BIZMANDU
www.bizmandu.com

रेकर्ड तोड्दै अमेरिकी डलर पुग्यो सर्वाधिक उचाईमा, बजारमा के हुन्छ असर?

२०८२ मंसिर १७

रेकर्ड तोड्दै अमेरिकी डलर पुग्यो सर्वाधिक उचाईमा, बजारमा के हुन्छ असर?
रेकर्ड तोड्दै अमेरिकी डलर पुग्यो सर्वाधिक उचाईमा, बजारमा के हुन्छ असर?

काठमाडौं । अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। रेर्कड ब्रेक गर्दै डलरको बिक्री दर आज १४४.१० रुपैयाँ पुगेको हो।

Tata
GBIME
Nepal Life

अमेरिकी डलरको खरिद दर भने आज १४३.५० रुपैयाँ छ। मंगलबार अमेरिकी डलरको बिक्री दर १४३.५८ रुपैयाँ र खरिद दर १४२.९८ रुपैयाँ थियो।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ।

उपभोगका लागि आयात बढ्दा विदेशी मुद्राको भण्डारणमा कमी आउँछ। यसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको विश्लेषण सञ्‍चारमाध्यमहरुले गरेका छन्। यसैसन्दर्भमा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको पनि समाचार सार्वजनिक भइरहेका छन्।

डलर बढ्दा के हुन्छ?

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।

वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्‍न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। अहिले पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउन सुरु गरिसकेको छ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।