काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलले सगरमाथा आधार शिविरको माथिल्लो भागसम्म फोरजी सेवा बिस्तार गर्ने तयारी गरेको छ।
सोमबार ललितपुरको नख्खुस्थित आफ्नो भवनको निरीक्षण गर्न उपस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष एनसेलका प्रतिनिधिले फोरजी सेवा बिस्तार गर्ने योजना सुनाएका हुन्।
खरेलले पर्यटक र पर्वतारोहीलाई सहज हुने यस्ता खालमा सेवा बिस्तारमा सरकारले सक्दो सहयोग र समन्वय गर्ने बाचा गरे।
उनले सरकारी लगानीको नेपाल टेलिकम र निजी लगानीको एनसेलबीचमा कुनै विभेद नगर्ने बताए। ‘दुवैले लगानी गरेर जनतालाई सेवा दिइरहेका छन्। त्यसकारण सूचना प्रविधिका कुनै पनि कम्पनीबीच सरकारले फरक व्यवहार गर्दैन,’ उनले भने।
उनले ठूलो वैदेशिक लगानी ल्याएर गाउँगाउँसम्म सूचना प्रविधि र सञ्चारको पहुँच पुर्याएको एनसेलजस्ता कम्पनीलाई सरकारले संरक्षण गर्ने र उनीहरूको सुरक्षाको जिम्मा पनि राज्यको भएको बताए।
खरेलले एनसेललाई ब्राण्डको ख्याल गर्दै प्रतिष्ठा जोगिने गरी व्यापार गर्न अनुरोध पनि गरे। ‘खर्बौं लगानी भएको कम्पनीले ससाना कुरामा आफ्नो ब्राण्ड भ्यालु गुमाउनु हुँदैन। जनताको विश्वास गुम्न नदिने गरी राज्यप्रति सकारात्मक भएर कानुन र नियमअनुसार व्यापार गर्नुहोला,’ उनले भने।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलीले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता र अधिकारको रुपमा स्थापित भएको बताए।
‘विश्वभर नै दूरसञ्चार सेवा आममानिसको मौलिक अधिकारको रुपमा स्थापित भएको छ। त्यसले गर्दा हरेक नागरिकको त्यो अधिकार सुनिश्चित गर्न एनसेल प्रतिबद्ध छ,’ उनले भने।
फोलीले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलमा ६५ करोड रुपैयाँ बराबरको क्षति भएको बताए। ‘यो हाम्रा लागि असाध्यै ठूलो क्षति र कठिन अवस्था हो। तर पनि हामी पुनर्स्थापित हुँदैछौँ। हामीले सेवा गुणस्तरीय दिनैपर्छ किनभने एनसेलको यो समाजप्रति ठूलो भूमिका छ,’ उनले भने।