काठमाडौं। एनसेलले ग्राहकको सुविधाका लागि सोमबारबाट नयाँ रेञ्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना अनुरुप नयाँ रेञ्जबाट सुरु हुने नम्बर दिन थालेको हो।
‘आवश्यक तयारी पश्चात नयाँ रेञ्जका नम्बर वितरण गर्न थालिएको छ। साधारण सञ्चार सेवाबाहेक डिजिटल कारोबार र विभिन्न सेवा मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरले उपभोक्ताका साथै सेवाप्रदायकलाई समेत लाभ प्रदान गर्नेछ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तले भने।
प्राधिकरणले ९८०, ९८१, ९८२, ९७० मार्फत सेवा प्रदान गर्नका लागि मोबाइल नम्बर अपुग भएकोले गत जेठमा नयाँ रेञ्जबाट नम्बर प्रदान गर्न एनसेललाई अनुमति दिएको थियो।
एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्षरुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैरसरकारी संस्था, सेवा प्रदायक कम्पनी, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न आग्रह गरेको छ।
चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरुले आफ्नो प्रणालीमा नयाँ नम्बर रेञ्ज इन्ट्रिगेट/अपडेट गर्न आवश्यक हुन्छ।