काठमाडौं। फलफूलमा बाह्रैमास पाइने कुनै छ भने त्यो केरा हो। तर यति बेला केराको भाउ अचाक्ली छ। थोकमै दर्जनको २०० रुपैयाँ घटेको छैन।
व्यवसायीहरु बजारमा आपूर्ति नै न्यून रहेकाले मूल्य घट्न नसकेको तर्क गर्छन्। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शनिबारको मूल्यसूचीमा केराको औसत कारोबार मूल्य दर्जनको २१० रुपैयाँ छ। किन यति महँगो भयो केरा?
नेपाली उत्पादनले बजार पाएन भन्दै किसान र व्यवसायीले चालु आर्थिक वर्षको सुरुमा आयातमा कडाइ गर्न सरकारलाई आग्रह गरेका थिए। सरकारले अघोषित रुपमा आयात गर्न रोकिदियो। जबसम्म स्वदेशी उत्पादन पर्याप्त थियो, कारोबार राम्रो भयो। किसानले भाउ पाए। अहिले जाडो बढेसँगै केराको उत्पादन घट्यो, बजारमा माग छ तर आपूर्ति न्यून भएको छ।
यसको मर्का उपभोक्तालाई परेको छ। किसान अझै स्वदेशी उत्पादनले बजारलाई पुग्ने दाबी गर्न छाडिरहेका छैनन् तर बजारको माग अनुसार उत्पादन दिन सकेका छैनन्। व्यवसायीहरु बल्ल आयात सहजीकरण गरिदिनुपर्ने माग गर्न थालेका छन्। किसान, तिनका ढुवानीकर्ता र व्यवसायीका बीचमा सरकारी अधिकारीहरु भने चुपचाप छन्। कारण, सरकारसँग स्वदेशी केराको उत्पादन परिमाण, बजार मागको मात्रा र आयात गर्नुपर्ने परिमाणबारे यकिन तथ्यांक नै छैन।
सरकारले आयात सहजीकरण गर्दा बजारमा केरा आपूर्ति सहज हुँदै भाउ घट्थ्यो। तर, निर्णयमा अलमलको मर्का उपभोक्तालाई महँगो परेको छ।
हाल देशभर स्वदेशी उत्पादित केरा बिक्री भइरहेको छ।पहिले व्यवसायीले स्वदेशी केरा भन्दा भारतीय सस्तो र राम्रो गुणस्तरको भन्दै ठूलो परिमाणमा आयात गर्दै आएका थिए। आयात रोकिएको छ, बजार मागअनुसार आपूर्ति पर्याप्त छैन। व्यवसायीले बजारमा अभाव आफूखुसी भाउ बढाएका छन्। न सरकारले बजार हेरेको छ न त मूल्य घटबढको चक्रलाई ध्यान दिएको छ।
केरा उत्पादक किसानहरु भने अहिले पनि हाल बजारलाई पुग्ने केरा अभाव नभएको बताइरहेका छन्। चितवन केरा उत्पादक संघका अध्यक्ष धननाथ महत्तो जाडोमा केराको उत्पादन घट्नु स्वाभाविक हुने बताउँछन्। ‘वार्षिक ६ लाख मेट्रिक टनभन्दा बढी स्वदेशमा उत्पादन हुन्छ। करिब १३ अर्बभन्दा बढीको कारोबार हुन्छ,’ उनले जानकारी दिए।
बजारमा माग कति छ भनेर यकिन तथ्यांक नै नभएको उनको भनाइ छ। ‘बजारमा अहिले केराको माग यति छ भनेर भन्न सकिएको छैन। दैनिक कति परिमाणमा केरा बजारमा जान्छ भनेर कसरी अनुमान गर्ने?,’ उनले भने।
यतिबेला बजारको माग अनुसार स्वदेशी केरा रहेको नेपाल केरा उत्पादक महासंघ, तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले बताए। ‘यतिबेला भाउ अचाक्ली किन भयो भनेर सरकारले हेर्नुपर्छ। जाडोमा उत्पादन घट्छ, बजारको माग पनि बढ्दैन,’ उनले भने, ‘स्वदेशी उत्पादन कम भयो भनेर महँगो गरिनु हुँदैन। बजारलाई स्वदेशी उत्पादनले पुग्छ।’
चाडपर्व अघिदेखि बजारमा केराको आयात रोक लगाइएको भए पनि अहिले आएर मूल्य चर्को पारेर आयात खुलाउने नियत देखिएको उनी संका गर्छन्। ‘भाउ व्यापारीले महँगो बनाएका हुन्। किसानले प्रतिकोशा ३ रुपैयाँले दर्जनको ३६ देखि बढीमा ५० रुपैयाँमात्र पाइरहेका छन्,’ उनले भने।
किसानले आफ्नो उत्पादन नियमित बजारमा पठाइरहेको अवस्थामा अबाव देखिनु र भाउ बढ्नुमा व्यवसायीको चलखेल भएको उनको भनाइ छ। ‘जाडो होस् की गर्मी किसानले धेरै पैसा पाएकै छैनन्। किसान कसेर मूल्य लिनसक्ने अवस्थामा कहिल्यै हुँदैनन्। व्यापारीले जति दिन्छन् हात थाप्नुपर्छ,’ उनले भने।
उनका अनुसार किसान आयात बन्देजका पक्षमा पनि होइनन्। उनीहरुको माग आफ्नो उत्पादनले उचित बजार र मूल्य पाउनुपर्छ भन्ने माग हो। तर, किसानका मागलाई अनावश्यक राजनीतिकरण गरिएको उनको भनाइ छ।
किसान र व्यवसायीका फरक फरक दाबीबीच कृषिका सरकारी अधिकारीहरु अन्योलमा छन्। उपभोक्ता समितिहरुको पनि गुनासो बढेपछि कृषि मन्त्रालयले समिति गठन गरेर देशको उत्पादन ,बजारको माग र आयात गर्ने परिमाणलाई अध्ययन गर्ने तयारी गरेको छ।
मन्त्रालयमा नेपालमा वार्षिक साढे ६ लाख मेट्रिक टन केरा उत्पादन हुन्छ भन्नेबाहेक विस्तृत जानकारी छैन। बजारमा माग कति छ, किसानले कति पाउँछन् भन्ने यकिन विवरण नै छैन। व्यवसायीले पनि बजारलाई दैनिक, हप्ता वा महिनामा कति केरा चाहिन्छ भन्ने तथ्यांक दिन सकेका छैनन्।
‘किसानले केरा आयात गर्नै हुँदैन भनेको होइन, स्वदेशी उत्पादन भएको बेला भारतीय केरा आएर किसान विस्थापित गराउने अवस्था आउनु भएन,’ केरा उत्पादक महासंघ, तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले भने।
अहिले देशको उत्पादन कति, कुन कुन समयमा कति चाहिन्छ, व्यापारीको माग कति हो, कैले आयात गर्नुपर्ने भनेर अध्ययन गरेर हेर्नुपर्ने उनको भनाइ छ। ‘यसो हुँदा आयात कम र स्वदेशी केराले उचित मूल्य पाउँछ,’ उनले भने।
देशभर विभिन्न ठाउँबाट फरक-फरक समयमा केरा उत्पादन भएर आइरहने हुन्छ। अहिले १२ महिना स्वदेशी केरा उत्पादन हुने भए पनि आयात धेरै भएका बेला स्वदेशी केरा बिक्री नहुने अवस्था भइरहेको उनले बताए।

मन्त्रालयले अध्ययन गरेर निर्णय गर्छ : महानन्द जोशी
केरा आयातबारे मन्त्रालयले अध्ययन गरेर निर्णय लिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए। स्वदेशी केराको बजार सुनिश्चित गर्न आयात रोक लगाएको थियो।
आयात गरेको केरामा विषादी धेरै प्रयोग भएको र चाँडै किरा देखिने थालेपछि रोक लगाएको हो। ‘बजारमा सप्लाइ कम भएपछि भाउ बढ्नु स्वाभाविक हो। बजारमा माग अनुसार आपूर्ति कम भए आयात गर्न पर्ने अवस्था आउँछ,’ उनले भने।
पछिल्लो समय किसान र व्यवसायीसँग मन्त्रालयले छलफल गरिरहेको उनले जानकारी दि । ‘मन्त्रालयले अध्ययन समिति बनाएर केराको उत्पादन, बजारको मागको बारेमा अध्ययन गर्छ। त्यसपछि मात्र बजारमा कति केरा आवश्यक पर्छ त्यही अनुसार आयात गर्न दिने भनेर निर्णय हुन्छ,’ उनले भने।
सरकारी अधिकारीहरुलाई किसानले आफ्नो उत्पादन प्रतिदर्जन ३६ देखि ४० रुपैयाँमा बिक्री गरिरहेको जानकारी दिएका छन्। ‘किसानबाट केरा महँगो भएर आएको छैन। आयात नभएको अवस्थामा बजारमा कसरी महँगो भयो,’ जोशीले भने, ‘आपूर्ति कम छ भनेर जथाभावी भाउ बडाउन पाइँदैन। यो बीचमा भाउमा कसले खेलेको छ भन्ने मनत्रालयले हेर्छ।’
आयात नहुँदा केरा महँगो भयो : व्यवसायी
व्यवसायीहरु भने खरिदमा सस्तो लिएर भाउमा आफूखुसी गरेको मान्न तयार छैनन्। भारतीय केराको आयात रोकिँदा भाउ महँगो भएको कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँले दाबी गर्छन्। ‘जाडो समयमा केराको खपत कम हुन्छ। सप्लाइ कम छ, खरिदमै महँगो परेकाले कारोबार मूल्य नघटेको हो,’ उनले भने।
सरकारले किसानको कुरा सुनेर आयात रोक लगाउदा उपभोक्ता मारमा परेको उनी बताउँछन्। ‘स्वदेशी उत्पादन, गुणस्तर र बजारको मागलाई अध्ययन नगरी आयात रोक लगाइएको छ। यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्ने हो। तर, सरकारले केराको आयात रोकेर अवैधलाई बढावा दिएको छ,’ उनले भने।
उनका अनुसार गत महिना केरा प्रति दर्जन १५० भन्दा तल आइसकेको थियो। अहिले माग अनुसार केरा आपूर्ति छैन। खरिदमै महँगो भएको उनले दाबी गरे।
‘थोक बजारमै भाउ बढी परेपछि उपभोक्तालाई खुद्रामा थप महँगो पर्छ। हाम्रो बजारमा स्वदेशी केराले मात्र पुग्दैन,’ उनले भने, ‘स्वदेशी केराको सिजन सकिदै गएपछि आयात गर्न दिनुपर्छ। होइन भने उपभोक्ताले किनेर खान्छु भन्दा पनि नपाउने अवस्था आउँछ।’
बजारमा केराको आपूर्ति घट्दा थोक बजारमै भाउ बढेर क्रेटमा १४०० पर्न थालेको व्यवसायी रुद्र पाठकले बताए। केरा नआउँदा कुलेश्वर बजारनै खाली देखिन थालेको छ। गत महिना क्रेटमा ८०० देखि ९०० पर्ने केराको कार्टुनलाई अहिले १४०० भन्दा बढी पर्न थालेको छ।
‘सरकारले वैधरुपमा ल्याउन नदिँदा अवैध रुपमा केरा भित्रिन थालेको पाइएको छ। यसले गर्दा बजारमा केरामा पनि कार्टेलिङ भइरहेको छ,’ उनले भने। दैनिक २० टनभन्दा बढी केरा खपत हुने बजारमा अहिेले निकै कम रहेको उनले बताए।
यसअघि आयात गरिरहेका व्यवसायीको आयात अनुमति सकिएपछि केरा आयात हुन नसकेको उनले बताए। सिजनका फलफूल बजारमा आए पनि उपभोक्ताबाट स्याउ, केराको पनि खोजी हुन्छ।