सन् २०२५ मा विश्वको शीर्ष १० प्रतिशत आम्दानी गर्नेहरुले बाँकी ९० प्रतिशत भन्दा बढी अत्याधिक कमाउने गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएको अध्ययनपछि प्रकाशित विश्व असमानता रिपोर्ट २०२६ मा यस्तो तथ्य सार्वजनिक भएको हो।
रिपोर्टका अनुसार विश्वमा आम्दानी र सम्पत्तिमा असमानता अत्यधिक स्तरमा पुगेको छ। साथै ‘ट्रेन्ड’ धनी राष्ट्रहरू र विश्वका अति धनाढ्य व्यक्तिको नेतृत्व भएको क्षेत्रम देखिन्छ।
अध्ययन अनुसार सबैभन्दा धनी शीर्ष १० प्रतिशतले कूल सम्पत्तिको तीन–चौथाई (७५ प्रतिशत) ओगटेका छन्। जबकी विश्वको ‘बटम ५०’ सँग मुस्किलले २ प्रतिशत मात्र सम्पत्ति रहेको छ।
त्यस्तै, शीर्ष ०.००१ प्रतिशत मा पर्ने अति धनाढ्य व्यक्तिहरू (५६ हजारजना भन्दा कम) ले सम्पूर्ण मानिससँग भएको भन्दा तीन गुणा बढी सम्पत्ति नियन्त्रण गर्ने गरेको देखिएको छ।
सन् १९९० को दशकदेखि अरबपतिहरुको सम्पत्ति वार्षिक करिब ८ प्रतिशतको दरले बढेको देखिन्छ।
रिपोर्टले आम्दानी, सम्पत्ति, लैङ्गिक असमानता, जलवायु परिवर्तन र भू-राजनीतिक विभाजनसहित असमानताका धेरै आयामहरूलाई समेटेको छ।
रिपोर्टमा लैङ्गिक असमानताबारे विस्तृत तथ्य पेस गरिएको छ। श्रमको आधारमा आम्दानी वा घण्टाका आधारमा हुने आमदानीमा गहिरो विभेद देखिएको उल्लेख छ। विश्वभर महिलाहरूले कूल श्रम आम्दानीको एक चौथाईभन्दा थोरै मात्रै हिस्सा पाउने देखिएको छ।
बेतलबी श्रम समावेश गर्दा महिलाले पुरुषको तुलनामा प्रति काम घण्टामा ३२ प्रतिशत मात्र कमाउने गरिएको देखिएको छ।
त्यस्तै, जलवायु संकट निम्तिनुमा धनीहरूको ठूलो भूमिका रहेको पनि अध्ययनमा भनिएको छ। विश्वका सबैभन्दा धनी शीर्ष १० प्रतिशत व्यक्तिहरू निजी पुँजीको स्वामित्वसँग सम्बन्धित विश्वव्यापी उत्सर्जनको ७७ प्रतिशत का लागि जिम्मेवार रहेको रिपोर्टमा उल्लेख छ।
रिपोर्टले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीले असमानतालाई कसरी बलियो बनाउँछ भन्ने कुरामा पनि प्रकाश पारेको छ।
त्यस्तै, रिपोर्टमा असमानतालाई राजनीतिक छनौटको परिणामका रुपमा व्याख्या गरेर त्यसलाई घटाउन सकिन्छ भनिएको छ। रिपोर्टले असमानता घटाउन विभिन्न उपाय पनि सुझाएको छ।