काठमाडौं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र ब्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले एक वर्षका लागि लगानी गर्न लागिएकाले आगामी सोमबारभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका सर्त पूरा गरेको हुनुपर्नेछ।
त्यसैगरी केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको ब्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ।
सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड, ‘ख’ वर्गका विकास बैंकमा १५ करोड र वित्त कम्पनीमा पाँच करोड रुपैयाँ लगानी गर्न लागिएको हो। आइतबार मंसिर २८ सम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ।