काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका नेता व्यवस्थापनका लागि विधान संशोधन गर्ने तयारी गरेका छन्। भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले १९ पदाधिकारीलाई १५ तथा ३०१ जनाको केन्द्रीय कमिटीलाई घटाएर २५१ बनाउने व्यवस्था गरेको भए पनि पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षी नेताहरूको व्यवस्थापन गर्न विधान संशोधन गर्न लागिएको ओली निकट नेताहरूले बताएका छन्।
मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको एघारौं महाधिवेशनमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले समूहगत रूपमा प्रतिस्पर्धाको तयारीमा छन्। महाधिवेशनमा आफ्ना समूहकै नेताको व्यवस्थापन गर्न कठिन हुन थालेपछि ओलीले विधान संशोधनलाई विकल्पका रूपमा अघि बढाएका हुन्।
‘विधान संशोधन गरेर पहिलाको जस्तै बनाउने कि भन्नुभएको छ,’ ओली निकट एक नेताले भने।
विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ४ जना उपाध्यक्षको पद हटाएर ३ जना मात्रै हुने तय गरेको थियो। फेरि वरिष्ठ उपाध्यक्षसहित ७ जनाको उपाध्यक्ष राख्ने तयारी ओलीले गरेका हुन्। अहिले एमालेमा ओली र पोखरेल दुवै आफ्नो समूहको तर्फबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताको टिम बनाउन व्यस्त छन्। पोखरेल समूहले महाधिवेशनमा पेस गर्ने दस्ताबेज सोमबार महासचिव शंकर पोखरेललाइ बुझाएको छ।

आफ्नो समूहमा रहेका तीन जना उपाध्यक्षहरू रामबहादुर थापा बादल, विष्णु पौडेल र गुरु बरालमध्ये पौडेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तथा थापा र बराललाई उपाध्यक्षमै निरन्तरता दिने ओलीले तयारी गरेका हुन्। आफ्नो समूहमा रहेका सचिव तथा उपमहासचिवहरूलाई उपाध्यक्ष बनाएर आकांक्षी व्यवस्थापन गर्न ओलीले गृहकार्य गर्न लागेका हुन्। ‘पदाधिकारीको इन्ट्री नै सचिव हो। अहिलेका सचिवहरुलाई उपाध्यक्ष बनाउँदा नयाँलाई सचिव बनाउन सकिन्छ भन्ने अध्यक्षज्यूको बुझाइ छ,’ उनले भने।

एमालेमा निलम्बित टोपबहादुर रायमाझीसहित ७ जना सचिव छन्। त्यसमध्ये अहिले ओली समूहमा लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन्। तीन जना उपमहासचविहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल ओली समूहमै छन्। उपमहासचिव मध्ये एक जनालाई महासचिव बनाउने वा अहिलेकै महासचिव शंकर पोखरेललाई निरन्तरता दिने भन्नेमा भने टुंगो लागेको छैन।
आकांक्षीको लर्को
हप्ता दिनपछि सुरु हुने एमाले महाधिवेशनमा पदाधिकारीको आकांक्षा गर्ने नेताहरूको संख्या ओली समूहमै बढ्दो छ। सचिवमा युवा नेताहरूले समेत दाबी गर्न थालेका छन्। ओली समूहमा पर्न नेताहरुबीच प्रतिस्पर्धा नै हुन थालेको छ।
‘टिममा पर्न पर्ने हो। अरू तयारी त लगभग भएको छ। मेरो दाबी स्वाभाविक छ,’ एमाले सचिवमा दाबी गरेका नेता शेरबहादुर तामाङले भने।
यसअघि केन्द्रीय सदस्य मात्रै रहेका युवा नेताले समेत ओली समूहबाट सचिवको आकांक्षा गरिरहेका छन्। यस्तो आकांक्षा गर्नेमा केन्द्रीय सदस्य ठाकुर गैरेदेखि महेश बस्नेतसम्म छन्।
‘भण्डारी धेरै पर पुग्नुभयो’
आफ्ना समूहका आकांक्षी नेताहरूलाई व्यवस्थापन गरेर पोखरेल समूहमा लागेका नेताहरूलाई फकाउन लागेका ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति भने झनै कठोर हुन थालेका छन्।

ओली समूहका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भण्डारीसँग संवाद गर्न दिएको सुझावलाई समेत ओलीले अस्वीकार गरेका छन्। ‘ईश्वर पोखरेलसँग त कुरा गर्नै परेन। पूर्वराष्ट्रपतिसँग नेगोसिएसन गर्ने कि? समझदारी बनाउँदा ठिक हुन्छ,’ गुरुङले ओलीलाई भनेका थिए।
ओलीले भने भण्डारीसँग समझदारी बनाउने कष्ट नगर्न गुरुङलाई आग्रह गरेका थिए। ‘उहाँ र म एउटै ठाउँमा बसेर अब काम गर्न पनि गाह्रो हुन्छ। उहाँलाई त मलाई कारबाही हुनुपर्छ सम्म भनिसक्नुभयो। अब चुनावमै जान ठिक होला,’ ओलीले भनेका थिए।