BIZMANDU
www.bizmandu.com

हिल्टन होटलमा ३ बीमा कम्पनीले ४ अर्ब क्षति ब्यहोर्ने, सवा २ अर्ब हिमालयन रिको भागमा

२०८२ मंसिर १७

हिल्टन होटलमा ३ बीमा कम्पनीले ४ अर्ब क्षति ब्यहोर्ने, सवा २ अर्ब हिमालयन रिको भागमा
हिल्टन होटलमा ३ बीमा कम्पनीले ४ अर्ब क्षति ब्यहोर्ने, सवा २ अर्ब हिमालयन रिको भागमा


काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नक्सालस्थित पाँच तारे होटल हिल्टनलाई बीमा कम्पनीहरुले ४ अर्ब रुपैयाँको दाबी भुक्तानी गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

बीमा कम्पनीले दिने पैसाले होटलको पुनर्निर्माण गर्न पुग्छ। केही रकम उब्रिएर बैंकको किस्ता भुक्तानी गर्न पनि पुग्ने स्रोतको दाबी छ।

दुई पुनर्बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनीले ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गर्ने भएका हुन्। होटलले बैंकहरुबाट ५ अर्ब २ करोड ऋण लिएको छ। ऋण बराबरको मात्र बीमा गरिएको छ। सबै कुरा कटाएर चार अर्ब भुक्तानी हुने बीमा कम्पनी स्रोतले जानकारी दिएको छ।

कुल चार करोडमध्ये हिमालयन रिइन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ भुक्तानी गर्ने छ। अर्को ७५ करोड रुपैयाँ नेपाल रि इन्स्योरेन्सले दिने छ। बाँकी एक अर्ब रुपैयाँ ओरियन्टल इन्स्योरेन्सले भुक्तानी गर्ने छ।

हिल्टन होटलमा शंकर समूहको प्रमुख लगानी छ। यसबाहेक ‘प्रिपेड बिचौलिया’ समूहका नाइके दीपक भट्टको पनि लगानी छ। यही समूहको प्रमुख लगानीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी खुलेको हो।

नेपाल रि इन्स्योरेन्सले पाइरहेको व्यवसाय बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाल र नेपाल रिका सीइओलाई मिलाएर हिमालयन रिमा लगिएको थियो। पूर्वसचिव सिलवाललाई उनै भट्टले प्राधिकरण अध्यक्ष बनाएका थिए।

सिलवालले प्राधिकरणको नेतृत्व सम्हालेपछि हिमालयन रिलाई लाभ पुग्नेगरी एकपछि अर्को निर्णय गरेका थिए। यसले तत्कालीन हिसाबमा नेपाल रिको व्यवसाय खोसिए पनि दाबी भुक्तानीका हिसाबले अहिले फाइदा पुगेको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा होटलमा आगजनी गरिएको थियो। होटलको संरचनालगायत बारे अध्ययन गर्न जापानी इन्जिनियरिङ फर्म मियामोतोलाई जिम्मा दिइएको छ। त्यसले आगामी जनवरी १५ भित्र प्रतिवेदन दिनेछ।

प्रारम्भिक अध्ययन अनुसार संरचनामा ठूलो समस्या देखिएको छैन। भूकम्प प्रतिरोधात्मक बनाउन होटलको बाहिरि भागमा तयार पारिएको संरचनामा अलिअलि क्षति पुगेको छ। त्यो स्टिलको संरचनामा ‘तेल’ हुन्छ। आगजनीका क्रममा संरचना फुटेर तेल निस्किएको छ। सबैभन्दा माथिल्लो भागमा अलिक बढी क्षति छ।

‘मूख्य कुरा स्ट्रक्चर हो। त्यसमा समस्या देखिएको छैन। त्यसो हुँदा होटलको पुनर्निर्माण चाँडै सकिन्छ,’ स्रोतले भन्यो।

कुल ८ अर्ब रुपैयाँ हाराहारीको लगानीमा तयार होटलमा ७० प्रतिशत पैसा बैंकहरुको हो। होटलमा ९ वटा बैंकले ५०२ करोड ऋण लगानी गरेका थिए। बैंकहरुले निक्षेपकर्ताको पैसा ऋणका रुपमा होटलमा दिएका थिए। 

नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, नेपाल एसबीआई, नबिल, प्रभु, माछापुच्छ्रे, नेपाल, कृषि विकास र मुक्तिनाथ विकास बैंकले होटलमा ऋण लगानी गरेका छन्।

लगानीकर्ताको ३ अर्ब रुपैयाँ परेको छ।

होटलमा १७४ वटा कोठा थिए। २०७३ मा होटल निर्माणको घोषणा गर्दा लागत साढे तीन अर्ब रुपैयाँ अनुमान गरिएकामा यो बढ्दै गएर ८ अर्ब रुपैयाँ पुगेको थियो। 

होटलमा रुफ टप बार, ब्यांक्वेट हल, स्पा, अल डे डाइनिङ रेष्टुरेन्ट, हिटेड आउटडोर स्वीमिङ पुल लगायत सुविधा समावेश थिए।

१० रोपनी क्षेत्रफलमा फैलिएको होटल १७ तल्लाको हो। तीन तल्लामा बेसमेन्ट समावेश गरिएको होटलको सबैभन्दा माथिल्लो तल्लामा स्वीमिङ पुल थियो।

शंकर समूहले होटल चेन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको ब्राण्डबाट होटल सञ्चालन गरेको थियो।