BIZMANDU
www.bizmandu.com

सहरी क्षेत्रदेखि अफरोड अपहिल टेस्टमा लिपमोटर बी-टेन अब्बल, पर्फर्मेन्स र कम्फर्ट दुवैमा उत्कृष्ट

२०८२ मंसिर १२

सहरी क्षेत्रदेखि अफरोड अपहिल टेस्टमा लिपमोटर बी-टेन अब्बल, पर्फर्मेन्स र कम्फर्ट दुवैमा उत्कृष्ट
सहरी क्षेत्रदेखि अफरोड अपहिल टेस्टमा लिपमोटर बी-टेन अब्बल, पर्फर्मेन्स र कम्फर्ट दुवैमा उत्कृष्ट

लिपमोटरको सी-टेन नेपाली सडकमा नौला नाम रहेन। लग्जरी र हाइ-इन्ड फिचरका कारण उपल्लो वर्गको ध्यानलाई सी टेनले सजिलै खिच्यो। हामीले टेस्ट ड्राइभ गर्दा यो कारलाई अब्बल नै ठहर्‍याएका थियौं। नेपाली बजारमा इभीको बढ्दो क्रेजलाई चिनियाँ ब्रान्ड लिपमोटरले दिएको प्राथमिकता पनि कम रहेन।

Tata
GBIME
Nepal Life

चीनमा लन्च भएपछि पहिलो अन्तर्राष्ट्रिय बजारका रुपमा नयाँ मोडल ‘बी-टेन’लाई लिपमोटरले पहिलो प्राथमिकतासहित नेपाली बजारमा उतार्‍यो। चीनबाहिर नेपालबाट विश्वका अरु मुलुकतिरको व्यावसायिक यात्रा थालेको बी-टेन कस्तो छ त?

यसपालाको टेस्ट ड्राइभमा हाम्रो छनोटमा पर्‍यो यही कार। यसलाई हामीले सहरी क्षेत्र र केही अफरोडमा कुदायौं। हाम्रो अनुभव कस्तो रह्यो र गाडी नेपाली बजारमा कति प्रतिस्पर्धी हुनेछ भन्ने चर्चा यसमा गरिने छ।

स्वभाविक हो, केही नयाँ लुक्स र फरकखाले लोगो देखियो भने जोकसैले पनि ठम्याउँछ चिनियाँ कार। लिपमोटरको लोगो कार पारखीका बीच छोटो समयमा नै स्थापित भइसकेकाले बी-टेनलाई चिनाउन धेरै गाह्रो छैन।

सी-टेन देखेका वा एकपटक त्यसमा यात्रा गरेका जोकसैका लागि पनि बी-टेन कस्तो छ भन्ने कौतुहलता चाहिँ रहन्छ नै। किनकि सी-टेनले यति धेरै फिचरसहित कारलाई सडकमा उतार्‍यो कि प्रतिस्पर्धी कम्पनीहरू पनि हेरेको हेर्‍यै भएका थिए। त्यसमाथि, बी-टेन मूल्यका कारणले पनि धेरैको चासोमा थियो। सी-टेनलाई महँगो अनुभव गर्नेहरू पनि बी-टेनप्रति प्रतीक्षारत थिए- कतिमा आउँछ र प्रिमियम फिचर कति छ?

सधैं झै थापाथलीबाट हाम्रो टेस्ट ड्राइभ सुरु भयो। सहरी क्षेत्रका लागि यो कार औशतभन्दा बढी क्षमताको हो। यसमा १६० किलोवाट क्षमताको मोटर छ। सहरी कारका रुपमा ल्याइएका ह्याचब्याक औसतमा ६० किलोवाट क्षमताकै मोटरमा गजबले चलिरहेका छन्। त्यसैले एसयूभी सेगमेन्टको यो कार क्षमतामा यसै पनि बलियो छ।

रह्यो मूल्यको विषय। सी-टेनको तुलनामा २० लाख रुपैयाँभन्दा कम मूल्य र बलियो मोटर क्षमताले यसलाई बजारका स्थापित ब्रान्डसँग भिड्न आधार मिल्ने नै भयो। बी-टेनको सुरुवाती भर्सनको मूल्य ५० लाख रुपैयाँ छ भने माथिल्लो भर्सनको ५६ लाख।

सन् २०१५ मा सुरु भएको चिनियाँ स्टार्ट अप कम्पनी अहिले अमेरिका, इटाली र पेरिसका स्टक एक्सचेन्ज र १४ चर्चित अटोमेटिभ ब्रान्डसँग जोडिएको छ। त्यसमाथि स्टलेन्टिस ग्रुपले लिपमोटरको २० प्रतिशत स्टेक लिएपछि युरोपेली र अमेरिकी बजारमा यस कम्पनीले आफ्नो बजार हिस्सा लगातार बढाइरहेको छ।

आरएन्डडीमा व्यापक लगानी गरेपछि चिनियाँ कार विश्वका कुनै पनि बलियो ब्रान्ड भन्दा कम देखिन्न। सी-टेनमा जस्तै कारभित्र पस्नासाथ प्रिमियम अनुभव भइहाल्छ जसले चिनियाँ प्रडक्टप्रति पुरानो दृष्टिकोणलाई सोझै इन्कार गराउन सघाउँछ।

हामीले सहरी क्षेत्रपछि यस कारलाई केही असहज बाटोको यात्रा गराउने निधो गर्‍यौं। अनि हामी लाग्यौं- दक्षिणकाली नगरपालिकाको हात्तीवन रिसोर्टतिर। नागबेली र भर्खरै भएको नयाँ कालोपत्रे सडकमा यात्रा निक्कै आरामदायी रह्यो। त्यसमाथि १ सय ७० किलोमिटर प्रतिघन्टाको रफ्तार लिन सकिने भएकाले पर्फर्मेन्समा प्रश्न रहेन। धेरै घुम्तीवाला सडक भएकाले हामीले ८० किलोमिटर प्रतिघन्टाभन्दा बढीको स्पिड टेस्ट गरेनौं। त्यति स्पिड लिँदा गाडीमा सामान्य भाइब्रेसन पनि आएन।

सडक राम्रो हुनु त्यसको एउटा कारण हुनसक्छ। हामीले यस्तो सहज सडक छाडेर चम्पादेवी हाइकिङका लागि लोकप्रिय रुटतिर उकालियौं। टर्निङ र ढुंगे सडक हामीले रोजेको सडकको विशेषता थियो। एक सय ८० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यसखाले अफरोड बी-टेनका लागि कठिन हुने कुरै रहेन। अफरोड अपहिल टेस्टमा पनि गाडी अब्बल ठहरियो।

गाडीको ब्याट्री क्षमता पनि बजारमा उपलब्ध अन्य गाडीभन्दा बढी रेन्जको रहेछ यसमा। ४९ लाख ९९ हजार रुपैयाँ पर्ने मोडलमा ५६.२ किलोवाट आवर(युनिट) क्षमता र ५५ लाख ९९ हजार रुपैयाँकोमा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री। यो गाडीलाई काठमाडौंबाट पोखरा पुर्‍याएर फेरि काठमाडौं नै फर्काएर नयाँ रेकर्ड कायम भइसकेकाले यसबारे थप टिप्पणी आवश्यक छैन।

कम्पनीले माथिल्लो भर्सनको गाडीले ४ सय ६० किलोमिटरको दुरी तय गर्ने दाबी गर्छ। त्यसलाई काठमाडौं-पोखरा-काठमाडौंको रोड टेस्टले प्रमाणित गरिसक्यो। गाडीको रेन्ज दाबीलाई सडकको अवस्था र ट्राफिक भोलुम दुवैसँग तुलना भने गर्नुपर्छ। त्यस आधारमा पनि गाडीको रेन्ज क्षमता अब्बल मान्नुपर्छ।

यो गाडी रियर ह्विल ड्राइभ भएकाले पनि अफरोडमा विशेष रह्यो। यही प्राइस रेन्जसँग तुलना गर्ने हो भने अधिकांश एसयूभी फ्रन्ट ह्विल ड्राइभ नै भेटिन्छ। यसको अर्को रोचक पक्ष रहेछ- बुकिङ खुलेको ४८ घन्टामा चीनमा ३१ हजारवटा गाडी बिक्री। यसले पनि गाडीप्रतिको प्रतीक्षा कस्तो थियो देखाउँछ।

इभी सेगमेन्टका भेहिकलमा चीनले विश्वलाई नै लिड गरिरहेको छ। लिपमोटरले पनि त्यसमा आफूलाई अग्रस्थानमा नै राख्‍न जोडतोड गरेको देखिन्छ। त्यसैले त गाडीको लुक्स मात्र होइन, इन्टेरियरलाई पनि पूरै ध्यान दिएको छ। इन्फोटेनमेन्ट होस् या सिटमा उपलब्ध अटोमेटिक हिटेड सिट, सबै प्रिमियम लाग्छ। सम्भवत यो यस सेगमेन्टमा सबैभन्दा ठूलो पानारामिक रुफ भएको गाडी हो। पर्याप्त लेग स्पेस र आरामको मामिलामा अब्बल भएकाले यो गाडी सी-टेनलाई भुलाउनेखालको छ।

समग्रमा, हाम्रो टेस्ट ड्राइभले यसलाई सबै कोणबाट अब्बल ठहर्‍याएको छ। पावर पर्फर्मेन्स होस् या कम्फर्ट कतै पनि सम्झौता देखिन्न। तुलनात्मक रुपमा कम मूल्यको लग्जरी सेगमेन्टको इभी चढ्न चाहनेका लागि यो बलियो प्रडक्टका रुपमा आएको छ। सेफ्टीमा यसले कुनै कसर छाडेको छैन। पर्याप्त सेन्सरसहित एडास फिचरले यसलाई सेगमेन्टमा लिड गर्ने अवसर दिन्छ। मध्यम र उच्चमध्यम वर्ग लक्षित यस कारलाई हाम्रो टेस्ट ड्राइभले बलियो विकल्पका रुपमा लिएको छ।