहरुको सम्पति बैंकले जफत गरेमा जाइलाग्ने खालको अभिव्यक्ति प्रसाइँले दिएका थिए।

प्रसाइँका यस्ता अभिव्यक्तिले अहिले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीमाथि ‘थ्रेट’ बढेको छ। सर्लाहीमा बैंकका कर्मचारीमाथि दूर्व्यवहार भएको घटना बाहिरिएको छ।

सप्तरीको सप्तकोशी नगरपालिका-७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिमा ऋणको विषयमा बुझ्न पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि दूर्व्यवहार भएको हो। उनलाई कालोमोसो दलेर कुटपिट समेत गरिएको छ।

बैंकका कर्मचारीलाई एक महिलाले कालोमोसोपछि कुटपिट गरेकी थिइन्। कर्मचारीले हात जोड्दै छोड्नका लागि अनुनय गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला यस्ता घटनाले कर्मचारीलाई त्रसित बनाएको भन्दै अराजक गतिविधिमा संलग्नहरुलाई राज्यका निकायले तत्काल कारबाही गर्नुपर्ने बताउँछन्।

‘यो आपराधिक गतिविधि हो। यसले कर्मचारीको मनोबल घटाउने गर्छ। त्यसैले दोषीलाई तत्काल कारवाही गर्नुपर्छ,’ अध्यक्ष कोइरालाले भने।

यो घटनामा पीडित पक्षले प्रहरीमा जाहेरी समेत दिएको छ।

‘भिडियो नै बाहिर आएको छ। अनुसन्धान गरिरहेका छौं। हामीले बैंकसँग पनि समन्वय गरिरहेका छौं,’ इलाका प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले भने।

फर्मले कृषि कर्जा र व्यक्ति कर्जा गरेर ४ करोड ५० रुपैयाँ ऋण लिएको देखिन्छ।

‘करिब एक वर्षदेखि कर्जाको ब्याज आएको थिएन। त्यसैले बैंकका कर्मचारीहरु जाँदा ऋणीका आफन्तले योजनाबद्धरुपमा दूर्व्यवहार गरेको देखियो,’ ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालले भने।

बुधबार भएको कुटपिटको घटनामा सुरुमा प्रहरीले जाहेरी लिन मानेको थिएन। दुई पक्षलाई नै मिलापत्र गर्न भनिएको थियो। तर, कुटपिटको भिडियो बाहिरिपछि प्रहरीले बाध्य भएर जाहेरी लिएको हो। बैंकले पनि कानुनी व्यवसायीलाई पठाएर घटनाबारे अध्ययन गरिरहेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमणका घटना दोहोरिरहेका छन्। प्रसाइँका भड्काउपूर्ण अभिव्यक्ति बैंक तथा वित्तीय संस्थाका लागि ‘थ्रेट’ बन्दै गएको छ। यसअघि प्रसाइँको अभिव्यक्तिले एनआइसी एसिया बैंकको कारोबारमा समेत असर परेको थियो।

केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामाथि आक्रमण हुने खालका अभिव्यक्ति दिइरहेका प्रसाइँ भदौ २३ र २४ को घटनापछि झन् आक्रामक भएका छन्।

पाँच संस्थाले गरे दोषीलाई कारबाहीको माग

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै घट्नामा संलग्नलाई कारबाहीको माग गरेका छन्।

विज्ञप्तिमा सम्पूर्ण वचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले नियमित ऋण असुलीमा जाँदा भएको घट्नाको निन्दा गर्दै अराजक गतिविधि रोक्न सरकारसँग माग गरिएको छ।

 बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले पनि ऋणको विषयमा कुरा गर्न गएका कर्मचारीमाथिको दूर्व्यवहारलाई लज्जास्पद र घृणित कार्य भनेको छ।

‘ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीको जत्थाले कर्मचारीलाई नियोजितरुपमा घण्टौंसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सीबीफीन घोर भर्त्सना गर्दछ,’ सीबीफीनले सोमबार विज्ञप्ति निकालेर भनेको छ, ‘यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सीबीफीन कडा आपत्ति प्रकट गर्दछ।’

सीबीफीनले यसलाई बैंकिङ क्षेत्रमाथिकै आक्रमण भन्दै दोषीमाथि कारबाही गर्न र सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।