BIZMANDU
www.bizmandu.com

टीएनए इन्भेस्ट लिमिटेडमा तीन नयाँ संस्थागत लगानीकर्ताहरुको प्रवेश, कुन कुन भित्रिए?

२०८२ मंसिर २४

टीएनए इन्भेस्ट लिमिटेडमा तीन नयाँ संस्थागत लगानीकर्ताहरुको प्रवेश, कुन कुन भित्रिए?
टीएनए इन्भेस्ट लिमिटेडमा तीन नयाँ संस्थागत लगानीकर्ताहरुको प्रवेश, कुन कुन भित्रिए?


काठमाडौं । पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै टीएनए इन्भेस्ट लिमिटेड (टीएनए-आई) ले शिखर इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सलाई नयाँ संस्थागत सेयरधनीका रुपमा भित्र्याएको छ। यस साझेदारीले कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्यलाई थप बलियो बनाएको जनाइएको छ।

Tata
GBIME
Nepal Life

ट्रु नर्थ एसोसिएट्स (टीएनए) को लगानी कम्पनीका रुपमा स्थापित टीएनए-आईले नेपालको प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीई/भीसी) क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ। ‘पर्मानन्ट क्यापिटल भेहिकल’को अवधारणामा संचालित यस कम्पनीले विशेषगरि प्रविधिमैत्री र बजार रुपान्तरण गर्न सक्ने क्षमता भएका प्रारम्भिक तथा विस्तार चरणका उद्यमहरूमा लगानी केन्द्रित गरेको छ।

विगतका वर्षहरुमा टीएनए-आईले १० वटा व्यवसायमा लगानी गरि तीमध्ये ६ वटाबाट सफलतापूर्वक बाहिरिएर आफ्नो क्षमता पुष्टि गरेको कम्पनीले जनाएको छ। हाल यसको पोर्टफोलियोमा सजिलो सेवा, फुडमाण्डु, नेपाल वेयरहाउसिङ कम्पनी र काठमान्डु ल्यानको जस्ता विविध व्यवसायहरू रहेका छन्।

मातृ संस्था टीएनएले दीर्घकालीन सोच र नेतृत्व विकासमार्फत निजी क्षेत्रको लगानी वातावरण सुधार्न महत्त्वपूर्ण योगदान दिँदै आएको छ। टीएनए अन्तर्गतका संस्थाहरुले विभिन्न लगानी रणनीति र संरचनामार्फत फराकिलो दायरामा लगानीका आवश्यकताहरू पूरा गर्दै आएका छन्।

नयाँ संस्थागत पूँजी थपिएसँगै टीएनए-आईले नेपालमा देखिएका अवसरहरूलाई उपयोग गर्दै कृषि प्रसंस्करण, प्रविधि, ऊर्जा, पर्यटन तथा आतिथ्य र निर्माणजस्ता सम्भावनायुक्त क्षेत्रमा लगानी विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ।

साथै, आफ्नो कार्यसंचालन क्षमतालाई सुदृढ गर्दै टीएनए-आईले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीसमेत अघि बढाएको जनाइएको छ।