काठमाडौं। एसीसी यू-१९ एसिया कपमा नेपालले खराब सुरुवात गरेको छ। प्रतियोगिताको समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आफ्नो पहिलो खेलमै श्रीलङ्कासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाल २८.४ ओभरमा ८२ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्काले १४.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।
सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रन बनाउँदा साहिल पटेलले १२ तथा निरजकुमार यादवले १० रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।
नेपालको इनिङ्स कोल्याप्स गराउन श्रीलङ्काका सेठमिका सेनेभिरान्तेले सर्वाधिक ५ विकेट लिँदा रसिथ निमथरा, विग्नेश्वरन आकाश, दुलनिथ सिगेरा र छमिका हिनातिगालाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्काका लागि दिमन्था महाभिथनाले सर्वाधिक अविजित ३९ रन बनाउँदा कभिजा गामेजले अविजित २४ रन बनाए। बलिङतर्फ नेपालका दयानन्द मण्डलले १ विकेट लिए।
नेपालले अब सोमबार बंगलादेश र बुधबार अफगानिस्तानसँग खेल्नेछ।