BIZMANDU
www.bizmandu.com

विद्युत वितरण प्रणाली कमजोर हुँदा ट्रिपिङको समस्या, सुधारका लागि के गर्दैछ प्राधिकरण?

२०८२ मंसिर १६

विद्युत वितरण प्रणाली कमजोर हुँदा ट्रिपिङको समस्या, सुधारका लागि के गर्दैछ प्राधिकरण?
विद्युत वितरण प्रणाली कमजोर हुँदा ट्रिपिङको समस्या, सुधारका लागि के गर्दैछ प्राधिकरण?


काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म विद्युतको सिस्टम ३१ पटक ट्रिपिङ भयो। जसका कारण ४ घण्टा २ मिनेट विद्युत अवरुद्ध भयो।

GBIME
Tata

यस्तै वितरण प्रणालीतर्फ थ्री फेज जडिट स्मार्ट मिटरमध्ये करिब ४८ हजार मिटरको आधारमा सिस्टम एभरेज इन्टरप्सन फ्रिक्वेन्सी वार्षिक औसत ८२५ पटक अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ। सिस्टम एभरेज इन्टरप्सन डुरेसन सूचक अनुसार प्रति अवरोध ३७ मिनेट विद्युत आपूर्ति बन्द भयो।

ट्रिपिङको समस्या पूर्णतया समाधान भइसकेको छैन। अहिले पनि धेरै लोड भएका क्षेत्रमा ट्रान्सफर्मरमा समस्या आइरहेकै छ। लाइन काटिने समस्या दोहोरिइरहेको छ।

लाइन झ्यापझ्याप जाँदा प्रत्यक्ष मारमा ग्राहक परिरहेका हुन्छन्। विद्युत अवरुद्ध हुनुको मुख्य कारणमध्ये एक हो, कमजोर वितरण प्रणाली। यसका अलवा लोड क्षमताभन्दा धेरै सप्लाइ, हावाका कारण रुखको हाँगा भाँचिएर तारमा लाग्दा लाइन काटिने हुँदै आएको छ।

उच्च भोल्टेज सञ्चालनतर्फ प्रधिकरणका कुल ६ हजार ७४५ सर्किट किलोमिटर प्रसारण लाइन तथा १३ हजार ७५४ एमभीए सवस्टेसन सञ्चालनमा छन्। यस्तै २ हजार १२९ सर्किट किलोमिटर प्रसारण लाइन तथा ६ हजार ३३९ एमभीए सवस्टेसन निर्माणाधीन छन्।

प्राधिकरणको नेतृत्व छाडेपछि कुलमान घिसिङ ऊर्जामन्त्री भए। उनले ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिरहेका छन्। लाइन जाँदा तत्काल जवाफ दिनैपर्ने बाध्यताले उनलाई छाडेको छैन।

कुलमानले प्राधिकरणको वितरण व्यवस्थापनलाई गम्भीरतापूर्वक लिएका छन्। निर्माणाधीन अवस्थामा रहेका विद्युत पूर्वाधारका कामलाई फास्ट ट्रयाकमा गर्न निर्देशन दिएका छन्।

प्राधिकरणका प्रवक्ता राजन ढकाल निर्माणाधीन आयोजनालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनका लागि काम गरिरहेको बताउँछन्। ‘वितरण प्रणाली सुदृढ बनाउन प्राधिकरण गम्भीर छ,’ उनले भने, ‘हामीले निर्माणाधीन आयोजनालाई पनि जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं।’

उनका अनुसार वितरण सञ्जालतर्फ ३३/११/०.४/०.२३ केभी लाइनको जम्मा लम्बाइ २ लाख १० हजार ३१७ सर्किट किलोमिटर छ। कुल २ हजार ६०८ एमभीए क्षमताका १९८ वटा ३३/११ केभी सवस्टेसन छन्।

ट्रिपिङको समस्या समाधान गर्नका लागि ट्रान्सफर्मर चेकजाँच र प्रसारण लाइन नजिकका रुखका हाँगा कटिङ गर्ने काम प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताउँछन।

‘हामीहरुले अहिले ट्रान्सफर्मर चेकजाँच गर्ने काम व्यापक रुपमा गरिरहेका छौं। कुनै ठाउँमा ट्रान्सफर्मर बिग्रिएको भए तत्काल फेर्ने र मर्मत गर्नुपर्नेलाई छिटो काम गरिरहेका छौं,’ उनले भने, ‘हावाहुरी चल्दा त्यसले प्रसारण लाइनमा असर पर्ने भएका कारण पनि कतिपय ठाउँमा ट्रिपिङ हुने गरेको छ, त्यसलाई हेरिरहेका छौं।’

हिउँदको समयमा काठमाडौंमा जाडो बढ्दा हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलाउने भएका कारण पनि विद्युत् माग बढ्छ।

अर्कातर्फ औद्योगिक क्षेत्रहरुमा हिउँदको उद्योगहरु धेरै चल्ने भएका कारण पनि माग बढ्छ। जसले गर्दा विद्युतको माग बढ्छ। प्राधिकरणले सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिन सक्ने भन्दै आफ्नो प्रणालीलाई मजबुत बनाउने काम गरिरहेको उनले बताए।

सिस्टमलाई विश्वसनीय बनाउनका लागि मर्मत सम्भारका काम धमाधम गरिरहेको प्रवक्ता ढकालले बताए। ‘हामीले प्रसारण लाइन थप मजबुत बनाउन प्रसारणलाइन विस्तारदेखि मर्मत सम्भारका काम गरिरहेका छौं। अहिले सञ्चालनमा रहेका प्रणालीलाई पनि सुदृढ गरिरहेका छौं,’ उनले भने।