म्याग्दी। १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाका लागि पहुँचमार्ग निर्माण सुरु भएको छ। म्याग्दी र गुर्जाखोलाको दोभानमा पहुँचमार्ग निर्माण शुभारम्भ धौलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीले गरेका हुन्।
दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ। आयोजना म्याग्दीको धौलागिरि–४ मा निर्माण हुँदैछ। प्रवर्धक कम्पनीका सम्पर्क अधिकृत राम केसीले विद्युतगृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिए।
‘पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ,’ उनले भने, ‘सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माणको पनि तयारी छ।’
अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युतगृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ। विद्युत् खरिदबिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ। बाँध र विद्युतगृहको हेड ३३७ मिटर हुनेछ।
यो आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रुपैयाँ हुने अनुमान गरिएको केसीले बताए। रन अफ द रिभर (नदी प्रवाह)मा आधारित आयोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणको डाँडाखेतमा निर्मित १३२ केभीएको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ।
दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने भएको छ। धौलागिरि-४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३.५ मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६.२५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए। रासस