BIZMANDU
www.bizmandu.com

निजी क्षेत्रको मनोबल बढाउने योजना बनाइँदै, महासंघले तयार पार्‍यो मस्यौदा

२०८२ मंसिर १५

निजी क्षेत्रको मनोबल बढाउने योजना बनाइँदै, महासंघले तयार पार्‍यो मस्यौदा
निजी क्षेत्रको मनोबल बढाउने योजना बनाइँदै, महासंघले तयार पार्‍यो मस्यौदा


काठमाडौं। सम्पत्ति सुरक्षासहित निजी क्षेत्रको मनोबल बढाउन अलग्गै योजना बनाइने भएको छ।

Vigo
GBIME
Tata

जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड भएपछि लगानीकर्ताहरु हिच्किचाइरहेको अवस्थामा मनोबल बढाउने योजना बनाउन लागिएको हो।

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने योजना बनाउन नेपाल उद्योग वाणिज्य महासंघले पहलकदमी लिएको छ। महासंघका अध्यक्ष चन्द्र ढकालले ‘प्राइभेट सेक्टर प्राेटेक्सन एण्ड प्रमाेसन प्लान’ बनाउनका लागि महासंघले मस्यौदा तयार पारेको बताए।

‘राेजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि आक्रमण हुनु राम्रो हाेइन। सरकारले लगानीकाे सुरक्षाकाे प्रत्याभुति गर्नुपर्छ। पहिलाे सर्त आम पब्लिकलाई कन्फिडेन्ट दिने गरी काम गर्नुपर्छ। याे कुरा हामीले सरकार प्रमुखसँग राखिसकेका छौं,’ ढकालले भने, ‘प्राइभेट सेक्टर प्राेटेक्सन एण्ड प्रमाेसन प्लान क्याबिनेटले नै एप्रुभ गरेर लगानी प्रवर्धन गर्न सकिन्छ। निजी क्षेत्र र सर्वसाधारणमा लगानीकाे सुरक्षा छ भन्ने ग्यारेण्टी भयो भने मनाेबल बढाउनेछ। यसका लागि हामीले ड्राफ्ट गरेका छौं।’

चन्द्र ढकाल

जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिमा साढे २३ अर्ब रुपैयाँको बीमा दाबी परेको छ। भाटभटेनी सुपरमार्केटले मात्र करिब ११ अर्ब रुपैयाँको क्षति बेहोरेको थियो।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीका कारण उद्योगी व्यवसायी अझै पनि त्रसित अवस्थामा छन्। निजी क्षेत्रले लगानी विस्तारका लागि सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउँदै आएको छ।

महासंघका अध्यक्ष ढकालले सोमबार आर्थिक पत्रकार समाजले काठमाडौंमा गरेको कार्यक्रममा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए।

‘लगानी आकर्षित गर्न एफएनसीसीआईले देश तथा विदेशमा काम गरिरहेकाे छ। तर निजी क्षेत्रप्रति पब्लिककाे हेराइ नै परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले अलग्गै योजना बनाएर काम गर्न सरकारलाई आग्रह गरे अनुसार हामीले ड्राफ्ट तयार गरेका छौं।’

वीरेन्द्रराज पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको मनोबल नउकासेको अवस्थामा लगानी विस्तार हुन नसक्ने बताए।

‘जेनजी आन्दोलनका क्रममा भएकाे क्षतिले निजी क्षेत्रकाे मनाेबल खस्किएकाे छ। मनोबल उकास्न सबै मिलेर अगाडि बढ्नु जरुरी छ,’ उनले भने।

बैंकको ब्याजदर साढे सात प्रतिशतमा झरेको अवस्थामा पनि निजी क्षेत्रले लगानी गर्न मानिरहेको छैन। बैंकहरुमा लगानीयोग्य रकम ११ खर्ब रुपैयाँ रहँदा चालु आर्थिक वर्ष ४ महिनामा जम्मा ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

परिसंघका अध्यक्ष पाण्डेले सम्पत्तिको सुरक्षाको प्रत्याभूतिसहित लगानीकर्ताको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने नीति लिनुपर्नेमा जवड दिए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि जेनजी आन्दोलनमा भएकाे क्षतिले निजी क्षेत्रकाे मनाेबल गिरेकाले सरकारले सम्पत्तिको सुरक्षाको प्रत्याभूति नगरेसम्म लगानीमैत्री वातावरण नबन्ने बताए।

कमलेशकुमार अग्रवाल

‘जेनजी आन्दोलनमा भएकाे क्षतिले निजी क्षेत्रकाे मनाेबल गिरेकाे छ। त्यसैले लगानीमैत्री वातावरणका लागि सरकारले सम्पत्तिको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ,’ उनले भने, ‘भन्सार दर र मूल्य अभिवृद्धि करकाे व्यवस्थालाई पुनरवलोकन गर्नुपर्छ।’

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले लगानीको वातावरण सुधारका लागि ध्यान केन्द्रित गरेको बताए। निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सरकारले काम गरिरहेको उनको भनाइ छ।

अनिलकुमार सिन्हा

‘तोकिएको समयमा निर्वाचन, सुशासन कायम र सेवा प्रवाहमा सुधार अहिलेको सरकारको मुख्य प्राथमिकता हो,’ उनले भने, ‘हामीले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने र लगानीको वातावरणमा सुधार गर्ने काम पनि गरिरहेका छौं।’