BIZMANDU
www.bizmandu.com

कृषि र आतिथ्यको ‘फ्युजन’ हिमालचुली नेचर फार्मस्टे, लमजुङको सपना माडीमा साकार

२०८२ मंसिर १८

कृषि र आतिथ्यको ‘फ्युजन’ हिमालचुली नेचर फार्मस्टे, लमजुङको सपना माडीमा साकार
कृषि र आतिथ्यको ‘फ्युजन’ हिमालचुली नेचर फार्मस्टे, लमजुङको सपना माडीमा साकार


काठमाडौं । कृषि क्षेत्रमा लामो अनुभव सँगालेका ४३ वर्षीय ध्रुव अधिकारी र उनका पाँचजना साथीले चितवनको माडीमा ‘हिमालचुली नेचर फार्मस्टे’ को माध्यमबाट हस्पिटालिटी व्यवसायमा प्रवेश गरेका छन्।

Tata
GBIME
Nepal Life

लमजुङमा जन्मेका अधिकारीको हाल बसाई चितवनमै छ। उनले बस्दै आएको ठाउँबाटै आफ्नो पहिलो व्यावसायिक यात्राको सुरुवात गरेका हुन्। यो फार्मस्टेको अवधारणा कृषि क्षेत्रमा लामो समय काम गरेका साथीहरुको समूहबाट आएको उनी बताउँछन्। समूहमा रहेका पाँच साथी मध्ये रश्मी पण्डित र अधिकारी दुवै यस फार्मस्टेका संस्थापक अध्यक्ष हुन्।

अधिकारीले यसअघि आइएनजीओ र एनजीओसँग कृषि क्षेत्रमा १० वर्ष काम गरेका थिए। यही क्रममा उनको भेट सस्टेनेबल एग्रीकल्चरमा काम गर्ने रश्मी पण्डीतसँग हेलभेटास नेपालले आयोजना गरेको एक कार्यक्रममा भएको थियो। पण्डितको जन्म स्थान पनि लमजुङ नै हो। साझा सोच र गृह जिल्लाको सम्बन्धले गर्दा उनीहरूले सँगै व्यवसाय सुरु गर्ने योजना बनाएका थिए।

लमजुङको नाम, माडीको माटो

उनीहरुले फार्मस्टेको नाम आफ्नै गृह जिल्ला लमजुङको हिमालको नामबाट ‘हिमालचुली’ राखे। र, गृह जिल्लामा नै व्यवसाय सुरु गर्ने सोच बनाएका थिए। तर, विविध कारणले लमजुङमा काम गर्ने वातावरण बनेन। र, उनीहरुले चितवनको माडी उपत्यकाको वडा नम्बर ६, स्याउलीबासमा यो परियोजना अघि बढाए।

अधिकारीले भने, ‘हामीले लमजुङमा व्यवसाय सुरु गर्ने सोचेका थियौं। तर त्यहाँ विभिन्न कारणले व्यवसाय गर्न नसकेपछि हाल बसोबास गरेको स्थान चितवनमा नै सुरु गर्न लागेका हौं।’

उनले माडीलाई छनोट गर्नुको कारण पनि खुलाउँदै भने, ‘कम लगानीमा स्थानीय स्रोत साधन प्रयोग गरि ठूलो संरचना बनाउन सकिने र यस क्षेत्रको चर्चा कम भएकाले सम्भावना धेरै देखेको छु।’

फार्मस्टेको संरचना स्थानीय स्रोत साधन, पुराना घरका काठ र ढुंगा प्रयोग गरेर बनाइएको उनी बताउँछन्।

१० करोडको लगानी, ’एग्रो इकोलोजी’ कन्सेप्ट

२० रोपनी क्षेत्रफलमा फैलिएको यो फार्मस्टेमा हालसम्म १० करोड रुपैयाँ लगानी भएको छ। ३ वर्षको निर्माण कार्यपछि यही मंसिर २९ गतेबाट व्यवसाय सुरु हुँदैछ।

फार्मस्टेमा ८ वटा डिलक्स कोठा र ४ वटा भिल्ला गरि जम्मा १२ वटा कोठा छन्। फार्मस्टे भित्रै तरकारी खेती, बाख्रा फार्म र कुखुरा फार्मसहितको इन्ट्रीग्रेटेड फ्रार्मिङको पनि व्यवस्था छ।

अधिकारीका अनुसार फार्मस्टे ‘एग्रो इकोलोजी’ को अवधारणामा आधारित छ। यसको मुख्य लक्ष्य मानिस, वनस्पति, वातावरण र जनावरबीचको सम्बन्धलाई जोड्नु हो। ग्राहकहरुलाई स्वच्छ हावा, पानी र गाउँघरको जस्तै अनुभव दिनु यसको उद्देश्य रहेको उनले सुनाए।

ग्राहकले नै बनाउनेछन् बिल

फार्मस्टे सुरु भएको पहिलो एक महिनाको लागि अधिकारीले ’पे ह्वाट यु वान्ट’ अवधारणा ल्याएका छन्।

उनी भन्छन्, ‘ग्राहकलाई एक महिनाको लागि हामीले उहाँहरुलाई नै बिल बनाउन दिन्छौं। कति तिर्दा ठिक लाग्छ र के सुधार गर्नुपर्छ भन्ने सुझाव दिन लगाउँछौं। त्यसपछि हामी मूल्य तोक्छौं।’

ग्राहकको प्रतिक्रिया र सुझावको आधारमा मात्र भविष्यका लागि मूल्य निर्धारण गर्ने योजना रहेको उनले भने।

‘हिमालचुली नेचुरल फार्मस्टे’ ले कर्मचारी व्यवस्थापनमा स्थानीयलाई नै प्राथमिकतामा राखेको छ। जसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास अधिकारीले लिएका छन्।

कम्पनीको अध्यक्ष पनि महिला भएकोले धेरै महिलाहरूलाई नै प्राथमिकतामा राखिएको उनले बताए। उनीहरूले ‘मेरिट बेस डाइभर्सिटी’ को सिद्धान्त अनुसार कर्मचारी व्यवस्थापन गरिरहेका छन्।

कृषि र आतिथ्य दुवै क्षेत्रलाईसँगै अगाडि बढाउने उद्देश्यले यो व्यवसाय सुरु गरिएको हो। अधिकारीको भविष्यको योजना प्राकृतिक कृषि र वेलनेस कृषि मा काम गर्ने रहेको छ। साथै, उनीहरुले पछि मध्यपहाडी क्षेत्रमा पनि फार्मस्टे विस्तार गर्ने योजना बनाएका छन्।

‘पर्यटनमा इनोभेसन नभई लगानी गर्दा डुबिन्छ। त्यसैले नयाँ इनोभेसन गर्न जरुरी छ,’ अधिकारीले भने।