काठमाडौं। यस वर्ष भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलमा पनि म्याच फिक्सिङको लागि ठूलो रकम अफर भएको खुलेको छ। भारतीय नागरिक समेतले जनकपुर बोल्ट्सका खेलाडीलाई ५ करोड रुपैयाँसम्म अफर गरेको खुलेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सट्टेबाजी आरोपमा भारत हरियाणाका २८ वर्षीय दिलप्रति सिंह र बर्दियाकी २४ वर्षीया रेविका सिंह ठकुरीलाई पक्राउ गरेको छ। उनीहरुमाथि अनुसन्धान भइरहँदा दुवैले खेलाडीलाई भेटेर नै रकम अफर गरेको खुलेको हो।
उनीहरूले काठमाडौंको लाजिम्पाटस्थित होटल दूषित थानीमा पुगेर खेलडीलाई रकम अफर गरेका थिए। सुरुमा ३ लाख रुपैयाँबाट गरेको अफर ५ करोडसम्म पुगेको पक्राउ गरेका सिंहले बयानमा बताएका हुन्। उनीहरूले खेलाडीलाई इन्स्टाग्राममा म्यासेज गरेपछि होटलसम्म पुग्नेका थिए। त्यसअघि उनीहरू खेल हेर्न कीर्तिपुर क्रिकेट मैदानमा समेत पुगेका थिए। त्यसपछि रेविकाले इन्स्टाग्राममा कुराकानी गरेकी थिइन्।
उनीहरूले भेटेर ‘रन आउट’को प्रस्ताव राखेका थिए। उनीहरूले जुनसुकै ओभरमा रन आउट हुँदा पनि हुने तर आफूलाई रन आउट हुने ओभरको संकेत गर्नुपर्ने बताएको खुलाएका छन्। यसरी रन आउटको जानकारी भएपछि त्यसलाई सट्टेबाजी गर्ने एपमार्फत सट्टेबाजी गराउने उनीहरूको योजना थियो।
‘रन आउट भयो भने तपाइँलाई हामीले सो रकम दिन्छु भनी भनेका हौं। हामीले भने अनुसार रन आउट भएको भए हामीले दिने रकम बराबरको रकम हामीले खेल्ने अनलाइन बेटिङ साइटमा रकम थापी आर्जन गर्ने सोच बनाई निज नेपाली खेलाडीलाई सो कुराको प्रस्ताव गरेका हौं। तर, पछि निजले हाम्रो कुरा अस्वीकार गरेको हुँदा हामीले सो सोचबाट पछि हटेका थियौँ,’ सिंहले प्रहरीसँगको बयानमा भनेका छन्।
त्यसपछि ती खेलाडीले नेपाली उक्त प्रस्ताव अस्वीकार गरेका थिए। त्यसपछि ती खेलाडीले प्रस्ताव अस्वीकार गरेका थिए। प्रहरीले ती खेलाडीसँग पनि कागज गरेको थियो। सिंह र ठकुरी मंसिर ३ गते पक्राउ परेका हुन्।
उनीहरुलाई एनपीएल-२ मा सहभागी खेलाडीहरुलाई स्पोन्सर गर्छौं भनि सामाजिक सञ्जालमा सम्पर्क गरि खेलको हार जीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउपछि बेटिङको तरिका र उनीहरुले केके गरिरहेका थिए भन्ने खुल्दैछ।