BIZMANDU
www.bizmandu.com

‘नटिक्ने उत्पादन ल्याउनुको काम छैन, रिसर्च गरेर बजारले खोजेको गुणस्तरीय ल्याउनुपर्छ, टिक्नु पर्छ’

२०८२ मंसिर १६

‘नटिक्ने उत्पादन ल्याउनुको काम छैन, रिसर्च गरेर बजारले खोजेको गुणस्तरीय ल्याउनुपर्छ, टिक्नु पर्छ’
‘नटिक्ने उत्पादन ल्याउनुको काम छैन, रिसर्च गरेर बजारले खोजेको गुणस्तरीय ल्याउनुपर्छ, टिक्नु पर्छ’

बेकरी प्रोडक्टको बजार नेपालमा वार्षिक चार अर्बभन्दा बढीको छ। सुपर स्टोरहरुमा विदेशी खोज्ने उपभोक्तामाझ स्वाद र गुणस्तरमा चुनौती दिने उत्पादन बढाउँदा स्वदेशी उत्पादनले बजार विस्तार गरिरहेका छन्। पाउरोटी, बन, पफ, कुकिज र बिस्कुट कारोबारमा स्वदेशी कम्पनीहरुले प्रविधि र गुणस्तरमा आक्रामक बन्दा राम्रो बजार हस्तक्षेप सम्भव भएको छ। तर, विभिन्न कम्पनीका उत्पादनबीच बजारमा टिक्न संघर्ष भने कडा छ। प्याकेजिङ, स्वाद, मूल्य र गुणस्तरमा ग्राहक रिझाउनु सजिलो छैन। नेपाली बजारमा स्वदेशी-विदेशी कम्पनीका उत्पादनहरुबीचको चर्को प्रतिष्पर्धाबीच केही नेपाली कम्पनीले आफ्नो वर्चस्व निरन्तर बलियो बनाएका छन्।

Tata
GBIME
Nepal Life

त्यहीमध्येको बिस्कुट कम्पनी हो खजुरीको प्रालि, जसले उत्पादनसँगै बजारीकरण गरिरहेको छ। सँगै आफ्नै मार्ट पनि चलाउने अवधारणा अघि सारेको खजुरीको कम्पनी बजारको माग पहिचान गर्दै उत्पादनलाई विविधीकरण गरिरहेको छ। खजुरीको नेपाल प्रालि कम्पनीका संस्थापक एवम् प्रबन्ध निर्देशक जगन्नाथ महर्जनलाई बिजमाण्डूकी सरला सुवेदीले सोधिन् – २०५२ सालदेखि नै पाउरोटी, बन, पफ, कुकिज र बिस्कुटको बजारमा राज गरिरहेको यो कम्पनीले एउटा भेन्चर सुरु गरेको छ, खजुरी पसल। यो किन स्थापना गर्नुपर्ने आवश्यकता देखियो?

वास्तवमा पहिला दुईवटा सेक्टरमा चाहिँ खजुरीको कम्पनी सुरुदेखि नै थियो। एउटा उत्पादन क्षेत्रमा भयो। दोस्रो,  हामी ट्रेडिङ सेक्टरमा पनि थियौँ। हामी त्यतिखेरदेखि नै होलसेल बिजनेस गर्थ्यौं उ बेलाको होलसेल बिजनेस भनेको हाम्रो कार्यक्षेत्र चापागाउँ एरियामा या लक्षिण ललितपुरको गेटवेमा थियो।

ती ठाउँमा होलसेल बिजनेस भन्नासाथ खाद्य संस्थानको डिलर, साल्ट ट्रेडिङको, नेशनल ट्रेडिङ र आयल निगमको डिलर यस्तै डिलरसिप भाको होलसेलरहरु हुन्थ्यो। त्यसबेला हामी गाउँ क्षेत्रको एउटै मात्र डिलर थियौँ। त्यतिबेलादेखि नै ट्रेडिङ बिजनेस गरेका थियौँ। त्यतिबेलादेखि होलसेल बिजनेस आजको दिनसम्म पनि निरन्तरता छ। पछिल्लो समय त्यो बिजनेसलाई होलसेल मात्र होइन रिटेलमा पनि आउनु पर्छ, रिटेलमा कन्जुमरलाई सेवासुविधा दिनुपर्छ, सर्भिस दिनुपर्छ भनेर हामी रिटेलमा पनि आएका हौँ।

यो हाम्रो लागि बिल्कुलै नयाँ सेक्टर चाहिँ  होइन। हामी पहिलेदेखि नै थियौँ। तर, हाम्रो एउटै उद्देश्य भनेको रिटेलमा कन्जुमरहरुलाई कन्भिनियन्ट गराउन चाहेको मात्र हो। कन्जुमरहरुलाई उहाँहरुकै आवश्यकता अनुसार उहाँहरुको टोल-टोलमा हामीले दैनिक रुपमा आवश्यक पर्ने सबै खालका सामानहरु उपलब्ध गराइदिने उद्देश्य साथ खजुरीको पसल सञ्चालनमा आएको हो।

जीवनजस्तै उद्योग व्यवसायमा उतारचढाव आउँछ। झण्डै १५ वर्षअघि खजुरीको चापागाउँ कारखाना सबै जल्यो। एउटा उचाइमा पुगेको कम्पनी फेरि शून्यमा झर्‍यो। तर, तपाईंहरु यो कठिन परिस्थिति खेपेर झन् एग्रेसिभ बन्नुभयो। त्यही एग्रेसनले मार्ट बिजेनसमा हात हाल्नुभएको हो?

त्यसरी नभनौँ, हाम्रो २००९ मा जुन आगलागी भयो। आगलागीले एउटा हाम्रो युनिट खरानीमै परिणत भयो। त्यसपछि हामीले हिम्मत हारेनौँ। सबै हाम्रो शुभचिन्तक, ग्राहकहरुको आशीर्वाद र हौसला रह्यो। हामीले हिम्मत हारेनौँ, भगवानको कृपाले फेरि यो बिजनेसलाई उठायौँ। भनेको लगभग शून्य जस्तै भयो। छिटोभन्दा छिटो त्यो बिजनेसलाई उठायौं। अब त्यो त एउटा म्यानुफ्याक्चरिङ पार्ट, त्यसको ट्रेडिङमा पनि असर गरिहाल्छ। तर, त्यसलाई हामीले खजुरीको पसलको रुपमा कन्जुमरहरुलाई अझै धेरै उहाँहरुको नजिक उहाँहरुको लोकल एरियामा पुगेर सर्भिस दिँदैछौं।

एग्रेसनभन्दा पनि यसलाई कसरी बुझ्ने भन्ने भयो। बिजनेसमा एउटा सोर्स पनि चाहिन्छ। त्यही अनुसार आफ्नो मिसन पनि चाहियो। हामी जब म्यानुफ्याक्चिरल थियौँ, ट्रेडर्स पनि थियौँ। भन्दा पनि हामी उत्पादन र बिक्रीवितरण पनि गर्छौ। दुवैको अल्टिमेट गोल भनेको कन्जुमरलाई दिने सर्भिस त हो नि। त्यही नै हाम्रो मेन भयो।

उपभोक्ताले आफूलाई चाहिएको र किन्न खोजेको हरेक सामान एकआपसमा दाँजेर ब्राण्ड, क्लालिटी किनमेल गर्न सक्ने अवसर खुल्ला हुनुपर्छ।

आजको दिनमा डिपार्टमेन्टल स्टोरमा भाटभटेनीको ग्रोसरीको राज छ। अर्कोतर्फ ग्रोसरीमा बिगमार्ट एग्रेसिभ छ। यो दुईवटाको बोलवाला रहेको अवस्थामा खजुरीको मार्ट सस्टेन गर्न सक्छ? 

यस्तो छ, बिजनेसमा भाटभटेनी नेपालको मार्ट या सुपरमार्केट बिजनेसमा लगभग फाउन्डर जस्तै हो। हुन त यो भन्दा अगाडि अर्को पनि थियो। हैन, तर नेपालमा कन्जुमरलाई त्यस्तो मोडर्न आउटलेटमा किनमेल गर्न सिकाएको भाटभटेनीले हो भन्दा फरक नपर्ला। त्यसपछि यस्ता मार्टहरु अरु पनि आयो र आउनु पनि पर्छ। किनभने यो कन्जुमरको डिमाण्ड पनि हो।

आजको दिनमा हाम्रो पुरानो शैलीको किराना पसलमा नयाँ जेनेरेसनले सपिङ गर्दैनन्। र,  त्यो सम्भव पनि छैन। किनभने आज यति मान्छेको लाइफ बिजी छ, मान्छेहरु मोडर्न भइसकेका छन्। नयाँ सिस्टमहरु आइसकेका छन्। हिजो हामी बच्चा बेलाको जस्तो सामान देखाउँदै रेट भनेर व्यापार गर्न आज सम्भव छैन। किनभने सबै कुरा ट्रान्सपरेन्ट हुन जरुरी छ।

उपभोक्ताले आफूलाई चाहिएको र किन्न खोजेको हरेक सामान एकआपसमा दाँजेर ब्राण्ड, क्लालिटी किनमेल गर्न सक्ने अवसर खुल्ला हुनुपर्छ। त्यो कुरामा भाटभटेनीमा सबैले सिकिसकेका छन्। त्यसबाट हामीले सिक्यौँ।  त्यस्तै पछिल्लो समय बिगमार्टले आफ्नो जुन नेटवर्क बनाउनु भाको छ। तर, त्यतिले मात्रै नेपालको तीन करोड जनसंख्यालाई सर्भिस दिन सक्दैन। मार्केट यति ठूलो छ, कन्जुमर धेरै छन् भने यहाँ धेरै अवसरहरु छन्। 

त्यो अवसर र मार्केटको डिमाण्ड हेरेर हामीले खजुरीको पसल सुरु गरेका हौँ। र, खजुरीको पसललाई हामीले केही आधारमा काठमाडौं उपत्यका भित्रको एकदमै कोर एरियालाई हेरेर आफ्नो नेटवर्क बनाएका छौँ। सस्टेन भन्ने कुरा त सस्टेन नभाको भए त यतिजेल हामी पनि बन्द भइसक्थ्यौँ नि। सस्टेन नहुने कुरै भएन। 

खजुरीको पसल सुरु गरेको चार वर्ष भयो। यतिबेला सम्म करिब २१ वटा आउटलेट खुलेका छन्। ललितपुरमा १३ वटा छ। काठमाडौंमा ४ र भक्तपुरमा ४ वटा खजुरीको पसल खुलेका छन्। भ्यालीको तीन वटा जिल्लामा नै खजुरीको पसलले उपस्थिति जनाइसकेको छ। अहिलेसम्म सबै आउटलेटबाट राम्रो पर्फमेन्स आएको छ।

 हरेक आउटलेटमा कन्जुमरको आकर्षण र हामीले दिएको सर्भिस र पर्फमेन्सको बेसमा २१ वटा आउटलेट पुर्‍याएको हो नि त।अझेै हामी आउटेलट थप्दैछौँ। कम्पनीले हरेक वर्ष १० वटा आउटेलट खोल्ने लक्ष्य राखेको छ। हालको लागि उपत्यकाभित्रै सीमित हुन्छौँ। बाहिरको जिल्लामा आवश्यकता हेरेर पछि आउन पनि सक्छ। यसले गर्दै कम्पनी सस्टेन भइरहेको छ भनेर देखिन्छ।

साना उद्यमी, महिला उद्यमीले उत्पादन गरेको कुनै पनि उत्पादन खजुरीको पसलमा राख्न चाहनु भयो भने त्यसमा पहिलो प्राथमिकता दिन्छौँ।

भाटभटेनीले आफैंले आफ्नो ब्राण्डमा ग्रोसरीका सामान आयातदेखि ब्राण्डिङ गरेर बेच्छ। बिगमार्टमा लगानी गर्ने विशाल समूहले बहुराष्ट्रिय कम्पनीको आयातकर्ताकर्ता हो। उनीहरुले पनि फुड ग्रेनको आफ्नै ब्राण्ड बनाएर बेचिरहेका छन्। तपाईंहरुले यो बीचमा कुन मोडालिटीबाट मार्टलाई अघि बढाउने सोचमा हुनुहुन्छ?

हामी चाहिँ अहिले यो मोडालिटीमा आइसकेका छैनौँ। खजुरीको पसलमा चाहे नेपालको चाहे विदेशको, कुनै पनि ब्राण्डका प्रोडक्टहरु सबै पाइन्छ। र, सगँसँगै खजुरीको आफ्नै उत्पादन त भइहाल्यो। खजुरीको पसल भनेको खजुरीको उत्पादन मात्र पाइने पसल होइन। यो ग्रोसरी हो। खजुरीको पसल पनि बिगमार्टहरु जस्तै हो।

यहा धेरै भेराइटीको सामान पाइन्छ। अहिले करिब ६ हजारभन्दा बढी भेराइटीमा सामानहरु पाइन्छ। 

खजुरीको पसलमा खाद्यान्नदेखि लिएर स्न्याक्स, डेरी आइटम, चामल, ग्यासदेखि पूजाआजाको सामान सबै पाइन्छ। अहिले तरकारी र फलफूल पनि पाउन थालिसकेको छ। तर, हामीले एउटा प्रयास चाहिँ कहाँ गरेका छौँ भने हाम्रो पसलमा सकेसम्म नेपाली उत्पादनहरुलाई स्पेस दिएको छ। नेपाली उत्पादनमा पनि साना-साना उद्यमीलाई एकदमै प्राथमिकतामा राखेका छौँ। 

साना उद्यमी, महिला उद्यमीले उत्पादन गरेको कुनै पनि उत्पादन खजुरीको पसलमा राख्न चाहनु भयो भने त्यसमा पहिलो प्राथमिकता दिन्छौँ। यसले गर्दा सुरुमा खजुरीको पसलमा विदेशी उत्पादन धेरै देखिन्थ्यो भने अहिले विस्तारै स्वदेशी उत्पादन देखिन थालेको अनुभव छ। 

मुस्ताङको आलु मुस्ताङकै किसानसँग खरिद गरेर बिक्री गरिएको थियो। आँपको सिजनमा सर्लाहीमा गएर किसानसँग बजारमा चलेको भन्दा बढी भाउ दिएर आँप खरिद गरी बिक्री गरेका थियौँ। किसानसँग सिधै खरिद गरेर खजुरीको पसलबाट बिक्री गर्दा ग्राहकबाट राम्रो प्रतिक्रिया आयो। ताजा र राम्रो गुणस्तरको स्वेदशी उत्पादनमा ग्राहकको रुचि बढी छ। जसले गर्दा यो सिजनमा  गोरखाको सुन्तला र सिन्धुलीको जुनार ल्याएर बिक्री गर्न एग्रो फार्मसँग कुरा हुँदैछ। 

विदेशी या स्वदेशीको कसैको लगानी आउनुपर्छ र बजार भनेको प्रतिस्पर्धा नै हुनुपर्छ। प्रतिस्पर्धात्मक बजारमा मात्रै काम गर्न मज्जा आउँछ।

ग्रोसरी बिजनेसमा गैरआवासीयदेखि विदेशी केके मार्टसम्म आए। उनीहरुको लगानी लगभग खेर नै गयो। यो टप कम्पिटिसन भएको क्षेत्रमा आउनुभएको छ। तपाइँहरुको लगानी कति हुन्छ र कसरी प्रतिस्पर्धा गर्ने सोच बनाउनुभएको छ ?

यसमा यस्तो छ, उहाँहरुको लगानी कसरी भयो भनेर मैले बुझेको त छैन। कुनै समय केके मार्ट पनि राम्रो थियो। अहिले फेरि उहाँहरुले नयाँ व्यवस्थापनबाट गर्नु भाको छ। त्यो राम्रो कुरा हो किनभने यो बजार हो। यहाँ विदेशी या स्वदेशीको कसैको लगानी आउनुपर्छ र बजार भनेको प्रतिस्पर्धा नै हुनुपर्छ। प्रतिस्पर्धात्मक बजारमा मात्रै काम गर्न मज्जा आउँछ। यहाँ नयाँ इनोभेशन, क्रियटिभिटी आउँछ भने कन्जुमरले अल्टिमेट्ली बेनिफिट पाउँछ। मोनोपली मार्केटमा कन्जुमरले बेनिफिट पाउन गाह्रो हुन्छ।

तर जब हाम्रो बजारमा कम्पिटिसन बढ्छ नयाँ-नयाँ इन्भेस्टमेन्ट आउँछ, अनि इम्लोइमेन्ट जेनरेट हुन्छ। त्यहाँ सर्भिस डेलिभरीको कुरा आउँछ। सर्भिस डेलिभरीको नयाँ-नयाँ कुरा आउँछ। यो प्रतिस्पर्धामा हामी पनि आइसकेका छौँ। अब हामी पनि प्रतिस्पर्धा गर्दैछौँ। हामीले पनि एउटा आत्मविश्वासका साथ लगानी गर्दैछौँ। हाम्रो पनि करोडौंको लगानी भइसकेको छ। अझै लगानी थप्दै गएका छौं। त्यो कारणले जहाँसम्म लाग्छ हामी यसमा सफल हुन्छौं। 

हामी अहिले बिगमार्ट जस्तो ठूलो साइजमा होइन सानो साइजमा आउलेट खोलेर सञ्चालन गरिरहेका छौं। हामी अहिले रेन्टको प्रोपर्टीमा भएकाले इन्फ्रास्टक्चरमा लगानी छैन। जसले गर्दा खजुरीको आउटलेटका लागि करिब ५० लाखको हाराहारीमा लगानी भएको हो। 

अहिले नेपालमा काम गर्ने वातावरण राम्रो छैन। वातावरण सरकारले नबनाएसम्म पछिल्लो समय व्यापार व्यवसाय सञ्चालन गर्न सहज छैन।

चापागाउँको दुईवटा प्रोडक्सन युनिटले पनि खजुरीको बिस्कुटको माग धान्न हम्मे हम्मे परेपछि २०६२ सालमा चितवनमा नयाँ प्लान्ट स्थापना गर्नुभयो। उत्पादनको विविधीकरण पनि गरिरहनुभएको छ?

हामी चितवनमा मात्र होइन हेटौंडामा पनि छौँ। खजुरीको चापागाउँपछि चितवन र हेटौंडामा सहित ३ वटा युनिटमा काम सुरु भइसकेको छ। हामीले आफ्नो प्रोडक्सनलाई धेरै एडभान्स टेक्नोलोजीमा लगिसकेका छौं। त्यसकारणले पनि हाम्रो टेक्नोलोजी इन्ह्यान्समेन्ट जुन छ, त्यो  हाम्रो  रेगुलर प्रक्रियामा भइरहेको छ। हरेक वर्ष नयाँ-नयाँ सेग्मेन्टहरु आइरहेका छन्। अहिले करिब २० देखि २२ वटा सेगमेन्टहरु छन्। यो वर्ष पनि थप सेग्मेन्टहरु आउँछ।

खजुरीको प्रोडक्ट देशको सबै जिल्लामा नपुग्ने कुरा भएन। बीचमा एकपटक माग धेरै र उत्पादन कमले गर्दा रेगुलर नभएको हो। अहिले धेरै ठाउँँमा खजुरीको उत्पादन पुगिसकेको छ। अब कम्पनीले पश्चिममा खजुरीको प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको छ। अब हेरौँ पुगिन्छ की ! 

काठमाडौबाट पश्चिम भनेको दुरदराज हो। पछि त्यताबाट धेरै डिमाण्ड भएर यताबाट उत्पादन पुर्‍याउन सकिएन भने र सरकारबाट उद्योग स्थापनाको लागि केही सुविधा पुग्यो भने नयाँ प्लान्टहरु पनि थपिँदै जान्छ। अहिले नेपालमा काम गर्ने वातावरण राम्रो छैन। वातावरण सरकारले नबनाएसम्म पछिल्लो समय व्यापार व्यवसाय सञ्चालन गर्न सहज छैन। 

नेपाली मार्केटमा कस्तो छ भने नि एउटा उत्पादकले एउटा प्रडक्ट लन्च गरेपछि त्यसको डिमान्ड देख्यो भने अरु म्यानुफ्याक्चरले पनि त्यस्तै सिमिलर प्रडक्ट निकाल्ने ट्रेण्ड चलेको छ।

हाल खजुरीकोले दुई प्रकारको पफ, बिस्कुटमा भिटामिल्क, कोकोनिको, चोकोचोको र ग्लुकोज, कुकिजमा पिनट, बटर, कोकोनट, आँटाजस्ता विविध प्रकार अनि चेस बोर्ड शैलीको कुकिज र तिल हालेको पफ उत्पादन गर्दै आएको छ। पछिल्लो समयमा अरु कम्पनीले पनि यस्ता उत्पादन गरिरहेका छन्। विस्तारै यो सेग्मेन्ट पनि टफ बन्दै गएको हो?

अहिले नेपाली मार्केटमा कस्तो छ भने नि एउटा उत्पादकले एउटा प्रडक्ट लन्च गरेपछि त्यसको डिमान्ड देख्यो भने अरु म्यानुफ्याक्चरले पनि त्यस्तै सिमिलर प्रडक्ट निकाल्ने ट्रेण्ड चलेको छ। खजुरीकोले यो उत्पादन गर्‍यो म चाहिँ यसको ठाउँमा नयाँ खालको उत्पादन ल्याउछु भन्ने त्यो अलिकति कल्चर (ट्रेण्ड) छैन।

हुन त वर्ल्डमा पनि यस्तो कल्चर छ। मार्केट भनेको प्रतिस्पर्धी हुनु पर्छ। कम्पिटिसन भइरहन्छ। जब धेरै  उत्पादकहरुले उत्पादन गर्छन् नयाँ-नयाँ आइडियाज मार्केटमा ल्याउँछ। अनि कम्पिटिसन सुरु हुन्छ। कन्जुमरले पनि त्यसलाई जजमेन्ट गर्छ।जजमेन्ट गरेपछि कन्जुमरलाई जुन राम्रो लाग्छ त्यो प्रडक्ट अगाडि बढ्ने त हो नि। त्यो भनेको त नर्मल र नेचुरल हो। मैले बनाको प्रडक्ट पछाडि अरुले उत्पादन गरे भने म त पहिलो भएँ नि।

त्यसलाई नेगेटिभली लिनु पर्दैन जस्तो लाग्छ। अहिले बजारमा कोदोबाट बनेको उत्पादनले मार्केट लिन थालेको छ। मलाई पनि कृषि सम्बन्धी धेरैले व्यक्ति र अरु व्यक्तिले पनि कोदोको बिस्कुट बनाउनका लागि भन्नुभएको थियो। खजुरीकोले कोदोको बिस्कुट उत्पादन गर्न समस्या भएन, तर सबैभन्दा पहिला ‘मलाई नेपालको कोदो र कोदोको पिठो प्रोसेसिङ चाहियो भनेको थिएँ,’ हामीकहाँ कोदोको पिठो बनाउने खासै राम्रो सप्लाइ चेन बनिसकेको देखिएन।

गुणस्तर अनुसार उत्पादन गरेर बजारमा ल्याउनका लागि रिसर्च गर्नुपर्छ। केही समय बजारमा टिक्ने कुरा उत्पादन गरेर काम छैन। रिसर्च गरेर बजारले खोजेको गुणस्तरीय उत्पादन ल्याउन खजुरीको प्रयास गरिरहेको छ।